हिमालय एअरलाइन्सले भोलिदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

नेपालभ्युज

हिमालय एअरलाइन्सले भोलिदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

काठमाडौं। हिमालय एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ।  नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्ध विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

प्राधिकरणले आइतबारदेखि लागू भएको हिउँदे उडान तालिकाअनुसार काठमाडौँमा हुँदै आएका तीन उडानको एक उडान भैरहवामा सारेपछि हिमालयले १७ गते बिहीबारदेखि गौतम बुद्ध विमानस्थलमा चार्टर उडानबाट हवाई सेवा सुरु गर्न लागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नियमित उडान सुरु गर्नुअघि एयर सर्भिस एग्रिमेन्ट नवीकरण गर्न समय लाग्ने भएपछि हिमालयले भैरहवाबाट चार्टर उडान सुरु गर्न लागेको बताए।

उनले भने, “हिमालय एयरलाइन्स भैरहवाबाट कात्तिक १७ देखि २४ गतेसम्म दैनिक एक यात्रुवाहक चार्टर उडान गर्न मागेको अनुमति प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल वायुसेवा निगमले पनि हिउँदे उडान तालिकाअनुसार नयाँ तालिका सार्वजनिक गर्न सहमति जनाइसकेको छ।”

हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर उडान सुरु गर्न लागेको हो । प्राधिकरणले हिमालयको लागि काठमाडौँबाट क्वालालम्पुर गएर भैरहवा फर्किने र भैरहवाबाट क्वालालम्पुर गएर काठमाडौँ फर्किने गरी तीनवटा विमानस्थललाई जोड्ने गरी उडान तालिका स्वीकृत गरेको उनको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका निगम र हिमालयलाई गौतम बुद्ध विमानस्थलबाट उडान गर्न प्राधिकरणले यसअघि नै लिखित निर्देशन दिएको थियो।

यसअघि हिमालयले गौतम बुद्व विमानस्थलमा उडान थाल्न व्यावसायिक भूमिस्थ प्रबन्ध सेवा (कमर्सियल ग्राउन्ड ह्यान्डलिङ)को जिम्मा दिनुपर्ने सर्त राख्दै आएको थियो। हाललाई चार्टर उडानको ग्राउन्ड ह्यान्डलिङ भने निगमले नै गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved