एमाले नेतृत्वको सत्ता गठबन्धन दुई महिनामै भत्किँदै, नयाँ गठबन्धनमा कुन-कुन दल ?

पछिल्लो पटक प्रचण्डसँग भएको भेटमा ओलीले अब आफ्नो दल प्रतिपक्षमा बस्ने जनाउँ दिइसकेको स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार बुधबारको भेटमा ओलीले प्रचण्डलाई भनेका थिए, ‘म त अब प्रतिपक्षमा बस्छु तर तपाईँ पनि लामो समय सत्तामा रहनु हुनेछैन ।’

नेपालभ्युज

एमाले नेतृत्वको सत्ता गठबन्धन दुई महिनामै भत्किँदै, नयाँ गठबन्धनमा कुन-कुन दल ?

काठमाडौं। नेकपा एमालेको नेतृत्वमा बनेको वर्तमान सत्ता गठबन्धन २ महिनामै भत्किने लगभग निश्चित भएको छ । रातारात कुनै ठुलो घटना भएन भने भोलिसम्म कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बन्ने देखिएको छ ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा राजनीतिमा ठूलो परिवर्तन हुन लागेको हो । नयाँ गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई माओवादी लगायतका दलले समर्थन गर्ने तयारी गरेका छन् ।

बिहीबार दिनभरि पनि नयाँ गठबन्धनको खाका बनाउन कांग्रेस, माओवादी लगायतका दल सक्रिय देखिएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा लगायतका दलसँग छलफल गरिरहेका छन् ।

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा सहभागी हुने निश्चित भइसकेको बताइएको छ । जसपा अझै धरमरमा देखिएको छ । उपराष्ट्रपति पाएमा मात्रै जसपा नयाँ गठबन्धनमा सहभागी हुने बुझिएको छ ।

एमालेले जसपालाई उपराष्ट्रपति दिने बताइसकेकाले उसले नयाँ गठबन्धनमा पनि त्यही आशा राखेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कता लाग्छ अझै स्पष्ट भइसकेको छैन । राप्रपा भने एमालेसँगै नजिक छ ।

त्यसबाहेक जनमत पार्टी पनि नयाँ गठबन्धनमा लाग्ने सम्भावना छ । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । राष्ट्रपतिमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपा मिल्दा मात्रै पनि स्पष्ट बहुमत पुग्ने भएकाले साना दल अहिले उपेक्षामा परेका छन् ।

नयाँ गठबन्धन बन्ने निश्चित देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि आक्रमण सुरु गरेका छन् । उनले बिहीबार बिहान एक कार्यक्रममा जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णयको आलोचना गरे ।

पछिल्लोपटक प्रचण्डसँग भएको भेटमा ओलीले अब आफ्नो दल प्रतिपक्षमा बस्ने जनाउ दिइसकेको स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार बुधबारको भेटमा ओलीले प्रचण्डलाई भनेका थिए, ‘म त अब प्रतिपक्षमा बस्छु, तर तपाईं पनि लामो समय सत्तामा रहनु हुनेछैन । दुई महिनापछि तपाईं पनि मेरै स्थानमा आउनुहुनेछ ।’

कांग्रेससँगको गठबन्धनबाट चुनाव लडे पनि प्रधानमन्त्री नपाएपछि प्रचण्ड एमालेसँग मिलेका थिए । एमाले नेतृत्वको गठबन्धनबाट उनी पुस १० गते प्रधानमन्त्री बनेका थिए । ठीक दुई महिनापछि त्यो गठबन्धन भत्किने संघारमा पुगेको छ ।

नयाँ गठबन्धनबाट राष्ट्रपति कांग्रेसले लिने सहमति भइसकेको छ । प्रधानमन्त्रीमा आलोपालो गर्ने पनि सहमति भइसकेको छ । तर, उपराष्ट्रपति माओवादीले राख्ने वा जसपालाई दिने भन्नेमा कुरा नमिलेको नेताहरूले बताएका छन् ।

बाँकी रहेका यी केही विषय मिलेपछि भोलि नयाँ गठबन्धनबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका एक  नेताले जानकारी दिए । सहमति जुटाउन आज बेलुका ६ बजेका लागि पुरानो गठबन्धनमा रहेकामध्ये कांग्रेस बाहेकका तीन दलको बैठक बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved