शक्ति सन्तुलनका आधारमा प्रदेशको नेतृत्वमा भागवण्डा, तीनमा सरकार गठन

प्रदेश १, बागमती र गण्डकीमा सरकार गठन भएको छ। अब मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठन बाँकी छ।

नेपालभ्युज

शक्ति सन्तुलनका आधारमा प्रदेशको नेतृत्वमा भागवण्डा, तीनमा सरकार गठन

काठमाडौं। सत्ता साझेदार दलले मुख्यमन्त्री बाँडफाँट टुङ्गो लगाएअनुसार सोमबार तीन वटा प्रदेशमा सरकार गठन गरेका छन्। प्रदेश १, बागमती र गण्डकीमा सरकार गठन भएको हो। अब मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठन बाँकी छ।

सत्तारुढ दलहरूले शक्ति सन्तुलनका आधारमा प्रदेशको नेतृत्व भागबन्डा गरेका हुन्। प्रदेश १ र गण्डकीमा नेकपा एमाले नेतृत्वमा सरकार गठन हुँदा बागमतीमा नेकपा माओवादीका केन्द्रका नेता मुख्यमन्त्री छन्।

आइतबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मुख्यमन्त्री र सभामुखको बाँडफाँट टुङ्गो लगाएअनुसार नै सरकार गठन भएको हो।

प्रदेश १ मा एमाले नेता मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको हो। झापा ५(१) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भए।

मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले पनि मन्त्री पदको शपथ लिएका छन्।

उनीहरू अहिलेलाई बिना विभागीय मन्त्रीमा नियुक्त भएका हुन्।

लामो समय मन्त्री भएका जमकट्टेल मुख्यमन्त्री

बाग्मतीमा माओवादीमा मजदुर नेताको रूपमा परिचय बनाएका शालिकराम जमकट्टेल मुख्यमन्त्री बनेका छन्। नेकपा एमाले, राप्रपाको सहयोगमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका जमकट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री भएका हुन्।

उनी प्रदेशसभाको अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट संसदीय दलका नेता थिए। उनले तत्कालीन नेकपा विभाजनपश्चात् मुख्यमन्त्रीको रूपमा आफूलाई लबिङ गरे पनि सफल भएका थिएनन्।

उनीसँग यसअघि वाग्मती प्रदेशसभामा सबैभन्दा लामो समय मन्त्री भएको अनुभव छ। पहिलो मुख्यमन्त्री डोरमणि पौडेल हुँदा ४२ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए।

पछि राजेन्द्र पाण्डे मुख्यमन्त्री भएपछि १५ महिनादेखि उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए। अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा जमरकट्टेल तीन महिना सत्ता बाहिर बस्नुबाहेक सबै समय उनी मन्त्री बनेका थिए।

जमकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ छ। ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ।

बागमतीमा साढे २ वर्षपछि सरकारको नेतृत्व फेरिने छ। एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी जुटेको छ ।

गुरुङ केन्द्रमा फर्केपछि अधिकारीलाई अवसर

यता गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ केन्द्रमा फर्केपछि अधिकारीलाई प्रदेशको नेतृत्व लिने अवसर आएको हो।

अधिकारी एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन्। विद्यार्थी राजनीतिबाटै उदाएका अधिकारी छैटौँपटक संसदीय निर्वाचनमा लडिसकेका छन्।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या र उपप्रधान तथा गृहमन्त्री भई दुई पटकसम्म संघीय सरकारको मन्त्री बनेका अधिकारी यसपटक मुख्यमन्त्री बनेका हुन्। अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए।

नवगठित मन्त्रिपरिषद्मा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुँका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त भएका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

तीन प्रदेश सरकार गठन भएपछि अब मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठन बाँकी छ। माओवादीले कर्णालीमा मुख्यमन्त्री पाउनेछ ।

सुदूरपश्चिममा एमालेको सरकार बन्ने छ। त्यस्तै, मधेस प्रदेशमा भने जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व लिनेछन् । पहिलो चरणमा जसपा र पछिल्लो चरणमा जनमत पार्टीले नेतृत्व लिने गरी सहमति जुटेको नेताको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved