नयाँ राष्ट्रपतिबारे भारतीय प्रोफेसर एसडी मुनीले किन राखे चासो ?

यी ४ जनाको नामै लिए

नेपालभ्युज

नयाँ राष्ट्रपतिबारे भारतीय प्रोफेसर एसडी मुनीले किन राखे चासो ?

काठमाडौं। नेपालको नयाँ राष्ट्रपति उम्मेदवारका बारेमा अन्तर्राष्ट्रिय (विशेषगरी अमेरिका, भारत र चीनको) चासो बढिरहेको भन्ने कुरालाई बल पुग्नेगरी नेपाल मामिलाका जानकार एकजना भारतिय प्रोफेसरको ट्विटले नयाँ तरङ्ग ल्याएको छ ।

भारतीय बुद्धिजीवी एवं प्रोफेसर एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्दै चार जना गैरराजनीतिक व्यक्तिको नामसमेत लिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई बल पुग्नेगरी राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माग जायज भएको समेत ट्विट गरेका छन्।

राष्ट्रपति निर्वाचनका लागि दलहरूबीच उम्मेदवार छनोट गर्न नसकिरहेको बेला एसडी मुनीले राष्ट्रपतिका लागि अनुराधा कोइराला, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे र प्राध्यापक बरालको नाम लिएका छन्।

सोमबार बिहान आफ्नो ट्विटरमा मुनीले लेखेका छन्, ‘नेपालमा सर्वसम्मतिबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । तर, उनकै दल माओवादी केन्द्र र अन्य पार्टीले यसमा विरोध गर्दै आएका छन्।

नेकपा एमालेले राष्ट्रपतिमा पुस १० मै सहमति भएको भन्दै आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पात्रको नाम १३ गते मात्रै लिने भन्दै आएका छन् । तर, स्रोतका अनुसार एमालेले राष्ट्रपतिमा ईश्वर पोखरेलको पक्षमा लबिङ गर्दै आएको छ।

फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने फागुन २८ गते सकिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved