महिला सांसदको प्रतिबद्धता: महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट हुन्छौं

नेपालभ्युज

महिला सांसदको प्रतिबद्धता: महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट हुन्छौं

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर नेतृत्व तहमा पुगेका महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) र साथी संस्थाले मंगलबार आयोजना गरेको ‘आगामी संसद्मा महिलाको सहभागिता र भूमिका’ विषयक अन्तरक्रियामा सहभागी विभिन्न दलका महिला नेतृले विशेष अवस्थामा बाहेक पार्टीको सिद्धान्तमा असर नपर्ने गरी राष्ट्रहितका साझा मुद्दामा सँगसँगै ऐक्यबद्ध भएर आफ्नो विवेकले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सामाजिक र महिला हितका मुद्दामा विगतमा पनि संसद्मा आवाज उठाएको र यसपटक विभिन्न क्षेत्रको अनुभवसहित आउनुभएका महिला नेतृत्वबीच ऐक्यबद्ध भएर काम गर्ने धारणा राखे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले आफू विगत ३३ वर्षदेखि सामाजिक सेवाको क्षेत्रमा काम गरेर राजनीतिमा आउनु सामाजिक व्यवस्था सुधारका लागि रहेको बताए ।

यस्तै सांसद रेखा शर्माले संविधानमै व्यवस्था भए पनि समानुपातिकबाट नेतृत्वमा आउन पनि सङ्घर्ष नै गर्नुपर्ने अनुभव सुनाउँदै नेपालमा केही समयका लागि राजनीति र हरेक क्षेत्रमा महिला, यौनिक अल्पसङ्ख्यक, दलित, सिमान्तकृतका लागि आरक्षण र कोटा आवश्यक प्रक्रिया रहेको बताए । सांसद रञ्जु झाले महिलालाई अगाडि बढ्न विगतमा सामाजिक, आर्थिकलगायत विविध कारण कठिनाइ भए पनि अबको मुद्दामा महिलाको आर्थिक सशक्तिकरणको आवाज बढी उठाउन जरूरी रहेको विचार व्यक्त गरिन् ।

साथी संस्थाका पूर्वअध्यक्ष तथा सिड कमिटीकी सदस्य बन्दना राणाले राजनीतिमा महिलाले सहभागीता जनाएका विश्वका ४८ राष्ट्रमा सन् २०२१ मा भएको सर्वेक्षणमा २८ दशमलव ६ प्रतिशत महिला नेतृत्वमा पुगेकामा नेपालमा संविधानले नै राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको र प्रत्यक्ष निर्वाचनमा पनि महिलाले प्रतिस्पर्धा गरेर आउने हिम्मत देखाउनु उपलब्धि भएको बताए । उनले राजनीतिमा मात्र नभइ राज्यको हरेक तहमा कम्तीमा ३३ प्रतिशत र समानताका लागि ५० प्रतिशत नै सहभागिता सुनिश्चित गर्ने वातावरण तयार गर्न नेतृत्व तहमा पुगेका महिलाबीच एकता हुन आवश्यक रहेको धारणा राखे ।

म्यागका संस्थापक अध्यक्ष तथा पत्रकार बविता बस्नेतले सदनभित्र आमनागरिकको प्रतिनिधित्व गर्दै पुग्ने महिला नेतृत्वबीच साझा मुद्दामा सँगै रहेर काम गर्न आग्रह गर्दै विगतमा जस्तै सदनबाहिर सञ्चार र सामाजिक क्षेत्रबाट पूर्ण समर्थन रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved