सुदूरपश्चिम प्रदेश

नागरिक उन्मुक्तिका सांसद कारागार चलान भएपछि मुख्यमन्त्री रावलको पद संकटमा

नेपालभ्युज

नागरिक उन्मुक्तिका सांसद कारागार चलान भएपछि मुख्यमन्त्री रावलको पद संकटमा

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुस २७ गते नियुक्त भएका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन झन् कठिन हुँदै गएको छ ।

प्रदेशमा निर्णायक अवस्थामा रहेको नागरिक उन्मुक्ति पार्टी आफ्ना सांसद पक्राउ परेपछि आक्रोशित हुँदा त्यसको प्रभाव मुख्यमन्त्रीसम्मै परेको हो । मुख्यमन्त्री नियुक्त भएको तीन हप्ताभन्दा बढी समय बितिसक्दा पनि रावलले विश्वासको मत लिन सकेका छैनन् ।

कानुनतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । बाँकी ६ वटा प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा सुदूरपश्चिममा मात्र रावल संकटमा परेका हुन् ।

नागरिक उन्मुक्तिका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद चौधरी जिल्ला कारागार कैलाली चलान भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम हुँदै गएको चर्चा चलेको छ ।

मुख्यमन्त्री रावलसँगै २८ पुसमा मन्त्रीको शपथ लिएका नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमालेका सन्तोष थापा शर्माले अझै जिम्मेवारी पाएका छैनन् ।

मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने तय नै भएको छैन । माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेश धामीले विश्वसनीय आधार तयार नहुँदा विश्वासको मत लिन ढिलाइ भइरहेको बताए । उनले केन्द्रमा माहोल तयार भए पछि मुख्यमन्त्रीले विश्वासको मत लिने बताए ।

एमाले संसदीय दलका नेता रावल २९ जना प्रदेशसभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

मुख्यमन्त्रीमा दाबी पेस गर्दा समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिन सहमत भएको छैन । उसले रेशम चौधरीकी रिहाइ लगायतका आफ्ना माग पुरा नभएसम्म विश्वासको मत नदिने अडान राखेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले मुख्यमन्त्री रावलले विश्वासको मत लिन सम्भावना न्युन हुँदै गएको दाबी गरे । एक महिना भित्र रावलले विश्वासको मत लिन नसके प्रदेशमा पहिलो दलको रूपमा रहेको कांग्रेसले नयाँ सरकार बनाउने बमले बताए ।

सरकारलाई बहुमत पुर्‍याउन नागरिक उन्मुक्तिको समर्थन निर्णायक छ । तर, उसले सरकारलाई विश्वासको मत दिनुअघि पार्टीका संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा कारागारमा रहेका सात जनालाई रिहाइको प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै आएको छ ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले सरकारलाई विश्वासको मत दिने आधार तयार भइनसकेकोे बताउँदै आएका बेला अरुणकुमार चौधरी कारागार चलान भएपछि समस्या थपिएको छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुख बाहेक १०, एमालेका १० र राप्रपाका एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved