संस्कार सिक्ने ठाउँ खोई ?

नेपालभ्युज

संस्कार सिक्ने ठाउँ खोई ?

काठमाडौं । हाम्रा सन्तानहरूलाई कस्तो शिक्षा दिइरहेका छौँ ? हामीले दिएको शिक्षाले आफूलाई कति व्यावहारिक सावित गर्न सफल भए ? बालबालिकाहरूलाई पहिले के सिकाउनुपर्ने थियो र आज हामी के सिकाउँदै छौँ यसमा गम्भीर समीक्षा गर्ने समय आएको छ ।

शिक्षा हाम्रो मस्तिस्कको आवश्यकता मात्र हो तर संस्कार हाम्रो जीवन कै आवश्यकता हो । आजभोलि शिक्षा मानिसको पेट भर्ने मात्र माध्ययम बनेको छ । हामीले हाम्रा सन्तानहरूलाई जीवन जिउने कला सिकाउन नै बिर्सिरहेका छौँ ।

हरेक अभिभावक बिहानदेखि बेलुकासम्म काममै दौडिरहेका हुन्छन् । छोराछोरीका लागि प्रयाप्त समय नदिँदा आजको पुस्ताले संस्कार पाउनै छाडेका छन् । उनीहरू केवल पढाइमा मात्र केन्द्रित  देखिन्छन् । आफ्ना सन्तानलाई कलिलो उमेरमा आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार आदिको बारेमा सिकाइनुपर्ने थियो, तर हामीले उनीहरूलाई गणित वा विज्ञानका सूत्रहरू र अंग्रेजीका शब्दहरू सिकाउन थाल्यौँ ।

बालबालिकाहरूलाई हाम्रो पारिवारिक मानसम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य मान्यताका बारेमा जानकारी नै गराएनौँ । जब उनीहरू वयस्क हुन पुगे त्यसबेला मात्र उनीहरूबाट उक्त कुराहरूको अपेक्षा गर्न थालिन्छ । जुन उनीहरूले सिकेकै हुँदैनन् । अझ भनौ हामीले सिकाउनै भ्याएनौँ ।

बाल्यकालमा जुनसुकै समुदायको पनि संस्कार सिक्ने समय हो । त्यस बेला बालमष्तिष्कमा परेको छाप मेटाउन धेरै गाह्रो पर्छ । आफ्ना अभिभावक, शिक्षक र साथीहरूबाट सिकेको कुरा सबैभन्दा विश्वसनीय हुने कुरा विभिन्न अनुसन्धानहरूको ठम्याइ छ । त्यसैले, स-साना बालबालिकाहरूलाई झुक्किएर पनि गलत कुरा सिकाउनु हुन्न ।

त्यसकारण शिक्षामा छुटेको, विद्यालयले छुटाएको र अभिभावकले नभ्याएको विषयबारे ज्ञान दिनु आजको आवश्यकता हो । परिवार , मातापिता र संस्कृतिलाई माया गर्नुपर्छ भनेर सिकाउन हामी चुकेका छौँ । पूर्वजहरूलाई सम्झनुपर्छ भन्ने कुरा पनि हामीले आफ्ना बालबालिकालाई सिकाउन बिर्सेका छौँ ।

हामीले हाम्रा सन्तानहरूलाई शारीरिक तन्दुरुस्ती, स्वस्थ्यकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति क्षेत्र प्रति सम्मान र सद्भावको विकास गर्न सिकाउनुका साथै दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका उपायहरूको खोजी गर्न पनि सिकाउनु जरुरी हुन्छ।

विश्व बजारमा विकास भएका उत्कृष्ट प्रविधिहरू हामीले ढिलोछिटो त प्राप्त गरेका छौं, यद्यपि निःशुल्क प्राप्त गर्न सकिने हाम्रो धरातलीय यथार्थरूपी कला,संस्कृति, सभ्यताबाट भने हामी टाढिएका छौं । जसले गर्दा हामी आधुनिक बन्ने नाममा हाम्रो पृष्ठभूमि नै बिर्सिंदै गएका छौं । अहिले हाम्रो स्वभाव बदलिँदो छ ।

हामी क्षणिक लाभमा लालायित बन्दै गएका छौं । अहिलेको पुस्ता र अघिल्लो पुस्ता बीचको दूरी सोच्नै नसकिने गरी बढेको छ । सामाजिकता नैतिकता, सदाचार, कर्मशीलता, कर्तव्यपरायणतालाई समेटेर वैज्ञानिक शिक्षा आजको आवश्यकता हो ।

संस्कारसहितको शिक्षा किन आवश्यक ?

