राष्ट्रिय खेलाडीको पलायन बढ्दै, सरकारी निकाय उदासीन, प्रतियोगिता नै नभएपछि खेलाडी कसरी बाँच्ने ?

एन्फाका पदाधिकारीको जवाफ जहिले उस्तै हुन्छ, हामीले काम गरिरहेका छौं अबदेखि यस्तो समस्या आउन नदिन काम गरिरहेका छौं । तर समस्या समाधानका लागि ठोस योजना भने कहिले पनि आउँदैन । बरु तय भएका प्रतियोगिता पनि पटक-पटक स्थगित हुन्छन् ।

राष्ट्रिय खेलाडीको पलायन बढ्दै, सरकारी निकाय उदासीन, प्रतियोगिता नै नभएपछि खेलाडी कसरी बाँच्ने ?

काठमाडौं। स्वदेशमै परिवारसँग बस्न कसलाई मन नहोला र ? तर, मन भएर के गर्नु रोजगारीका लागि विदेश जानु अहिले बाध्यता बनिरहेको छ । यो बाध्यता अरुलाई मात्रै होइन खेलाडीलाई पनि छ । त्यसैले, खेलाडी पलायन हुने क्रम जारी छ ।

तुलनात्मक रूपमा राम्रो मानिएको फुटबलका खेलाडी नै नेपाल छोड्न बाध्य भएका छन्। पछिल्लोपटक राष्ट्रिय टोलीका तेज तामाङ, गौतम श्रेष्ठ र दिनेश राजवंशी अस्ट्रेलिया उडेका छन्। यसरी खेलाडी पलायन भएको पहिलोपटक भने होइन ।

यसअघि, राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा पनि अस्ट्रेलिया गएका थिए । शिव गुरुङ,आकाश बुढा मगर, रुमेश बर्तौला, जगजित श्रेष्ठ र अमिर श्रेष्ठ लगायतका खेलाडी पनि विदेश गइसकेका छन्।

देशको नाम संसारभर चम्काउने खेलाडी नेपालमा भविष्य नदेखेर पलायन हुनु पक्कै सहज हैन । तर यो समस्या समाधान गर्नेतर्फ सरोकारवाला निकायले ध्यान दिएका छैनन् । करिब १० महिना देखि ए डिभिजन लिग हुन सकिरहेको छैन। विभिन्न कारण देखाउँदै लिग पछि सर्दै आएको छ ।

फुटबल खेलेरै जीविकोपार्जन गर्ने खेलाडीका लागि १० महिनासम्म खालि बस्दा समस्या हुनु स्वाभाविक हो । नेपाली फुटबलमा यस्तो अवस्था किन आयो त ? नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ यस्तो अवस्थाले नेपालमा फुटबल खेलेर बाँच्न नसकिने रहेछ भन्ने देखिएको बताउँछन् ।

फुटबलरहरूले फुटबलमा भविष्य नै नदेख्ने अवस्था आउनु दु:खद भएको भन्दै श्रेष्ठ भन्छन्, ‘एन्फा आन्तरिक राजनीतिमा अल्झेर बसेको देखिन्छ। खेलाडीले खेलेर नै जीवन निर्वाह गर्ने हो। अधिकांश नेपाली खेलाडी पढाई छोडेर बसेका हुन्छन्। खेल नै मेरो जीवन भनेर लागेका हुन्छन्। कतिले पढाइभन्दा खेललाई प्राथमिकतामा राखेर अघि बढेका हुन्छन्। फुटबल खेलेर नै परिवार पाल्नुपर्ने स्थिति हुन्छ।’

उनी प्रश्न गर्छन्, ‘अब लिग नै नभएपछि, खेल नै नभएपछि दैनिकी कसरी चलाउने ? अन्य जागिर भएका विभागीय टोलीमा आबद्ध भएका खेलाडीलाई केही मात्रामा आर्थिक सहयोग छ।  चाहेर पनि नचाहेर अन्त्यमा आर्थिक पाटो नै जोडिन्छ। लिग भए त क्लबले खेलाडीसँग सम्झौता गर्छ। केही रकम पाउँछ। जीवन धान्न सक्छ। लिग नै नहुँदा क्लबले पनि खेलाडी  बोलाउँदैनन्।’

त्यसमाथि सबै खेलाडी काठमाडौंका छैनन्। बाहिरबाट आएर काठमाडौंमा बस्न कतिको चुनौतीपूर्ण छ,सबैलाई नै थाहा छ। तर, कमाउने बाटो नै बन्द भएपछि नेपालमा टिक्न गाह्रो हुने उनको ठम्याइ छ ।

यसरी राष्ट्रिय टोलीका खेलाडी बाहिरिँदा अन्त्यमा नेपालको प्रदर्शनमै असर पर्छ।  वर्षौ देखि नेपालका विभिन्न क्लब तथा राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका मेघराज केसीले पनि यस्तो अवस्था नेपाली फुटबलको लागि पीडादायक भएको बताउँछन्।

यो नेपाली फुटबलको लागि दुःखद कुरा हो। यसले नेपाली फुटबललाई पक्कै राम्रो गर्दैन। नेपाली राष्ट्रिय टोलीको अधिकांश खेलाडी यसरी बाहिर जाँदा विश्व फुटबलले नेपाललाई हेर्ने नजर नै फरक हुन्छ। राम्रो सन्देश जाँदैन।’ उनी भन्छन् ‘नेपाली फुटबललाई हेर्ने हो भने खेलाडीको भविष्य सुनिश्चित नै हुन सकिरहेको छैन। विगत ४–५ वर्षलाई नियाल्ने हो भने कोभिडका कारण राम्ररी प्रतियोगिता हुन सकेनन्। देशको आर्थिक स्थिति पनि डामाडोल भयो। फुटबलमा लगानी गर्नेको कमी भयो। राष्ट्र तथा एन्फाले पनि फुटबल प्रतियोगिता आयोजना गर्न सकेन।’

यस्तो अवस्थामा बाँच्नका लागि विकल्पको खोजी स्वभाविक हुने उनको तर्क छ । केसी थप्छन्, ‘त्यसकारण पनि खेलाडीले लिएको यस्तो निर्णयमा उनीहरूलाई दोष दिने ठाउँ नै छैन। देशको परिस्थिति, फुटबलमा देशले गरेको लगानी, फुटबलका जिम्मेवार व्यक्तिको हेलचेक्र्याइँले खेलाडीलाई विदेश जान विवश बनाएको छ।’

अब यो समस्याको समाधान के त ? केसीको सुझाव छ, ‘खेलाडीलाई वर्षभरि नै व्यस्त हुने वातावरण तयार पार्नुपर्‍यो । किनकी खेल भए त, खेलाडीले अवसर देख्छन्, भविष्य देख्छन्। नेपाली खेलाडीमा सीप छ। क्षमता छ। यसको अन्तर्राष्ट्रिय स्तरमा माग पनि छ। तर, हाम्रा खेलाडीले खेल्नै नपाएपछि, उनीहरूको क्षमता देख्न नपाएपछि, विदेशी क्लबले नेपाली खेलाडीमा लगानी गर्ने कारण पनि भएन। यसकारण हामीले खेलाडीलाई अवसर सिर्जना गर्न आवश्यक छ।’

अखिल नेपाल फुटबल संघ एन्फा भने यो समस्याप्रति खासै गम्भीर देखिँदैन । पहिले पनि यस्तो हुने गरेको र अहिले पनि भइरहेको उसको गैरजिम्मेवार जवाफ छ । एन्फाका प्रवक्ता सुरेश शाह खेलाडी मात्रै नभएर आम नागरिक पनि रोजगारको लागि विदेश गइरहेको भन्दै यसलाई एकतर्फी रूपमा हेर्न नहुने तर्क गर्छन् ।

‘विदेश जाने अधिकांश खेलाडीको आर्थिक स्थिति कमजोर देखिएको छ। खेलाडी पलायन भएभन्दा पनि राम्रो अवसरको खोजीमा विदेश गएको भन्दा उपयुक्त होला।’ उनी भन्छन्, ‘केवल एक महिना लिग पछाडि सर्‍यो । प्रतियोगिता भएन खेलाडी विदेश गए भनेर बुझ्नु हुँदैन। ३ महिनाको लिगलाई डबल रोबिनमार्फत ६ महिनासम्म सञ्चालन हुने गरी तयारी भइसकेको छ । अन्य गतिविधि पनि भइरहेको छ। फेरि, यस्तो अवस्था आजमात्र नभई धेरै आगाडि देखि चलिआएको छ। प्रतियोगिता सर्नुलाई मात्र कारणको रूपमा हेर्न मिल्दैन।’

खेलाडी विदेश जाँदा राष्ट्रिय फुटबल टोलीलाई असर पर्नेमा भने एन्फा पनि सहमत छ । आगामी दिनमा खेलाडीको भविष्य सुनिश्चित गर्न एन्फाले जोड दिने प्रवक्ता शाहको दाबी छ । उनी भन्छन्, ‘खेलाडीलाई आर्थिक रूपले सुरक्षित महशुस गराउन हामीले गृहकार्य गरिरहेका छौँ। आगामी दिनमा खेलाडीमा क्षमता छ भने अवसर पनि पक्कै पाउनुहुनेछ। यस्तो अवस्था दोहोरिन नदिन एन्फा क्रियाशील छ।’

एन्फाका पदाधिकारीको जवाफ जहिले उस्तै हुन्छ, हामीले काम गरिरहेका छौं अबदेखि यस्तो समस्या आउन नदिन काम गरिरहेका छौं । तर, समस्या समाधानका लागि ठोस योजना भने कहिले पनि आउँदैन । बरु तय भएका प्रतियोगिता पनि पटक-पटक स्थगित हुन्छन् ।

सरकारले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको छैन । खेलकुद मन्त्रालय सबैभन्दा हेपिएको सरकारी निकायमा पर्छ । अहिले पनि उक्त मन्त्रालय खाली छ । कुनै पनि दल त्यो मन्त्रालय लिएर खेल क्षेत्र सुधार गर्छु भनेर अघि आउन सक्दैनन् ।

यदि, यो समस्या बुझेर समाधानका लागि ठोस पहल भएन भने खेलाडी पलायन रोकिने हैन झन् बढ्न सक्छ । राम्रा खेलाडी नै पलायन भएपछि हाम्रो खेलकुदको अवस्था के होला अनुमान गर्न कुनै कठिन छैन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved