हिमालको राजदूत हिउँचितुवा- के सगरमाथा क्षेत्रमा हिउँचितुवा नै छैन ?
अमेरिकी फोटोग्राफरको फोटोले हिउँचितुवाको चर्चा विश्वभर चुलियो। पछि सो फोटो फेक भन्ने पुष्टि भएपछि कतिपयले विषेशगरी सगरमाथा क्षेत्रमा हिउँचितुवा नै नभएको भन्ने जसरी प्रचार गरिरहेका छन्। के खुम्बु क्षेत्रमा हिउँचितुवा नै छैनन्? छन् भने कस्तो अवस्थामा छन्? कसैले पनि उसको फोटो खिच्न सक्दैन त ?
नेपाल भ्युज
काठमाडौं। उपल्लो मुस्ताङतिर एउटा भनाइ छ, ‘देवी–देवतालाई राम्ररी पुज्नू, नत्र हिउँचितुवाले सताउँछ।’ ‘‘केही वर्ष पहिले एउटा गाउँमा देउतै रिसाएछन् क्यारे, हिउँचितुवाले मेरो एउटा च्याङ्ग्रा मारेर खायो’’ २९ वर्षे च्याङ्ग्रा गोठाला पिट्रु सुनाउँछन्।
उपल्लो मुस्ताङ अर्थात् ‘लो’ मा मध्यकालको संस्कृति अहिलेसम्म पनि विद्यमान छ। जुन मुख्यतया तिब्बती बौद्धधर्म, त्यसमा पनि शाक्यपा सम्प्रदायमा आधारित छ। वर्षायामको समय थियो। एक दिन, दिउँसो तीन बजेतिर पिट्रु स्यार लेकमा करिब दुईसयवटा च्याङ्ग्रा चराउँदै थिए।
उनलाई साथी गोठालो भोटे कुकुर पनि थियो। उनलाई भेट्न भान्जी त्यहीँ आएकी थिइन्। खसी बाख्रा भान्जीको जिम्मा लगाउँदै उनी केही पर रहेको गोठमा च्याङ्ग्राको पाठो लिन जाँदै थिए। केही पर गोठालो कुकुर ‘ङ्यार–ङ्यार’ गरिरहेको देखे। ‘कुकुर किन रिसाएको रहेछ’ भन्ने लागेर पिट्रु टक्क अडिएर हेरे।
अलि तल एउटा ढुंगामाथि बिरालो जस्तै देखिने तर कुकुरभन्दा अलि ठूलो जनावर देखे। ‘चेप्टो पेट भएको त्यो जन्तु खरानी रङ्गको थियो। त्यो जीव कुकुरलाई झम्टन खोज्दै थियो’ पिट्रु भन्छन्।
पहिले कहिल्यै नदेखेको जन्तु देख्दा पिट्रु एकछिन त अलमल्ल परे। अनि, बाबु बाजे र गाउँलेहरूको मुखबाट सुनेको कुराको आधारमा उनले ठम्याए – यो पक्कै पनि ‘साउ’ अर्थात् हिउँचितुवा हो। देवीदेवता खुसी भएनन् भने हिउँचितुवा आएर क्षति गर्छ।
पिट्रुले घोत्लिएर हिउँचितुवालाई हेरे। ऊ उभिएको डुङ्गामुनिबाट रगत बगिरहेको थियो। तल एउटा च्याङ्ग्रा ढलेको देखे। पिट्रुलाई थाहा भयो हिउँचितुवाले एउटा च्याङ्ग्रा मारिसकेछ। उनलाई यति रिस उठ्यो कि र एउटा ढुङ्गा उठाएर हिउँचितुवातिर हानी हाले। हिउँचितुवा ढुंगाबाट बुर्लुक्क उफ्रेर नजिकैको खोल्सातिर पस्यो।
४ कक्षासम्म लामा शिक्षा पढेका पिट्रुको पेसा गोठालो हो। उनी गोठमै बस्छन्। पाँचसय मिटरभन्दा माथिको लेकमा च्याङ्ग्रा चराउँछन्। कठ्याङ्ग्रिँदो चिसोमा हिमाली भेगमा च्याङ्ग्रा हुर्काउन गोठालाहरूले कम्ता दुःख खेप्दैनन्। त्यसमा पनि कहिलेकाही हिउँचितुवा आएर आएर खाइदिन्छ। तर, गोठालाहरू हिउँचितुवालाई दुःख दिँदैनन्। कारण हो, ‘हिउँचितुवालाई नोक्सान पुर्यायो भने झन् धेरै च्याङ्ग्रा मार्छ’ भन्ने विश्वास।
स्थानीय भन्छन् ‘‘परम्परागत विश्वासका कारण हामी हिउँचितुवामाथि कहिल्यै रिस पोख्दैनौ। उसले एउटा च्याङ्ग्रा मार्यो भनेर उसलाई नोक्सान पुर्याएमा झन् धेरै च्याङ्ग्रा मार्छ भन्ने विश्वास छ। हिउँचितुवा नरिसाओस्, च्याङ्ग्रा नखाओस् भनेर हामी देवीको पूजा गछौँ।’’
खासगरी हिउँदमा, जब जङ्गली आहारा उपलब्ध हुँदैन, सङ्कटापन्न हिउँचितुवाले त्यस क्षेत्रमा रहेका घरपालुवा जनावरमाथि आक्रमण गर्न आउँछन्। भेडा, च्याङ्ग्रालाई आफ्नो आहारा बनाउँछन्। तर, गाउँले तथा गोठालाहरूले हिउँचितुवाविरुद्ध खासै प्रतिकार गर्दैन।
कितिया पावोलोब्स्की नाम दिइएको अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा फोटो खिचेको भन्ने चर्चासँग विश्वभर नेपालको हिउँचितुवाको पनि चर्चा भयो। पछि फोटो नक्कली भएको पुष्टि भयो। आरोहणसम्बन्धी फ्रान्सको प्रसिद्ध पत्रिका एल्पाइन म्यागेजिनले आफ्नो बेवसाइटमा फोटोको वास्तविकताबारे चिरफार गरेको छ। साथै, आफ्नो शोध जारी रहने जनाएको छ। यी पछिल्ला घटनाक्रमले नेपालमा हिउँचितुवा के कति छ? कहाँ बस्छन्? लगायतका जिज्ञासा आम मानिसमा छ।
मानिसहरूको नजरमा कमै पर्ने वन्यजन्तुहरूमध्ये एक हो हिउँचितुवा। जसको वासस्थान हिमाली पठार हो। उत्तरी नेपालका हिमाली चुचुराहरू र तिनका कहालीलाग्दा होचा अग्ला भीरहरूमा पुगनपुग पाँच सय हिउँचितुवाहरू हुनसक्ने अनुमान ‘स्नो लेपर्ड कन्जरभेन्सी तथा राष्ट्रिय संरक्षण कोष’ को छ।
‘‘जहिलेदेखि हिमाली क्षेत्रमा मानिसहरू बस्न थाले, प्रकृतिले उनीहरूलाई बाँच्न सिकायो। प्रकृतिलाई जित्न हैन उसँग सम्झौता गर्न सिकायो। हिउँचितुवा पनि प्रकृतिको एउटा पाटो भएकाले स्थानीयले हिउँचितुवासँग पनि सम्झौता गर्न सिकेका छन्,’ स्थानीय भन्छन्।
‘स्नो लेपर्ड कन्जरभेन्सी तथा राष्ट्रिय संरक्षण कोष’ का अनुसार सन् १९९२ मा मुस्ताङमा एउटा हिउँचितुवा मारिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) आएपछि यस्तो घटना दोहोरिएको छैन।
अलिअघि घरपालुवा जनावर मारेको भन्दै मानिसहरूले हिउँचितुवालाई विष हालेर मार्ने गरे पनि अहिले चेतनाका कारण संरक्षण गरिरहेको विज्ञहरू बताउँछन्।
नेपालमा हिउँ चितुवाको संरक्षण पुस्तकका सह-लेखक प्राणीशास्त्री प्राध्यापक करणबहादुर शाह भन्छन्, ‘‘२५ वर्षअघि यस क्षेत्रमा काम थाल्दाको समयमा हिउँचितुवाप्रति मानिसहरूको धारणा नकारात्मक थियो। अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ। संरक्षणको चेतना तल्लो तहसम्म पुगेको पाइएको छ।’’
नेपालको हिमाली क्षेत्रमा पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रसम्म फैलिएका १२ वटा संरक्षित क्षेत्रहरूमा हिउँचितुवाको वासस्थानहरू रहेको विज्ञहरू बताउँछन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्त बाघ र गैँडाजस्तो हिउँ चितुवाको एक–एक गणना गर्न सम्भव नभएको बताउँछन्। विभिन्न तथ्यांक र अवस्थाको आधारमा चितुवाको सङ्ख्या अनुमान गरिएको उनको भनाइ छ। डा पन्तले नेपालभ्युजसँग भने, ‘‘ती संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ।’’
डा .गणेश पन्त, सूचना अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको फोटो चर्चित भइरहँदा नेपालका वन्यजन्तु फोटोग्राफरहरूको पनि चर्चा चुलिएको थियो। विशेषगरी सगरमाथा क्षेत्रको हिउँचितुवाको बढी चर्चा भयो।
पछि सो फोटो फेक भन्ने पुष्टि भएपछि कतिपयले सगरमाथा क्षेत्रमा हिउँचितुवा नै नभएको भन्ने जसरी प्रचार गरिरहेका छन्। के खुम्बु क्षेत्रमा हिउँचितुवा नै छैनन्? छन् भने कस्तो अवस्थामा छन्? कसैले पनि उसको फोटो खिच्न सक्दैन त ? भन्ने चासो पनि हुन सक्छन्।
सगरमाथा राष्ट्रिय निकुञ्जले सन् २०१० मा गरेको अध्ययनमा सगरमाथा क्षेत्रमा पनि चार वटा हिउँ चितुवा रहेको यकिन भएको थियो।
अहिले त्यो सङ्ख्या बढेको अनुमान रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. पन्त बताउँछन्।