संस्कारसहितको शिक्षा आजको समयको माग हो । पछिल्लो समय संस्कार र प्रविधि सहितको शिक्षालाई हामीले विशेष जोड दिनुपर्ने अवस्था छ । पछिल्ला २–३ दशकको छोटो अवधिलाई नै विचार गर्ने हो भने हाम्रा सफलताका मापदण्ड बदलिएका छन् । आर्थिक समृद्धि र प्राप्त गरेको डिग्रीलाई मात्र सफलताको मापन गर्ने माध्यम बनाइएको छ ।

हामीले बालबालिकाहरूलाई सधै धेरै नम्बर ल्याउने पढाइ पढाउन खोज्यौँ, तर व्यावहारिकता प्रति ध्यान दिन सकेनौँ । अहिले हाम्रो शिक्षा र जीवनशैली समानान्तर रूपमा एक अर्काका परिपूरकको रूपमा विकास गर्दै जाने शैक्षिक प्रणालीको अभावमा पढालेखेका छोराछोरीहरूले सामान्य काम पनि गर्न नजान्ने अवस्था छ । मानिसको सफलतामा संस्कारको भूमिका महत्त्वपूर्ण हुन्छ ।

संस्कार सिकाउन सुरुवात घरबाटै गरिनुपर्छ। एउटा परिवारका आमाबाबुले आफ्ना बच्चालाई सानैदेखि संस्कार सिकाउनु पर्दछ कि ठूलालाई आदर सम्मान र सानालाई माया, स्नेह गर्नुपर्दछ । अरूको दुखमा पनि साथ सहयोग गर्नु पर्दछ। कसैलाई अपहेलना गर्नु हुँदैन। उनीहरूलाई सानैदेखि कर्तव्य बोध गर्न सिकाउनुपर्दछ न कि सानो छ गर्न सक्दैन भनेर पछाडि हट्नु हुँदैन ।

विद्यालय बाट असल आचरण, नि:स्वार्थीपन र नैतिक ज्ञान दिनुपर्छ। जस्तो कि आफ्ना साथी, गुरुवर्ग, अभिभावकहरूको सम्मान गर्नुपर्छ। आफूले जानेका कुरा सबैलाई सिकाउनुपर्छ। नि:स्वार्थ भएर काम गर्नुपर्छ, लोभ, लालच राख्नु हुँदैन । हरेक कुरामा सहभागी गराएर व्यवहारलाई बुझ्ने मौका दिनुपर्छ। जसले गर्दा बालकमा व्यावहारिकपन झल्किन्छ र सु–संस्कार पनि ।

संस्कार भनेको जीवन जिउने कला हो । यदि, बालबालिकाले सहि संस्कार पाए भने उनीहरूले जीवनका हरेक समस्या चुनौतीहरूको सामना गर्न सक्छन् । अरुको कामबाट पनि खुसी हुन सक्छन् भने अरूलाई पनि खुसी बनाउन सक्छन् । मानिसलाई बाँच्न जसरी अक्सिजनको आवश्यकता पर्छ । त्यसैगरी, अबको युगमा खुसी भएर बाच्ने हो भने सही संस्कारसहितको शिक्षा आवश्यक छ ।

संस्कारको भौतिक वस्तुहरू जसरी मापन गर्न त मिल्दैन, तर मानिसको व्यवहारले यसको चित्रण गर्छ । विनम्रता, कसैले दबाब नदिई, कसैले साशन नचलाइकन, कसैले आदेश नदिइकन असल गुणहरूको अभ्यास गर्नु नै संस्कारको पहिलो गुण हो । संस्कारी व्यक्ति अनुशासित, नैतिकवान्, सदाचारी सभ्य, शिष्ट हुन्छ । सदगुणहरूको माला लाउनु नै संस्कारी हो ।

त्यसकारण मानिसको आचरण व्यवहार कस्तो छ ? अरुका अगाडि उ कस्तो देखिन्छ ? उसको व्यक्तित्वका विशेषताहरू के हुन् ? यसलाई आधार मानेर हेर्ने हो । तर, हामीले मूलमा भूल गर्दा हाम्रो संस्कार पुस्तान्त्रण हुन नसकेको देखिन्छ । हामी ऋषिमुनिहरूका सन्तान हौँ । ऋषिमुनिहरू अनुसन्धान गर्नेहरू हुन् । मानवीय सदगुणमा, मानवीय खुसीमा , मानवीय चरित्रमा मानको चेतना विज्ञानमा अनुसन्धान गर्ने ऋषिमुनिका सन्तान हौँ ।

उनीहरूले हामीलाई संस्कार दिए तर उनीहरूले दिएका संस्कार आजका दिनसम्म आइपुग्दा हामीले छाड्यौँ । अनि हामीले पश्चिमा आयातित र डेट एक्सपाएर संस्कारहरूमा बढी रमाउन थाल्यौँ । हाम्रा उत्सव तिहार पर्वका सट्टा आयातित पाश्चात्यमा बढी रमाउन थाल्यौँ र आज संस्कार हराउँदै जान थालेको छ ।

हाम्रा सन्ततिलाई जे संस्कार सिकाउँछौँ जस्तो कि विद्यारम्भ संस्कारमा हामी बढी कर्मकाण्डमा केन्द्रित भयौँ । मर्ममा जान सकेनौँ त्यसको विधिमा गएनौँ त्यसको शिक्षण के हो त्यसमा गएनौँ । मूल परम्परा नै हामीले छोडिदियौँ, मूलमा भुल गरेजस्तो भयो । योग,ध्यान, आयुर्वेद, संस्कारका उपज हुन् ।

सामाजिकता, सामुदायिकता, वसुदेवः कुटुम्ब पनि संस्कारका कुराहरू थिए । तर, पछिल्ला दिनसम्म आउँदा यो सबै बिर्संदै गएको देखिन्छ । त्यसकारण हामीले फेरि यसलाई पुनः स्थापित गर्नुपर्ने छ । धेरै पश्चिमाहरू पनि अहिले पूर्वीय संस्कृतिलाई हेर्दै छन् । योग ध्यान वास्तु, आयुर्वेद, जीवनशैली, जीवनचर्या, सबै उनीहरूले अपनाउन थालेका छन् ।

हामीले आफूभित्र रहेको कस्तुरीलाई नै चिन्न सकेका छैनौँ । उनीहरू यसमा भएको ज्ञानलाई विज्ञानमा परिणत गरेर प्रमाणित गरेपछि अंगाल्न थाले । हामीले आफ्नो बिर्सदै अर्काको अँगाल्यौँ, उनीहरूले के वैज्ञानिक त्यो अंगाले । वैज्ञानिक विश्वभर नै हाम्रो संस्कार र संस्कृति, परम्परा वैज्ञानिक निस्किए त्यसकारण उनीहरूले लगे । अब यसमा ढिलाइ गर्नु हुँदैन । हामीले हाम्रो गुमेको विद्यालाई फिर्ता ल्याउनुपर्छ ।

अभिभावकहरू कमाउन, जुटाउन र घर बनाउन नै निकै व्यस्त हुनुहुन्छ । विद्यालय कोर्स रटाउन व्यस्त छ । समाज नकारात्मतातिर उन्मुख छ । यस्तो अवस्थामा बालबालिकाले असल संस्कार सिक्ने ठाउँ नै पाएनन् । यो एक प्रकारको सामाजिक क्यान्सर हो । यसलाई विस्तारै चिर्दै चिर्दै यसको उपचार गर्नुपर्छ । नभए यसले झनै ठूलो रूप नलेला भन्न सकिँदैन ।

संस्कारको अभावमा मानिसहरू मनोरोगी बनेका छन् । परिवारहरू विखण्डित बनेका छन् । समाजमा सदाचार नैतिकता हराएर अनैतिकको रजाइ बढेको छ । अब पनि सोचेनौं भने समाज के होला कल्पना पनि गर्न सकिँदैन । हरेक व्यत्तिले आफ्नो भूमिका निभाएमा मात्र पनि केही हदसम्म संस्कार स्थापित हुन सक्छ ।

चालक बन्नलाई अनुमति पत्र चाइने छोराछोरी जन्माउन र हुर्काउनचाँहि सिक्नुपर्दैन ? विनातयारी विनातालिम छोराछोरी जन्माएपछि संस्कार दिन भुलेका हुन्छौँ । त्यसकारण हरेक बाबुआमा सुयोग्य बन्न जरुरी छ । हरेक शिक्षालयमा नौतिक शिक्षा अनिर्वाय गर्नुपर्छ, अनि मात्र समाज सभ्य बन्छ । कुल र मूल बिर्सियौँ भने त्यसको परिणाम नकारात्मक हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved