नवलपरासी बस दुर्घटना अपडेट : मृतक पाँच जनामध्ये एकै घरका तीन (घाइतेको नामसहित)

नेपालभ्युज

नवलपरासी बस दुर्घटना अपडेट : मृतक पाँच जनामध्ये एकै घरका तीन (घाइतेको नामसहित)

काठमाडौं। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस नवलपरासीमा दुर्घटना हुँदा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ।

पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौंकी बुलिङटारका प्रहरी सहायक निरीक्षक विक्रम कुमालका अनुसार मृत्यु हुनेमा स्याङ्जा गल्याङ नगरपालिका-९ की ४५  वर्षीया सरिता माझी, पाल्पा रम्भा गाउँपालिका-१ बस्ने  वर्ष ४० की देवी गाहा, सोही ठाउँ बस्ने ६५ धनकुमारी विक, उनको छोरा वर्ष ४० को तारा बहादुर विक र नाती वर्ष १६ को विनय विक छन्।

आज बिहान ४ बजे भएको दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। चालकसमेत घाइते भएकाले दुर्घटनाको कारण खुल्न नसकेको कुमालले बताए। उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

उनीहरूलाई उपचारका लागि भरतपुर मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। बुलिङटार गाउँपालिका-२ मथारमा उक्त दुर्घटना भएको हो।

रम्भा १ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट मनकामना दर्शनका लागि आउँदै गरेको बस दुर्घटनामा परेको बुझिएको छ। बस सडकबाट झण्डै सय मिटर तल खसेको छ।

घाइते हुनेमा रम्भा गाउँपालिका-१ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम विक, २१ वर्षीया रिता विक, २५ वर्षीय कासीराम विक, १ वर्षीया आइसा विक, १६ वर्षीय अविनास विक, १७ वर्षीय विशाल विक, ७ वर्षीया पुष्पा विक रहेका छन्।

यस्तै ४७ वर्षीय मेघनाथ विक, स्याङ्जा गल्याङ-९ का २५ वर्षीय दिल माया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भीम अस्पतालमा कार्यरत ३२ वर्षीय सुमित्रा विक, रम्भा-१ भाले ढुङ्गाका १५ वर्षीया रिमा विक, रम्भा-१ की ३२ वर्षीया सनु सुनार, रम्भा-१ का ३८ वर्षीय प्रेम बहादुर सुनार छन्।

यस्तै घाइते हुनेमा २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय विक, ३६ वर्षीया मायाँ विक, स्याङ्जा गल्याङ-८ का ३५ वर्षीय मनोज कुमार विक, सोही स्थानका ३० वर्षीया उमा कुमारी विक, गल्याङ-९ की ३० वर्षीय सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा-१ की १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीया सेती विक र ४८ वर्षीया शिव कुमारी विक रहेका छन्। प्रहरीका अनुसार चालक रामपुर ३ का दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved