पावर शेयरिङमा कुरा नमिल्दा रास्वपा ४० दिनमै सरकारबाट बाहिर

निकै आक्रोशित रुपमा पेश भएका लामिछानेले आफूलाई मिडियाले लखेटेकाले उपप्रधानमन्त्री बनाएको भन्दै अझै लखेटे प्रधानमन्त्री बन्ने दाबी गरे । लामिछानेले पूर्व गृहमन्त्रीका रुपमा पाउने कुनै पनि सुविधा नलिने घोषणा पनि गरेका छन्।

नेपालभ्युज

पावर शेयरिङमा कुरा नमिल्दा रास्वपा ४० दिनमै सरकारबाट बाहिर

काठमाडौं। सरकार गठन भएको डेढ महिना नपुग्दै सत्ता गठबन्धनको तेस्रो ठुलो दल रास्वपा बाहिरिएको छ । सत्ता गठबन्धनमा सामेल भएका दलबीच पावर शेयरिङमा कुरा नमिल्दा रास्वपा सत्तारोहणको ४० औं दिनमा सरकारबाट बाहिरिएको हो।

यसअघि कतिपयले गृहमन्त्रालयकै कारण गठबन्धन जोखिममा पर्न सक्ने आंकलन गरेका थिए। यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अस्वीकार गरेका थिए ।

सर्वोच्चको फैसलालगत्तै नागरिकता फेरि प्राप्त गरेका लामिछानेलाई गैर सांसदका रूपमा मन्त्री बनाउने कि नबनाउने र गृह मन्त्रालय दिने कि नदिने भन्ने विवाद गठबन्धनमा थियो। अन्तिममा गृहमन्त्रालय नपाएपछि रास्वपाले सरकार छाड्ने निर्णय गरेको हो ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर जानकारी दिए । पत्रकार सम्मेलनमा रविले भने ‘‘सरकारलाई दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीलाई  फिर्ता बोलाउने निर्णय भएको छ। आइतबार नै मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनेछन्।’’

पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो दललाई गृहमन्त्रालय दिने पूर्व सहमति कार्यान्वयन नभएकाले सरकार छाडेको बताए । उनले आफूले व्यक्तिगत रुपमा भन्दा पनि पार्टीका लागि गृहमन्त्रालय दाबी गरेको बताए ।

निकै आक्रोशित रुपमा पेश भएका लामिछानेले आफूलाई मिडियाले लखेटेकाले उपप्रधानमन्त्री बनाएको भन्दै अझै लखेटे प्रधानमन्त्री बन्ने दाबी गरे । लामिछानेले पूर्व गृहमन्त्रीका रुपमा पाउने कुनै पनि सुविधा नलिने घोषणा पनि गरेका छन्।

संचारमाध्यमको तिव्र आलोचना गरेका उनले अब आफू कसैसँग पनि नडराउने बताए । आफूले कुनै ठुलो अपराध नगरेको भन्दै लामिछानेले पासपोर्ट सम्बन्धि मुद्दा पनि फेस गर्ने बताए ।

यसअघि सरकार छाड्ने चेतावनी दोहोर्‍याउँदै आएको रास्वपाले बिहीबार राति केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरेर निर्णय गर्न प्रधानमन्त्री दाहाललाई दुई दिनको ‘अल्टिमेटम’ दिएको थियो। दुई दिनपछि शनिबार बैठक बसेको थियो। आइतबार पुन बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले अब राजीनामा दिनेछन्। मन्त्रीद्धय खनाल र अर्याल तथा राज्यमन्त्री कार्की माघ ३ मा मन्त्री भएका थिए।

११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी लिएका लामिछाने सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा पदमुक्त भएका थिए। प्रचण्डले १० पुसमा प्रधानमन्त्रीमा दाबी गर्दा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीका र ३ स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थन पेस गरेका थिए।

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय खालि भएका छन् । यसअघि तीन मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा थिए । प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो।

रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved