आलेख

रुसी जनताले युद्धपिपासु पुटिनलाई कहिलेसम्म साथ दिइरहने ?

रुसी समाज झन्झन् विभाजित र ध्रुवीकृत हुँदैछ । रुसीहरूमा आफ्नो देशले अनावश्यक रूपमा छिमेकीका जनतालाई मारेको र दु:ख दिएको हीन भावना पैदा हुन थालेको छ । युद्धअपराधसँग जोडिएर आउने उत्तरदायित्वको प्रश्नमा मानिस टाउको निहुराउनुपर्ने स्थितिमा पुगेका छन् ।

रुसी जनताले युद्धपिपासु पुटिनलाई कहिलेसम्म साथ दिइरहने ?

सोभियतकालको उत्तरार्द्धमा मस्कोको सेनाले दुईपटक मात्रै सर्वसाधारणको जीवनमा व्यवधान पुर्‍याएको थियो ।

पहिलो– सन् १९६८ को चेकोस्लोभाकिया आक्रमणको अवसर थियो । त्यो बेला धेरै रुसी जनताले मतलब नै गरेनन् । किनकि, के भइरहेको थियो भन्ने तिनलाई थाहै थिएन।

दोस्रो–सन् १९७९ को अफगानिस्तानमाथिको हस्तक्षेप थियो, जसका परिणाम निकै भयावह थिए। धेरै मान्छेले टाढाको दक्षिणी छिमेकी देशबाट जस्तापाताका कोफिन आएको दृष्य देख्थे। देशभित्र मार्क्सवाद–लेनिनवादको खास गुमिरहेको मात्रै थिएन, सोभियत परियोजनाको नैतिक जग नै चकनाचुर भएको थियो ।

सन् २०२२ मा मस्को सेनाले फेरि एकपटक छिमेकी देशमाथि आक्रमण गरेकेको छ। यस आक्रमणले आम नागरिक जीवनमा पुर्‍याएको बाधा र ल्याएको परिणाम अघिल्ला दुवैको भन्दा नराम्रो छ । यो वर्ष रुसी जनताले सोभियतकालपछिको सबैभन्दा खराब र डरलाग्दो वर्ष बाँचेका छन् । जीउधनको व्यापक क्षति र चरम नैतिक पराजयका बाबजुद राष्ट्रिय जीवनको जग अझै चकनाचुर भने भएको छैन ।

नि:सन्देह युद्धले थकित भएका रुसी विभाजित छन्, ध्रुवीकृत भएका छन । तर, सत्तामा पुटिनको पकड कमजोर हुनु त टाढैको कुरा ‘विशेष सैन्य अभियान’ ले यसलाई झनै मजबुत बनाएको छ । पुटिनसँग असहमत र भयभितहरू या त देश छोडेर भागेका छन्, या त मौन बसेका छन् ।

शासनसत्ताको विरोधमा बोल्ने वा अन्यथा गतिविधि गर्नेविरुद्ध राज्यका शक्तिशाली संयन्त्र तम्तयार र क्रियाशील छन्। युद्धविरोधी अभियन्तालाई तह लगाउन स्टालिनकालीन कैद प्रावधानलाई कानुनी प्रणालीमा समावेश गरिएको छ । युद्धविरोधीलाई ‘विदेशी एजेन्ट’ भन्दै धम्काउने र सताउने गरिन्छ।

फलतः अधिकांश रुसी शासनको विरोध गर्नुभन्दा अनुकूलन गर्न रुचाउने भएका छन्। देश छोडेर भाग्नुलाई धेरैले उचित उपाय मानेका छैनन्। यो मारिनु वा स्वयं हत्यारा ठहरिनबाट बच्ने व्यवहारिक तरिका मात्रै हो । रुसी जनता यतिखेर सर्वाधिक चिन्ताग्रस्त छन् भन्ने कुराचाहिँ सत्य हो। तर, यो अनुकूलनको प्रयास पनि रुसी विशेषतामाथि भारी पर्दै गएको छ । आखिर कहिलेसम्म र कतिसम्म यस्तो गर्ने ? यसको कुनै सीमा देखिएको छैन।

मृत्यु र निर्भरता

पुटिन एक नयाँ साम्राज्य निर्माण गर्दैछन् तर त्यो राम्रो भने भइरहेको छैन । मान्छे बन्धनमा पारिएको अनुभूति गर्दैछन् । सोभियतकालीन साम्राज्यका मुख्य आधारमध्ये एक भव्य कम्युनिस्ट बनाउने परियोजना थियो । आजका नयाँ सम्राटले ठीक त्यही कम्युनिस्ट परियोजनालाई ध्वस्त पारेर रुसी क्षेप्यास्त्रले मस्कोको साम्राज्य पुनर्स्थापित गर्न खोजेका छन्।

आज पुटिनले ध्वंस्त पारिरहेका अधिकांश युक्रेनी पूर्वाधार उनकै बीसौं शताब्दिका पूर्वजले बनाएका थिए । खार्किभको पावर प्लान्ट सन् १९७० मा सोभियत संघले बनाएको थियो । यसले लाखौं मानिसलाई बिजुली उपलब्ध गराउँथ्यो । यो युक्रेनको दोस्रो ठूलो थर्मल पावरप्लान्ट बनेको थियो ।

सन् २०२२ को सेप्टेम्बरमा यो रुसी आक्रमणमा पर्‍यो। त्यहाँ हप्तौंसम्म आगो बलिरह्यो र देशका धेरै भागमा मान्छे बिजुलीविहीन भए । अघिल्लो साम्राज्यले पहिलो मानव निर्मित उपग्रह स्पुतनिक र पहिलो मानव युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो । पुटिनले भने छिमेकी देशमा घातक क्षेप्यास्त्र प्रहार गरे । सम्भवत: यो ‘नरम शक्ति’ को भिन्नता हो जुन निश्चित बेलामा सोभियत संघको विशेषता थियो । र यो प्रष्ट छ कि, पुटिनको शक्ति कुनै पनि अर्थमा नरम हैन ।

सन् २०२२ यो युद्ध र आपत्तिको वर्षले शासन परिवर्तनको पक्षमा अझै खासै काम गरेको छैन । सामान्य रुसीले प्रतिरक्षाका लागि यस्तो मानसिकता बनाएका छन्–‘युद्धमा मेरो देशको स्थिति ठीक छ कि बेठीक मलाई थाहा छैन, मेरो शासकलाई नै थाहा होला। किनकि, हामीसँग भन्दा धेरै जानकारी उनीसँगै छ ।’ यथार्थमा यो दोधारे प्रतिक्रिया हो, जसले वास्तविकतालाई बेवास्ता गर्छ ।

धेरै रुसीहरू सन् २०२२ लाई एक अप्ठ्यारो वर्षका रूपमा हेर्छन्, तर कोभिड–१९ वा सन् १९९० को अराजकताको समयमा भन्दा कम । सर्वेक्षणले भन्छ कि अगाडिका दु:खमा भन्दा यसपटक रुसी जनताले कमै चासो राखेका छन् । घट्दो चासोको कारण युद्धकालीन एकता कायम राख्नुपर्ने दबाब मात्र हैन, त्योभन्दा बढी परिवर्तन हुन सक्दछ भन्ने स्वीकार गर्न अनिच्छा र आत्म–छलको चाहना हो ।

रुसी जनसंख्याको ठूलो हिस्साले पुटिनले सामाजिक सम्झौताको उल्लंघन गरिरहेका छन् भन्ने बेवास्ता गर्‍यो । रुसी प्रशासन र अधिकारीहरूले सर्वसाधारणलाई शासन र युद्धको समर्थनबाटै सबैथोक सामान्य चलिरहन सक्छ भन्ने आश्वस्त गर्न खोज्यो । तर, अब यो वाचा टिक्ने अवस्था छैन । युद्धमा भइरहेका मृत्युले पुटिनका सबै वाचा पापका पोकाजस्ता देखिन थालेका छन् ।

रुसी जनसंख्याको ठूलो हिस्सा अहिले पनि सोभियतकालमा भन्दा धेरै राज्यमा निर्भर छ । बजार अर्थतन्त्रको उदय र आत्मनिर्भर व्यक्तिहरूको महत्त्वपूर्ण वर्ग निर्माणका बाबजुद पुटिनले सामाजिक भुक्तानी अनुपातलाई उच्च पार्ने सक्दो प्रयास गरेका छन् । यो लक्ष्य हासिल गर्न उनले पेट्रोडलरको व्यापक प्रवाह गरिरहका छन् । राज्यमा आश्रित जनसंख्या बढी आज्ञाकारी हुन्छ भन्ने उनलाई राम्रो थाहा छ।

जनसंख्याको सानो हिस्साले मात्र आफ्नो आम्दानी स्वतन्त्र व्यवसायिक क्रियाकलापबाट हासिल गरिरहेको छ । एक तथ्यांकअनुसार करिब ३३ प्रतिशत रुसी आयका लागि सामाजिक भुक्तानीमा निर्भर छन्। थप एक चौथाइ रुसी कसै न कसैमा निर्भर हुन्छन् । सोभियत संघको अन्त्यपछिका यी तथ्यांक चकित पार्ने खालका छन् ।

मास्कोमा अर्विल

सन् २०२२ मा २० हजार ४ सय ६७ लाई राजनीतिक आधारमा हिरासतमा रखिएको थियो । युद्धविरोधी भावना भड्काइएको भन्दै ३६८ जनालाई फौजदारी अभियोग लगाइएको थियो । तीमध्ये ५१ जनालाई दण्डसजाय तोकिएको छ।

मस्को नगरपालिका उपप्रमुख अलेक्सी गोरिनोभ र उदारवादी राजनीतिज्ञ इल्या यासिन विरुद्धका मुद्दाले धेरैको ध्यान तानेका थिए। सेनाबारे झुटो सूचना दिएको भन्दै गोरिनोभलाई ७ बर्ष र इल्यालाई आठ वर्ष जेल सजाय तोकिएको छ। एक सय ७६ जनालाई ‘विदेशी एजेन्ट’ घोषणा गरिएको छ।

सञ्चारमाध्यममाथिको सेन्सरसिप उत्तिकै चर्को छ। गत वर्ष २ लाख १० हजार भन्दा बढी वेबसाइट प्रतिबन्ध गरिएका थिए । राज्य संयन्त्रले मिडियालाई धम्काएका घटना त कति छन् कति । पत्रपत्रिकालाई देशभरि वितरण गर्न दिइन्न । तर, यसका बाबजुद पुटिन र युद्धप्रतिको आक्रोश कुनै न कुनै रूपमा विस्तार भइरहेको छ। मान्छेले मन बुझाउन युद्धविरोधी शास्त्रीय साहित्य पढ्ने गरेका छन्।

गत वर्ष रुसमा सबैभन्दा बढी पढिएको किताब जर्ज अर्बिलको १९८४ थियो । प्रकाशन गृहले यस्ता किताबको पुन: प्रकाशन गर्दैछन्, जसलाई रोक्न प्रशासनलाई नैतिक समस्या हुन्छ । राम्रो बिक्री हुने किताबको सूचीमा सन् १९३० तिरका जर्मनीका दैनिक जीवनबारेका पुस्तक पनि छन् । जर्मन–स्विस कार्ल जेस्पार्सका सन् १९४५ तिरका प्रवचन र लियो टोल्सटोयका युद्धविरोधी लेखहरू खुबै पढिँदै छन्।

बेपत्ता कानुनहरू

पुटिन र उनका क्रेमलिन विचारक पश्चिमले रुसको नक्सा विश्व मानचित्रबाट मेटाउन चाहेको कुरा गर्न रुचि राख्दछन् । उनीहरूको तर्क छ कि उनीहरू रुसी साम्राज्यलाई अझ विस्तार गरेर विश्व मानचित्रमा देशको नक्सा अझ ठूलो पार्न चाहन्छन् । उनीहरू सुदूर विगतमा फर्किन चाहन्छन्।

पश्चिमले रुसलाई लोकतन्त्रको बाटोमा हिँडेको देशका रूपमा हेर्न खोजेको थियो । अहिले रुसलाई एक अन्तर्राष्ट्रिय रूपमा च्युत र असफल राष्ट्रका रूपमा लिन्छ । रुसको छिमेकी र पूर्व सोभयतकालिन राज्यहरू मस्कोसँग टाढिँदै छन् । कतिपयले त पुटिनबाट लखेटिएको जनसंख्यालाई श्रमशक्तिका रूपमा दोहन गर्दै छन् ।

सन् २०२२ मा २० लाख ९० हजार रुसी कजाकिस्तान पुगेका थिए तीमध्ये करिब १ लाख ५० हजारले श्रम अनुमति पत्र लिएका थिए । प्रारम्भमा ८० प्रतिशत रुसी युक्रेन युद्धको समर्थनमा थिए । उनीहरूलाई लागेको थियो कि, यो एक छोटो सैन्य अभियान हो युद्ध हैन । तर, डिसेम्बरयता मान्छेहरूको बुझाइ बद्लिएको छ। अधिकारीहरू आफैँ यसलाई ‘नेटो विरुद्धको युद्ध’ भन्न थालेका छन् । सर्वेक्षणका अनुसार युद्धलाई समर्थन गर्ने रुसीको अनुपात अब ४१ प्रतिशत मात्रै छ ।

रुसी समाज झन्झन् विभाजित र ध्रुवीकृत हुँदैछ । रुसीहरूमा आफ्नो देशले अनावश्यक रूपमा छिमेकी देशका जनतालाई मारेको र दु:ख दिएको हीन भावना पैदा हुन थालेको छ । युद्ध अपराधसँग जोडिएर आउने उत्तरदायित्वको प्रश्नमा मानिस टाउको निहुराउनुपर्ने स्थितिमा पुगेका छन् । युक्रेन रुसका लागि भातृत्वपूर्ण देश हो । युक्रेनमा मारिनेमध्ये कतिपय त रुसी जनताका आफन्त, नातेदार र साथीभाइ नै हुन्छन् ।

कहिलेकहीँ मान्छेलाई यस्तो लाग्न थालेको छ कि रुस साँच्चै नक्साबाट गायब भएको छ । आफ्नै सरकारले यसलाई अवैधानिक तवरले गाडिदिएको छ । एक वर्षभित्र पुटिन र उनको समूहले रुसी सभ्यता र संस्कृतिको बदनामी गर्दिएको छ। स्टालिनको पाला यता रुसी छवि यसरी तहसनहस कहिल्यै भएको थिएन ।

सोभियतकालीन जनचाहनाको एउटा पाटो उदार समाज र लोकतन्त्र थिए । पुटिनको युगमा आएर रुसी समाज फेरि एकपटक विधिहीन बनेको छ । रुसी जनताले लोकतन्त्र र विधिको शासन बिर्सेर युद्धलाई मात्र गौरवीकरण गर्ने युद्धपिपासु शासकलाई कहिलेसम्म समर्थन गर्ने होला ?

(फोरेन अफियर्सबाट संक्षेपीकरणसहितको भावानुवाद )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved