सुदूरपश्चिम प्रदेश सभाको बैठक सारेकोमा कांग्रेसको आपत्ति

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सभाको बैठक सारेकोमा कांग्रेसको आपत्ति

धनगढी । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सारिएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी मुख्यमन्त्रीको इशारामा सभामुख भीमबहादुर भण्डारीले बैठक सारेको भन्दै विरोध जनाएको हो ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले कुर्सी बचाउन मनलाग्दी गरेको आरोप लगाएका छन् । ‘मंगलबारको सर्वदलीय बैठकबाट २ घण्टाको लागि बैठक सार्ने निर्णय भएको थियो तर, त्यो निर्णयलाई लत्याउँदै सभामुखले संसदीय मर्यादा विपरीत काम गरे’ शाहले भने ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने निश्चित भएपछि बैठक स्थगित गरिएको कांग्रेसको दाबी छ । रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहीवारका लागि बोलाइएको बैठकमा विश्वासको मत लिनै पर्नेछ । विश्वास नपाए उनको सरकार ढल्नेछ ।

सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको छैन । नागरिक उन्मुक्तिलाई फकाउने अन्तिम प्रयास भइरहेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

सुदुरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved