लुम्बिनीमा सरकारलाई विश्वासको मत दिने पार्टीहरू सत्ताबाहिर

नेपालभ्युज

लुम्बिनीमा सरकारलाई विश्वासको मत दिने पार्टीहरू सत्ताबाहिर

काठमाडौं। सरकार गठनमा समर्थन र मुख्यमन्त्रीलाई विश्वासको मतसमेत दिएका तीन राजनीतिक दल लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा भने समेटिएनन् ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्ने बेलामा समर्थन र पछि विश्वासको मतसमेत दिएका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सरकार गठनमा नसमेटिएका हुन् ।

तीन पार्टीसँगै मुख्यमन्त्रीलाई समर्थन र विस्वासको मत दिएका स्वतन्त्र २ सांसद पनि सरकार विस्तारको भागबण्डामा परेनन् ।

जसपा र लोसपाले रोजेको मन्त्रालय नपाएपछि सरकारमा नजाने निर्णय गरेका थिए । तर, नागरिक उन्मुक्ति भने केन्द्र र सुदूरपश्चिमकै जस्तो रेशम चौधरी रिहाइको सर्त राखेर सरकारमा नगएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी पुस २७ गते मुख्यमन्त्री बनेका थिए भने माघ ५ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । यी दुवै प्रक्रियामा जसपा, लोसपा, नागरिक उन्मुक्ति र दुई स्वतन्त्र सांसद सहभागी थिए ।

नागरिक उन्मुक्तिले सत्तारुढ दलले आफ्ना पार्टीका कुनै माग सुनुवाइ नगरेको र प्रदेशमा पनि कुनै अस्तित्व स्वीकार नगरेकाले विश्वासको मत दिए पनि सत्तापक्ष हुन नचाहेको प्रतिक्रिया दिएको छ । त्यसैगरी, सरकारमा जान इच्छुक भए पनि महत्त्वपूर्ण मन्त्रालय नपाउँदा जसपा र लोसपा असन्तुष्ट छन्।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेश सभा छ । जसमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ । अहिले सरकारमा  एमालेका २९, माओवादीका १०, राप्रपामा ४, जनमतका ३ सांसदहरू सहभागी छन् । जसले सरकारलाई टुप्लुक्क बहुमत पुग्छ।

यसैबीच, मुख्यमन्त्री लीला गिरीले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक-एक जना गरी १० जनाको मन्त्रिमण्डल बनाइएको छ।

माओवादीबाट आर्थिक मामिलामन्त्री संसदीय दलका नेता रोल्पाका जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री दाङका इन्द्रजित थारू र आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री बाँकेका कृष्णा केसी नियुक्त भएका छन्।

एमालेबाट कपिलवस्तुका विष्णु पन्थी स्वास्थ्यमन्त्री, बाँकेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, प्युठानका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका छन् । यसअघि, मन्त्री बनेका एमालेका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी, जनमत पार्टीका रुपन्देहीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र राप्रपाका कपिलवस्तुका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् । उनीहरूको शपथग्रहण अहिले दिउँसो १ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved