मधेशका सबै निकायलाई तीनमहिना भित्र भ्रष्टाचार मुक्त बनाउँछु : मुख्यमन्त्री यादव

नेपालभ्युज

मधेशका सबै निकायलाई तीनमहिना भित्र भ्रष्टाचार मुक्त बनाउँछु : मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् ।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै  मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पुर्‍याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो ।

उनले भ्रष्टाचार छानवीनका लागि आफूले ५ सदस्यीय छानवीन समिति गठन गरेको पनि स्मरण गराए । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।

‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अव मैले तीन महिना भित्र प्रदेश सरकारका  कार्यालयहरुमा भ्रष्टाचार शुन्य गरिदिन्छु र सबै दललाई मिलाएर एकसाथ लग्नेछु ।’ यादवले भने,  ‘पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरुको छानवीन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानवीन समिति गठन गरिदिएको छु । सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु र आवश्यक पर्‍यो  भने पुरक बजेट पनि ल्याउन सकिन्छ ।’

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved