खतिवडाको हारपछि ए. समाजवादीको समीक्षा : पराजित हुनुको मुख्य कारण नयाँ पार्टीको उदय

खतिवडाको हारपछि ए. समाजवादीको समीक्षा :  पराजित हुनुको मुख्य कारण नयाँ पार्टीको उदय

हेटौंडा । नेकपा एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका विरोध खतिवडा प्रतिनिधिसभा मकवानपुर-२ मा पराजित भए । २०४८ देखि भएको ४ वटा निर्वाचनमा विजयको स्वाद चाख्दै आएका खतिवडा ३१ वर्षपछि पहिलोपटक पराजित हुनुपर्‍यो ।

लामो समय एमालेमा रहेका खतिवडालाई एमाले छाडेर एस रोज्दा पराजय मिल्यो । सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका भए पनि उनलाई नेकपा एमालेका महेश कुमार बर्तौलाले पराजित गरे ।

पराजय पछि नेकपा एसको हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले हारको कारण बारे समीक्षा गरेको छ । पार्टीका शीर्ष नेताहरूले कमजोर संगठन, अरूको गठजोड, आर्थिक अभाव तथा नयाँ शक्तिहरूको बलियो उपस्थितिका कारण मकवानपुरमा हार व्यहोर्नुपरेको बताएका हुन् ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश इञ्चार्ज एवं उपाध्यक्ष केदार न्यौपानेले निर्वाचन परिणाममा झिनो मतले हारजित भए पनि संगठन बलियो पारेर अघि बढ्न सके मकवानपुरमा समाजवादी पार्टी बलियो हुने बताए ।

यस्तै, स्थायी कमिटी सदस्य ललित बस्नेतले कम जनशक्ति भएको पार्टीले गठबन्धनको जोडमा चुनावमा होमिँदा यस्ता अप्ठ्यारा परिस्थिति आइलाग्ने भएकाले शिक्षाका रूपमा लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

त्यस्तै, विरोध खतिवडाले प्राविधिक रूपमा निर्वाचनमा पराजय हुनुमा अरूको गठजोडको आन्तरिक समस्या भए पनि नेता कार्यकर्तालाई निराश नभई पार्टी काममा लाग्न र सक्रिय रहन आग्रह गर्दै आफू पनि मकवानपुरे जनतासँग निरन्तर सम्पर्कमा रहेर पार्टी काममा लागिरहने बताएका हुन् ।

खतिवडाको पराजयपश्चात् पार्टीको मकवानपुर नेतृत्व हेरफेरसमेत गर्ने तयारी रहेको सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए । स्थानीय तह निर्वाचन अघि नै पार्टीका तत्कालील अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेपछि केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पार्टी अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved