दम्पती हत्या गरेर पुजारीको काम, यसरी पक्राउ परे तेजनारायण

दम्पती हत्या गरेर पुजारीको काम, यसरी पक्राउ परे तेजनारायण

जनकपुरधाम । महोत्तरी जिल्लामा दुई वर्ष अगाडि झा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

घटना भएको दुई वर्षपछि फरार रहेका पिपरा गाउँपालिका ५ का ७२ वर्षीय तेज नारायण झालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । १० फागुन २०७७ को राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए ।

बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने बाटोमा बोरामा शरीरलाई टुक्रा पारी गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेका थियो ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता तथा डिएसपी सन्तोष कुमार पोखरेलका अनुसार झा घटना वारदात पश्वात फरार भई भारतको गोवाटी शहरमा पुजारीको काम गरी बस्दै आएका थिए । हत्याका प्रतिवादी झा बेला बेलामा काकडभिट्टा नाका हुँदै नेपालमा आउ जाउ गर्ने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज, काठमाण्डौको सहयोगमा महोत्तरी प्रहरी टोलीले माघ ६ गते झापाको मेचीनगर-६ स्थित नेपाल भारतको सीमा नाकाबाट पक्राउ गरी ल्याएको हो ।

यसअघि प्रहरीले हत्या घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा छन् भने ४ जना धरौटी दिएर रिहा भएका छन् ।

कारागार जानेहरुमा पिपरा गाउँपालिका वडा नं.५ बस्ने ४० वर्षीय कैलाश झा, भारत बिहार राज्य, जिल्ला मधुवनी, थाना मधवापुर तरैया ग्राम पंचायत वडा नं.२ अंदौली घर भई हाल जिल्ला महोत्तरी पिपरा ५ बनौली बस्ने ४६ वर्षीय हरेन्द्र ठाकुर र पिपरा ५ बस्ने ५२ वर्षीय रामबाबु यादव रहेका छन् । उनीहरुलाई २०७८ वैशाख १६ गतेको महोत्तरी जिल्ला अदालत जलेश्वरको आदेशले कारागार कार्यालय चलान गरिएको हो ।

त्यसैगरी २०७८ पुस ४ गतेको उच्च अदालत, जनकपुरको आदेशले पिपरा ५ २६ वर्षीय सुरेन्द्र यादव, र २४ वर्षीय राजेन्द्र भन्ने रजिन्द्र यादव ५ लाख धरौटी राखी तारेखमा छुटेको छन् भने ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीया विकास भन्ने बब्लु कुमार झा २ लाख धरौटी राखी तारेखमा छुटेका छन् ।

यसरी भएको थियो घटना

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र झाकी ६० वर्षीया गीतादेवीको शव २०७७ चैत १२ गते पिपरा गाउँपालिका –२ मा गाडिएको अवस्थामा भेटियो । शवलाई गलाउन नुनको प्रयोग गरिएको प्रहरीले जनायो ।

झा दम्पती फागुन १० गते साँझ खाना खाएर सुतेका थिए। तर, बिहान दम्पती सुतेको ओछ्यान सहित बेपत्ता भएका थिए । घटनाको ३० दिनपछि झा दम्पतीको शव माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो । जग्गा बिक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको महोत्तरी प्रहरीको निष्कर्ष छ ।

मुसाफिर झा मालपोतका अवकाश प्राप्त सुब्बा थिए । त्यसक्रममा मुसाफिरलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा बिक्री गर्न दबाब दिने गरेको थियो । जग्गा जमिनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर झाको घर नजिकै थियो ।

रामबाबुलाई केही जानकारी हुनसक्ने आधारमा प्रहरीले अनुसन्धान सुरु गर्‍यो । रामबाबुको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान चलायो र ५२ वर्षीय रामबाबु यादव सहित यादवका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादवलाई २०७७ चैत ८ गते गिरफ्तार गर्‍यो । बयानका क्रममा उनीहरूले त्यो रङ भएको बताएका थिए । तर, विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरेपछि अनुसन्धान रामबाबुमाथि केन्द्रित भएको थियो।

प्रहरीले जग्गाधनी भारतीय नागरिक हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण गर्‍यो । त्यसक्रममा ठाकुर फागुन १० गते काठमाडौँबाट जनकपुरधाम आएर भोलिपल्ट फर्किएको देखियो । प्रहरीले ठाकुरलाई पनि काठमाडौँबाट गिरफ्तार गरेर महोत्तरी पुर्‍यायो । तर, बयानमा ठाकुरले काठमाडौँबाट जनकपुर पुगेको स्वीकार गरेनन् ।

पोलिग्राफ शाखामा लगेर बयानको सत्यता परीक्षण गर्दा ठाकुरले ९९ प्रतिशत झुठो बोलेको देखिएको तत्कालिन प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली बोलाएर अनुसन्धान थालिएको थियो । ब्युरोले एक जना इन्स्पेक्टरको टोली अनुसन्धानमा खटाएको थियो । सीआइबीले जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर गर्‍यो । तर, झा दम्पतीको अवस्था अज्ञात रह्यो ।

गिरफ्तार परेकाहरूले अभियोग स्वीकार गरेका थिएनन् तर उनीहरूको संलग्नता देखिएपछि महोत्तरी प्रहरीले पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गर्‍यो । शङ्कास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली चैत १२ गते झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम–दक्षिणको पिपरा–२ मा पुगेको थियो । बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको थियो ।

मृतक झा दम्पतीका छोरा मनिष झाले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते अपहरण गरी शरीर बन्धक सम्बन्धी किटानी उजुरी दिए । घटनाको अनुसन्धानपछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई चैत १३ गते गिरफ्तार गर्‍यो । गिरफ्तार पर्नेहरुमा पिपरा गाउँपालिका–२ का तारा देवी झा उनको दुई छोरा कैलाश झा र विकास भनिने बबलु झा थिए।

मृतक दम्पती कै नातामा भतिजो पर्ने कैलाश झाले झाले प्रहरीलाई दिएको बयानमा आफूलाई जग्गा व्यापारी हरेन्द्रले मुसाफिरको जग्गा बेच्न लगायो भने २ करोड रुपैंया दिने भनि प्रलोभन दिएको उल्लेख छ । ठाकुर कै प्रलोभनमा आएर आफूले मुसाफिर झाको हत्या गर्ने निधो गरेको र त्यसका लागि उनको जेठी बुहारी अंशु झालाई नशा लाग्ने औषधि किनेर एकदिन अगाडि नै दिएको कैलाशले प्रहरीलाई बयान दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved