एटीएफ यु–१४ टेनिस प्रतियोगिता : नेपालका राजवीर च्याम्पियन

राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।

नेपालभ्युज

एटीएफ यु–१४ टेनिस प्रतियोगिता : नेपालका राजवीर च्याम्पियन

काठमाडौं। नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।

पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर परीक्षा कारण सहभागी थिएनन् । सर्किट– १ मा भारतका भिभान मिर्धाले नेपालका आयुषमान हजुरघलेलाई हराउँदै पहिलो भएका थिए ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्सको फाइनलमा भारतकी तनिशा भत्नागरले भारतकै सराह चौधरीलाई सीधा सेटमा ६–३ र ६–४ ले पाखा लगाउँदै पहिलो भइन् । सर्किट– १ मा भने नेपाली खेलाडीको वर्चस्व थियो । नेपालका शिभाली गुरुङ पहिलो, आद्या पौड्याल दोश्रो तथा प्रशंसा मोक्तान र स्वस्तिका विष्ट तेश्रो भएका थिए । सर्किट–१ कै डबल्समा पनि शिभालीले स्वर्ण हात पारेकी थिइन् ।

शुक्रबार सम्पन्न सर्किट– २ को ब्वाइज डबल्समा हङकङका ताङ र वान हिम दोनोभन यिमको जोडी पहिलो भएका थियो । गर्ल्समा नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडीले शीर्ष स्थान हात पारेको थियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एसियाली टेनिस महासंघको स्वीकृतिमा भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा १७ तथा गल्र्समा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालसहित १४ राष्ट्रका खेलाडीले सिंगल्स र डबल्स खेलेका थिए ।

मन जकयर टेनिस एकेडेमीले पहिलो पटक जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved