तान्जानिया पुगेर नेपाली फोटोग्राफर चुङ्बा शेर्पाले खिचेको दुर्लभ ‘सर्भल क्याट’
हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ। नेपाली फोटोग्राफरले पनि विदेशमा गएर दुर्लभ जनावरका अत्यन्तै सुन्दर तस्वीर खिचेर ल्याएका छन्। नेपालमा ‘फेक फोटो’ भाइरल हुनुअघि नै हिउँ चितुवाकै सुन्दर फोटोहरू खिचिसकेका वाइडलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले विदेशमा गएर दुर्लभ वन्यजन्तुको निकै आकर्षक फोटो खिचेका छन्।
कथित अमेरिकी फोटोग्राफरले नेपाल आएर हिउँ चितुवाको तस्वीर खिचेको भन्दै संसारभर वाहवाही भयो। पछि त्यो नक्कली साबित भयो। त्यो फोटोसप थियो भन्ने कुरा पुष्टि हुनुअघिसम्म नेपालीबाटै नेपाली फोटोग्राफरहरूले गाली खाइरहेका थिए।
तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छन्, नेपाली फोटोग्राफरले विदेशमा गएर दुर्लभ जनावरका अत्यन्तै सुन्दर तस्वीर खिचेर ल्याएका छन्। र, यो पुष्टि गर्न कुनै जालझेल वा तिकडम आवश्यक छैन। नेपाली फोटोग्राफरसँग सबुत छन्।
नेपालमा ‘फेक फोटो’ भाइरल हुनुअघि नै हिउँ चितुवाकै सुन्दर फोटोहरू खिचिसकेका वाइडलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले विदेशमा गएर दुर्लभ वन्यजन्तुको निकै आकर्षक फोटो खिचेका छन्। केही महिनाअघि उनले तान्जानिया पुगेर विश्वकै दुर्लभ मानिने जङ्गली बिरालो ‘सर्भल क्याट’लाई क्यामेरामा कैद गरेका हुन्।
घटना जंगलमा मात्रै पाइने यो फुर्तिलो बिरालोलाई तपाईंले गुगलमा खोज्नुभयो भने चुङ्बाले खिचेजस्तो तस्वीर भेट्टाउन मुस्किल छ। किनकि, यो दुर्लभमध्येमै पर्छ। र, कुनै फोटोग्राफर तान्जानियाका नेसनल पार्क वा संरक्षित क्षेत्रमा पुगे पनि सजिलो फोटो खिच्न कहाँ पाउँछ र ?
सर्भल क्याटले आहाराका लागि ससाना वन्यजन्तु र किरा फट्याङ्ग्रा शिकार गर्छ । मान्छेबाट कोसौँ टाढा बस्छ। झट्ट हेर्दा चितुवाजस्तै तर, चितुवा होइन। घरपालुवा बिरालोको तुलनामा दोब्बर जति लामो।
उत्तरी अफ्रिकामा पाइने दुर्लभ जन्तु सर्भल क्याट हेर्दा चितुवाजस्तै देखिन्छ। टाउको सानो र शरीर लामो हुन्छ। मानिसलाई देखेमा परिस्थितिअनुसार चितुवा जसरी झम्टने वा कोसौँ टाढा भाग्ने त्यो ठूलो प्रजातिको जङ्गली बिरालोलाई तस्वीरमा कैद गर्नु पक्कै चानचुने कुरा होइन।
किनभने त्यो मानिसको नजिक पर्दैन। आफूलाई निगरानी गरिरहेको मान्छेका गतिविधि चाल पाउँदा नपाउँदै उ भागिसक्छ। यति छिटो भाग्छ कि उसको फोटो खिच्नु अत्याधुनिक क्यामेरा र लेन्स बोकेकाहरूको पनि भाग्यको भर पर्नुपर्छ ।
आफ्नो अद्भुत कला र भाग्यको समीश्रणबाट उसै ‘सर्भल क्याट’को सुन्दर फोटो खिच्न सफल भए, चुङ्बाले। उत्तरी अफ्रिकी मुलुक चुङवाले सेरेंगेटी नेशनल पार्क, तराङ्गिरी नेसनल पार्क, गोरुङगोरो कञ्जरभेसन, जोजिनी फरेस्ट जन्जीबारलगायत ठाउँमा फोटो खिचेका थिए।
चितुवाजस्तै बिरालो (सर्भल क्याट) लेन्समा यसरी कैद भयो
नेपालमा थुप्रै लोपोन्मुख जङ्गली जनावरको फोटो खिचिसकेका चुङ्बा गत १३ जुनमा तान्जानिया गएका थिए। उनलाई संसारकै दुर्लभ र विरलै भेटिने केही जीवको फोटो खिच्ने मन थियो। उनी फाेटो खिच्न ताराङ्गिर राष्ट्रिय निकुञ्ज गए।
चुङ्बा त्यहाँ १५ दिन बसे। त्यो अवधिमा थुप्रै जीवजनावरको फोटो खिचे। फोटो खिच्ने हतियारको रूपमा उनी सँग थियो क्याननको अत्याधुनिक क्यामेरा। साथमा १३ हजार डलर पर्ने निकै महँगो लेन्स। त्यहाँको चर्चित तराङ्गिरी, सेरेङ्गेटीलगायतका राष्ट्रिय निकुञ्ज घुम्न निस्किएका थिए।
वाइडलाइफ फोटोग्राफर चुङ्बा शेर्पा
तराङ्गिरी तान्जानियाको छैटौँ ठूलो निकुञ्ज हो। २६ सय वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको निकुञ्जमा कतै घना जङ्गल त कतै विशाल घाँसे मैदान छन्।
कतै धेरै फराकिला दलदल क्षेत्र छन् जहाँ सुख्खा मौसममा जमिन सुकेर हरियो घाँस उम्रन्छ।
यो निकुञ्जमा हात्तीका बथानहरू र सुक्खा मौसममा धेरै वन्यजन्तुहरू बसाइँसराइका लागि आउँछन्। यो निकुञ्ज अफ्रिकाको सबैभन्दा ठूलो हात्तीको बसाइ क्षेत्र मानिन्छ। जहाँ ३ सयभन्दा बढी हात्तीहरू एकै बथानमा हुन्छन्।
त्यहाँ ठूलो संख्यामा अर्ना, जिराफ, गैँडा, कालो गैँडा, बाघ, भालु, चितुवा, सिंह, जङ्गली कुकुरहरू छन्। ५ सय ४५ प्रजातिका चराचुरुङ्गी पाइन्छन्।
तान्जानियामा चुङ्बाले विश्वकै दोस्रो ठूलो राष्ट्रिय निकुञ्जमा समेत आफ्नो कला क्षमता प्रदर्शन गरे। सेरेङ्गेटी विश्व सम्पदा क्षेत्र विश्वकै दोस्रो ठुलो निकुञ्ज हो। जहाँ चुङ्बाले दर्जनौं जंगली जनावरका फोटो आफ्नो लेन्समा उतारेर विश्वमाझ देखाए।
सेरेङ्गेटी १५ हजार बर्ग किलोमिटरसम्म फैलिए छ।
सो क्षेत्र वन्यजन्तु र चराचुरुङ्गीले भरिएको छ। सेरेङ्गेटीमा २० लाख बढी अनगुलेटहरू, ४ हजार सिंह, १ हजार ५ सय बढी चितुवा, ५ सयभन्दा बढी प्रकारको चराहरु पाइन्छन्। त्यहाँका धेरै जीवजनावर र पन्छीलाई चुङ्बाले खिचे।
राष्ट्रिय निकुञ्जमा बाहिर सडकबाट मात्र जङ्गली जनावर हेर्न पाइन्छ। त्यहीबाटै फोटो खिच्नुपर्ने नियम छ।
सडकभित्र जङ्गल क्षेत्र (अफरोड)मा गाडी लैजान पाइँदैन। चुङ्बा भने जङ्गली जनावर हेर्न मात्र गएका थिएनन्। जनावर तथा पन्छीको सुन्दर र आकर्षक फोटो खिच्नु थियो। बाहिर सडकबाट केही जनावरको फोटो खिचे।
सिंह, जेब्रा, जिराफ, हात्तीलगायत थुप्रै जनावर तथा पन्छीहरूलाई लेन्समा अटाए। धेरै लामो क्षेत्रफल ओगटेको त्यो जंगलको वरिपरिबाट घुमेर सडकबाटै फोटो खिच्नुपर्थ्यो। जति धेरै फोटो खिच्यो उति सुन्दर र आकर्षक फोटो खिच्ने उनमा हुटहुटी भयो।
उनलाई अफरोडमा छिरेर फोटो खिच्न मन लाग्यो। किनकि सडकबाट अलि पर धेरै संख्यामा जनावर पाइन्छ। त्यहाँबाट झन् राम्रो फोटो आउने उनले सम्भावना देखे। फोटोका लागि सहजीकरण गर्ने सर्तमा आफ्ना नेचर गाइड र सवारी चालकलाई केही रकम टिप्स दिए।
गाइड र गाडी चालकले मौका छोपेर चुङ्बालाई अफरोडतिर लगेर टिप्सको गुन तिरे। अफरोड भनेको निकुञ्जले पर्यटकलाई जान निषेध गरेको क्षेत्र हो। किनकि, त्यहाँ जनावरले आक्रमण खतरा गर्ने भएकाले जान दिइँदैनथ्यो। अफरोड पुगेपछि चुङ्बाले विभिन्न जनावरको फोटो खिच्दै थिए। त्यही बेलामा देखियो सर्भल क्याट। उनले लेन्स सोझ्याएर फोटो खिचे।
केही ठाउँमा लगातार पछ्याएपछि मात्र तस्वीर लिन सफल भएको उनले सुनाए। उनले भने, ‘‘‘अफरोडमा जान पाइँदैनथ्यो। तर अरूभन्दा राम्रो फोटो खिच्न यो जोखिम मोल्नैपर्ने थियो। त्यसैले, सर्भल क्याटको फोटो खिच्न पाएँ। जंगलको छेउमा धेरैबेर घुमेर, कुरेर फोटो खिचेको हुँ।’’
तान्जानियामा चुङ्बा शेर्पाले खिचेको चितुवा
निकुञ्जमा धेरै पर्यटकहरू वन्यजन्तु हेर्न जाने रहेछन्। चुङ्बाभने फोटो खिचेर विश्वभरका मानिसलाई देखाउने लक्ष्यले गएका थिए। ‘‘मैले त्यहाँ चालकलाई हेर्न आएको होइन। फोटो खिच्न आएको हुँ। यसैले मलाई अलि नजिक नजिक लैजाऊ भने। चालकले नजिकै गाडी लगेपछि मैले करिब दशबाह्र मिटर जति परबाट धेरै जीव र पन्छीको फेटो खिच्न पाएँ।’’
खासमा उनी सर्भल क्याटकै फोटो खिच्छु भनेर त्यहाँ गएका थिएनन्। अफरोड यात्रामा एक्कासि यो दुर्लभ जीव भेटिएको बताए। त्यहाँ खिचेका सिंह, जेब्रा, जिराफलगायत थुप्रै जनावरमध्ये आफूलाई सबैभन्दा बढी मन परेको तस्वीर पनि सर्भल क्याटकै भएको चुङ्बा बताउँछन्। उनलाई सर्भल क्याटका बारेमा थाहा पनि थिएन। आफूले फोटो खिचेपछि निकुञ्जका अधिकारीहरूसँग त्यसबारेमा सोधे। तब उनलाई थाहा भयो लोपोन्मुख जीव भन्ने।
त्यो फोटो खिचेपछि धेरै ठाउँबाट राम्रो प्रतिक्रिया पाएको चुङ्बा बताउँछन्। लोपोन्मुख सर्भल क्याटको फोटो धेरैले खिच्न सकेका छैनन्। अहिलेसम्म खिचिएका मध्ये चुङ्बाकै फोटो उत्कृष्ट रहेको त्यहाँका निकुञ्जका अधिकारीले समेत प्रतिक्रिया दिए।
धेरै ठाउँबाट उनलाई राम्रो प्रतिक्रिया आइरहेको छ। प्रतिक्रियाबाट सन्तुष्टि मिलेको चुङ्बाले बल्ल आफू वाइडलाइफ फोटोग्राफर भएको महसुस गरेका छन्। ‘‘यो फोटो खिचेपछि मलाई धेरै देशबाट कमेन्ट आयो। धेरैले प्रशंसा गरे। बल्ल आफूले आफूलाई वाइडलाइफ फोटोग्राफर भएको महसुस गरेको छु’’ उनी भन्छन्।
तान्जानियामा चुङ्बा शेर्पाले खिचेकाे जिराफको फोटो
नेपालमा खिचिसकेका थिए हिउँचितुवाको फोटो
मुख्यतया (वाइडलाइफ) प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्दै आएका चुङ्बाले नेपालमै दुर्लभ मानिने धेरै जीवहरूलाई क्यामेरामा कैद गरिसकेका छन्। उनले यसअघि नेपालमै दुर्लभ मानिने हिउँचितुवा, याकलगायतको फोटो खिचेर चर्चामा आएका थिए। उनले बाघ, रेडपान्डा, याकलगायत धेरै जङ्गली जनावरको पनि फोटो खिचिसकेका छन्।
सगरमाथाको काख सोलुखुम्बुको खुम्बुमा जन्मिएका चुङ्बा ६२ वर्ष लागे। चुङ्बा अहिले रिटार्यड लाइफमा आफ्नो सानै देखिको फोटोग्राफर बन्ने सपनालाई पूरा गरिरहेका छन्। विभिन्न एयरलाइन्सको स्टेसन म्यानेजर भएर काम गरेका उनी अहिले पर्यटन व्यवसायी समेत हुन्। उनको लुक्लामा होटल छ।
चुङ्बा वाइल्डलाइफ फोटोग्राफी थालेको पाँच वर्ष मात्रै भयो। नेपाली वाइल्डलाइफ फोटोग्राफरको सूचीमा उनी अग्रपङ्क्तिमा छन्। उनले त्यसअघि तीन दशकभन्दा बढी समय पोट्रेट र ल्यान्डस्केप फोटोग्राफीमा बिताएका थिए। केही पछिल्लो पाँच वर्षयता मात्रै वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय छन्। उनले केही देशमा फोटो खिचिसकेका छन्। उनले विश्वका धेरै मिडियासँग पनि सहकार्य गरिसकेका छन्।
तान्जानियामा चुङ्बा शेर्पाले खिचेका पोथी सिंहहरू
लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको फोटो खिच्ने उनको शोख हो। हिउँचितुवा, बाघ, रातोपान्डा, चितुवा, हिउँचितुवा, रेडपान्डालगायत वन्यजन्तुको तस्वीर उनले कैद गरिसकेका छन्। कतिपय फोटोले उनलाई विश्वभर चिनाउँदै पनि छ।
नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उनलाई अनुमति दिएको छ।
चुङ्बाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा फोटो खिचेका छन्। उनले त्यहाँ ३३ पटक फोटो खिचेका हुन्। बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दश\दश पटक गएर फोटो खिचिसकेका छन्।
यस्तै कोशी टप्पु र सगरमाथा राष्ट्रिय निकुञ्जमा ७ पटक, बाँके राष्ट्रिय निकुञ्ज, लुम्बिनी र नवलपरासीमा पाँच\पाँच पटक गएर वन्यजन्तु तथा चरा चराचुरुङ्गीका फोटो खिचिसकेका छन्।
यस्तै, हेटौँडामा ४ पटक फोटो खिचेका चुङ्बाले लाङटाङमा १ पटक र अन्नपूर्ण संरक्षण क्षेत्र (मनाङ)मा २ पटक फोटो खिचिसकेका छन्।
हुम्लाको लिमी भ्यालीमा पनि एकपटक गएर जीवजन्तु र वातावरणको फोटो खिचेका छन्। कतिपल्ट त उनले वन्यजन्तुबाट भागेर ज्यान जोगाउनु पनि परेको छ। इलाम, ताप्लेजुङ, लाङटाङलगायत धेरै स्थानबाट फोटो खिच्नको लागि आउन निमन्त्रणा गर्नेहरू धेरै रहेको उनी सुनाउँछन्।
र यी सबैभन्दा महत्त्वपूर्ण कुरा उनले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ वाइल्ड याकको असाध्यै सुन्दर तस्वीर खिचेका छन्। यसअघि, नरेश कुसीको टिमले वाइल्ड याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो। वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्वीर नै अहिलेसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन्।
तान्जानियामा चुङ्बा शेर्पाले खिचेका जेब्रा (वनघोडा) को फोटो
Facebook Comment
Comment