कांग्रेस नेताहरुको दाबी- प्रचण्डले इच्छा गरेपनि देउवाकै नेतृत्वमा सरकार बन्छ

नेपालभ्युज

कांग्रेस नेताहरुको दाबी- प्रचण्डले इच्छा गरेपनि देउवाकै नेतृत्वमा सरकार बन्छ
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने बताएका हुन् ।

शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरुको भेलामा सहभागी  भएका प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेपनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिए ।

उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राखे। प्रवक्ता महतले भने, ‘संसदमा सबै भन्दा ठूलो दलको हैसियतमा स्वभाविक रुपमा नेपाली कांग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वभाविक रुपमा लिन्छन भन्ने हाम्रो दृष्टिकोण छ । यद्यपि यस विषयमा औंपचारिक रुपमा कसरी जाने भन्ने विषयमा निर्णय भईंसकेको छैन ।’

अव केही दिनमै संसदीय दलको दलको निर्वाचन हुने भन्दै उनले अन्य दलको सहयोग लिएर सरकार बनाउने बताए । उनले भने,  ‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इ्च्छा व्यक्त गर्नु भएको छ । त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन । प्रधानमन्त्री भईसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ । नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्मान नै गर्छौं तर अहिलेको अवस्थामा कांग्रेसको नेतृत्व चाँही स्वभाविक ठहर्छ ।’

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दिपक खड्काले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए। उनले भने, ‘ठूलो दल हुनुको नाताले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमती जुटने विश्वास छ । सांसदहरुको अंकगणितलाई हेर्ने हो भने देउवाले दाबी गर्दा भारी हुने देखिन्छ ।’

नेताहरुले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवा नै निर्वाचित हुने दाबी समेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved