जब छोरा र प्रहरी हवल्दार रहेका ज्वाइँले सुपारी दिएर हत्या गराए …

जब छोरा र प्रहरी हवल्दार रहेका ज्वाइँले सुपारी दिएर हत्या गराए …

जनकपुरधाम । छोरा र प्रहरी हवल्दार रहेका ज्वाइँले एक व्यक्तिको सुपारी दिएर हत्या गराएको घटना सार्वजनिक भएको छ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको गत पुस ९ गते साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

५० वर्षीय मोटर मिस्त्री दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका जेठा छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दासको हत्यामा संलग्न रहेको आरोपमा दासका २१ वर्षीय छोरा प्रदीप दास, महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ सहोडवा बस्ने प्रहरी प्रधान कार्यालय सवारी महाशाखा प्राविधिक नक्सालमा दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रहरी हवल्दार पदमा कार्यरत ३४ वर्षीय ज्वाइँ उदय दास र नगराइन नगरपालिका–२ जटहीका सुटर २१ वर्षीय रञ्जित यादवलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले आरोपी तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले हत्यामा संलग्न भएकालाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको जानकारी एसपी खड्काले बताए ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुवाले दोस्रो विवाह गरेको र दोस्रो श्रीमतीबाट छोरी जन्मेपछि सम्पत्ति बाँडिने भएकोले जेठी श्रीमतीको छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको प्रहरीले जनाएको छ ।

छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको कुरा अनुसन्धानको क्रममा खुलेको एसपी खड्काले जानकारी दिए।

धनुक दासलाई गोली प्रहार गरी हत्या भएको ३ दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाखमध्येको ३ लाख रुपैयाँ दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

यसरी गरियो दासको हत्या

गत पुस ९ गते साँझ करिब सवा ७ बजे धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ बस्ने ५० वर्षीय धनुखधारी दासलाई आफ्नै घरको बरन्डामा बिग्रिएको दमकल बनाइरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा सवार भई आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी फरार भएका थिए ।

गोली लागि गम्भीर घाइते दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा मृत्यु भएको थियो ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अनुसन्धान टोलीले घटनाको बारेमा बुझ्दा मृतक धनुखधारी दासको दुईवटा विवाह भएको तथा छोराछोरीसँग समेत राम्रो सम्बन्ध नरहेको बुझिएको थियो ।

त्यसपछि दासका जेठो छोरा प्रदिप दासले प्रयोग गर्ने मोटरसाइकल सो घटनामा प्रयोग भएको कुरा प्रहरीले पत्ता लगायो ।

खोजतलासको क्रममा पुस १९ गते दिउँसो ३ बजे धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ जटही बस्ने २१ वर्षीय रञ्जित कुमार यादवलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ स्थित सिक्सलेन बाटोमा जटही–जनकपुर चल्ने बसबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

धनुखधारी दासको हत्या गर्नका लागि उनका जेठा छोरा प्रदिप दासले २/३ महिना अघि नै रञ्जितसँग सम्पर्क गरेका थिए । घटना हुनु भन्दा करिब एक महिना अघि रञ्जितलाई एकलाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ ।

रञ्जितले पेस्तोल १ नाल, सोमा लाग्ने गोली २ राउण्ड, अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागजीन २ थान, भारतबाट कटुवा पेस्तोल र सोको गोली ८ राउण्ड समेत लिई कोठामा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved