गंगा कार्की भन्छन्- दोलखाली जनताको लगानी खेर जाने दिने छैन

यो प्रतिस्पर्धा सहकार्यमा परिणत हुनुपर्छ भन्ने मेरो मत छ । अब दोलखाको लागि, दोलखाली जनताका लागि सबै मिलेर अगाडि जानुपर्छ

नेपालभ्युज

गंगा कार्की भन्छन्- दोलखाली जनताको लगानी खेर जाने दिने छैन

काठमाडौं । गंगा कार्की ‘विश्व’ १० वर्षे सशस्त्र युद्ध लडेका नेता हुन् । विस्तृत शान्ति सम्झौतापछि उनी खासरूपमा प्रमुख जिम्मेवारीमा देखिएनन् । उनका सहयोद्दा पटक-पटक सांसद, मन्त्री बन्दैगर्दा उनी ‘फ्रन्टलाइन’ मा देखिएनन् ।

पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्की अहिले पार्टीको पोलिटब्यूरो सदस्य तथा उद्योग व्यापार विभाग इन्चार्जसमेत हुन् । यसबीचमा राजकीय जिम्मेवारीमा भने उनी रहेनन् । दोलखाबाट चुनाव जितेर उनी पहिलो पटक संसद्मा छिर्दैछन् ।

दोलखामा माओवादीका सबैभन्दा अग्रमोर्चाका नेता भएपनि उनलाई सांसद भने लामो समय लाग्यो । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा उम्मेदवार बन्नबाट वञ्चित भएका उनले ०७४ सालमा पनि चुनाव लड्न पाएनन् । पार्टीले टिकट दिएपनि त्यसबेला वाम गठबन्धन बनेका कारण दोलखाबाट एमाले नेता पार्वत गुरुङ उठे ।

निर्वाचित बनिसकेपछि भावुक बनेका कार्कीले आफूले जनता र व्यवस्थाबाहेक अरु सोच्नै नसक्ने प्रतिक्रिया दिएका छन् । दोलखाबाट चुनाव जितेपछि कार्कीले दिएको संक्षिप्त प्रतिक्रिया :

यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्यो । वर्ल्डकप पनि भइरहेको, झन्डै-झन्डै त्यस्तै बन्यो, कहिले को अगाडि, कहिले को अगाडि । जे होस् अन्त्यमा निर्वाचित भएँ, यहाँका जनताले मलाई विश्वास गरेर निर्वाचित गराइदिनुभयो । खुसी लागेको छ ।

तर अब यो प्रतिस्पर्धा सहकार्यमा परिणत हुनुपर्छ भन्ने मेरो मत छ । अब दोलखाको लागि, दोलखाली जनताका लागि सबै मिलेर अगाडि जानुपर्छ भन्ने मेरो भनाइ छ । निर्वाचित भएसँगै जिम्मेवारी पनि बढेको महसुस भएको छ । यो जनताको जित हो, दोलखाली जनताको जित हो । खुसी लागेको छ ।

निश्चय नै, अब मैले दोलखाली जनताको प्रतिनिधित्व संसद्‌मा गर्नेछु । त्यसक्रममा मलाई मत दिने/नदिने सबै जनताकाे विश्वासपात्र बनेर काम गर्छु । दोलखाली जनताहरूको हक, हित र अधिकारका लागि म लडि नै रहनेछु । दोलखाली जनताको पक्षमा लड्दा मेरो भागमा मृत्यु नै परेपनि त्यो स्वीकार्य छ ।

मैले दोलखाली जनताहरूको यो ऋण तिर्नेछु, उहाँहरूको लगानी खेर जान दिने छैन । मेरो बलबुताले भ्याएसम्म  उनीहरूको पक्षमा लडिरहनेछु ।

सँगै शहीदहरूको, बेपत्ता योद्धाहरूको अनि सिङ्गो नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved