रवि लामिछानेको ‘सांसद’ पदमा खतराको घण्टी, आरोप पुष्टि भए पद खारेज हुने

रविको नागरिकताको कानुनी हैसियत नभएको पुष्टि भएमा उनले नागरिकता प्रयोग गरेर लिएका सबै कानुनी हैसियत रद्द हुनेछ। सांसद पद खारेज हुनेछ। मतदाता नामावली समेत खारेज हुन्छ। यति मात्र होइन अवैध नागरिकता प्रयोग गरेर दुरुपयोग गरेको आरोपमा जरिवानादेखि जेल सजायसम्म हुन सक्नेछ।

नेपालभ्युज

रवि लामिछानेको ‘सांसद’ पदमा खतराको घण्टी, आरोप पुष्टि भए पद खारेज हुने

काठमाडौं। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको अनुसन्धान गरिरहेको प्रहरीले सरकारी वकिलको राय लिने तयारी गरेको छ।

गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर पुगेको उक्त उजुरीमाथि महान्यायाधिवक्ता कार्यालयसँग सुझाव लिन लागेको हो।

साथै, अरू विभिन्न निकायको समेत परामर्श लिने तयारी रहेको जनाइएको छ। रविले नेपाली नागरिकको रूपमा कानुनी हक उपभोग गर्न प्रयोग गरेको नागरिकता उनी अमेरिकी नागरिक भएको पुष्टि भएलगत्तै खारेज भएको खुलिसकेको छ।

तर, खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै परेको उजुरीमाथि छानबिन सुरु भएको हो।

अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि विभिन्न निकायको सुझाव लिने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

उनले भने, ‘‘अनुसन्धानका क्रममा विभिन्न निकायमा यसबारे पत्राचार गर्छौं। सरकारी वकिलको पनि राय परामर्श लिने तयारी छ। त्यसपछि थप प्रक्रिया अघि बढ्छ।’’

नागरिकता ऐन २०६३ सँग सम्बन्धित रहेको सो उजुरीमा सरकारी वकिलको कार्यालयले प्रहरीलाई राय दिने महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए।

ती अधिकारीले नेपाल भ्युजसँग भने, ‘‘काठमाडौं प्रशासनबाट लिएको नागरिकता, विदेशी नागरिकता प्राप्त गर्नुअघि परित्यागका लागि दिएको निवेदन, त्यसपछि पुनः विदेशी नागरिकता त्याग गर्न अपनाएको प्रक्रिया र त्यसपछिको समग्र अवस्थाबारे अनुसन्धान हुन्छ। सोही आधारमा मुद्दा अघि बढाउन सुझाव दिन्छौँ।’’

युवराज सफलले गृह मन्त्रालयमा दिएको उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः लिएको नदेखिएको उल्लेख छ।

विदेशी नागरिकता दिएपछि स्वतः खारेज भइसकेको पुरानै नेपालको नागरिकता उनले प्रचलन गरिरहेको आरोप छ।

यसअघि, रविले रद्द भइसकेको नागरिकता प्रयोग गरेर चितवन–२ मा उम्मेदवारी दिएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो।

राजकुमार पाण्डे नाम गरेका व्यक्तिले उजुरी दर्ता गराएका थिए। नागरिकताको थप विषय अनुसन्धानको क्षेत्राधिकार गृह मन्त्रालयको भएकाले बाँकी अनुसन्धान गृहले थालेको हो।

चुनाव सकिएको पर्सिपल्ट मङ्सिर ६ गते गृह मन्त्रालयमा पनि उजुरी परेको थियो। गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसरसम्म उक्त मुद्दा पुगेको छ।

उजुरीबारे रविले ‘म चक्रब्यूहमा परिसकेको छु’ भन्दै आएका छन्।

सर्वोच्च अदालतमा रिटको तयारी

रविविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका युवाराज सफलले यस विषयमा सर्वोच्चमा छिट्टै रिट दर्ता गर्ने तयारी रहेको बताउँछन्।

उनले नेपाल भ्युजसँग भने, ‘‘उहाँले प्रयोग गरेर दल दतौ गरेको, उम्मेदवार दिएको नागरिकताको कानुनी हैसियत छैन। यस कारण मतदाता नामावली समेत अवैध हो। यसकारण केही दिनमै सर्वोच्च अदालतमा उजुरी दिने तयारी गरेको छु।’’

 नागरिकता खारेज हुने व्यवस्था

यदि उजुरीमा दाबी गरिएजस्तै रविको नागरिकताको कानुनी हैसियत नभएको पुष्टि भएमा उनले नागरिकता प्रयोग गरेर लिएका सबै कानुनी हैसियत रद्द हुने कानुनका जानकारहरू बताउँछन्।

त्यसअन्तर्गत उनले जितेका सांसद पद खारेज हुनेछ। मतदाता नामावलीसमेत खारेज हुन्छ।

यति मात्र होइन अवैध नागरिकता प्रयोग गरेर दुरुपयोग गरेको आरोपमा जरिवानादेखि जेल सजायसम्म हुने कानुन व्यवसायीहरू बताउँछन्।

खारेज भएको नागरिकता पुन: प्राप्तिसम्बन्धी व्यवस्था

चार वर्षअघि रविले अमेरिकी नागरिकको हैसियत त्याग्न निवेदन दिएको प्रमाणसहित अध्यागमन विभागमा निवेदन दिएका थिए। त्यसपछि सम्बन्धित प्रशासन कार्यालयमा निवेदन नदिएको रविले स्विकारेका छन्।

खारेज भएकै नागरिकता प्रयोग गरेको उनले निर्वाचन कार्यालयमा पठाएको पत्रमा समेत देखिएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार रविले प्रयोग गरेको नागरिकता नम्बर …२२२ खारेज छ।

के हो रविको नागरिकता विवाद ?

प्रचलित नागरिकता ऐन २०७३ अनुसार विदेशी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता प्राप्तिका लागि पहिले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ।

तर, उनले अमेरिकी नागरिकता त्यागेपछि त्यस्तो निवेदन प्रशासनमा नदिएको गृह मन्त्रालय स्रोत बताउँछ।

रविले सन् २०१४ (विसं २०७१)मा अमेरिकी नागरिकता लिएको र सन् २०१८ (विसं २०७५) मा अमेरिकी नागरिकता त्यागेको बताएका छन्।

तर, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउन कानुनी प्रक्रिया अपनाएनन्। पुरानै नागरिकता प्रयोग गरे।

यसैले उनी नेपाली नागरिक भई नसकेको तथा खारेज भइसकेको नागरिकता प्रयोग गरेर किर्ते गरेको भन्दै उजुरी परेको हो।

किर्ते नागरिकता प्रयोग गरेमा हुने सजाय

पुरानै नागरिकताका आधारमा लामिछानेले आफू अध्यक्ष रहेर निर्वाचन आयोगमा रास्वपा दल दर्ता गर्नेदेखि प्रतिनिधि सभामा चितवन–२ बाट मा विजयी भइसकेका छन्।

नागरिकता विवाद सतहमा आएपछि रविले आफूले २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको बताएका थिए।

अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा नगएको उनले स्विकारेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved