टाइगर कप : भलिबलको पुरस्कार दोब्बर वृद्धि

टाइगर कप  : भलिबलको पुरस्कार दोब्बर वृद्धि

पोखरा । पोखरामा आगामी माघ ८ देखि १४ सम्म ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तेस्रो संस्करणको सो प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको हो ।

प्रतियोगितामा दुई विदेशी क्लबसहित महिला र पुरुषतर्फ पाँच/पाँच गरी १० टिमको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । उनका अनुसार प्रतियोगिताको पुरस्कार राशिमा गत वर्षको तुलनामा दोब्बर वृद्धि गरिएको छ ।

प्रतियोगिताको च्याम्पियन महिला÷पुरुष दुवै टोलीलाई रु पाँच/पाँच लाख, ट्रफी र उपविजेतालाई रु दुई लाख ५० हजारका दरले नगद र ट्रफी पुरस्कार प्रदान गरिनेछ । यसैगरी तृतीय हुनेलाई नगद रु एक लाख २५ र सान्त्वना टोली महिला पुरुषलाई रु ६५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट एक/एक खेलाडीले रु २५ हजार तथा हरेक विधाका पाँच उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई रु १०/१० हजार र ट्रफी प्रदान गरिने छ ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलालर्फ केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो । यसैगरी पुरुषतर्फ गत संस्करणको उपाधि विजेता नेपाली सेनाको आर्मीको त्रिभुवन आर्मी क्लबसहित एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा वृद्ध–वृद्धालाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तरकै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved