भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री हुने लगभग निश्चित

राजनीतिक घटनाक्रमले कुनै नाटकीय मोड नलिएमा सोमबार सुनक कन्जर्भेटिभ नेता बन्नेछन् र मंगलबार उनले बेलायती प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । आफ्नो पक्षमा १०० सांसदको समर्थन जुटाउन नसकेपछि आइतबार बोरिस जोनसनले  यो दौडबाट बाहिरिएको घोषणा गरेका थिए ।

नेपालभ्युज

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री हुने लगभग निश्चित

नेपाल भ्यूज । भारतीय मूलमा ४२ बर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री हुने लगभग निश्चितजस्तो देखिएको छ। सुनक सन् १९६० मा बेलायत बसाइँ सरेको एक भारतीय दम्पतिका सन्तान हुन् ।

प्रधानमन्त्री लिज ट्रसले कार्यकाल सम्हालेको ४४ दिनमै राजिनामा दिएपछि ऋषि सुनकका लागि यो अवसर आएको हो । गत सेप्टेम्बरमा घोषणा भएको कन्जर्भेटिभ पार्टी नेताको चुनावमा सुनक लिज ट्रससंग पराजित भएका थिए ।
खजमजिएको अर्थतन्त्रलाई सही मार्गमा ल्याउन असफल भएपछि ट्रसले राजिनामा गरिन। त्यसपछि कन्जर्भेटिभ पार्टीले नयाँ नेता छनोटको प्रक्रिया सुरुवात गरेको थियो ।

यसपटक गत जुलाईमा जस्तो पूर्ण प्रक्रिया अबलम्बन गरिएन । कन्जर्भेटिभ नेता छनोटको अघिल्लो प्रक्रियामा २० उम्मेद्वार सहभागी थिए । करिब २ महिना लगाएर अन्तिम दुई बीच मतदान भएको थियो । यसपटक कन्जर्भेटिभ पार्टीको कार्यसमितिले पार्टी संसदीय दलमा १०० सांसदको समर्थन जुटाउन सक्ने दुई उम्मेद्वार बीच मात्र चुनाव गराउने निर्णय गरेको थियो ।

यसक्रमा पूर्व प्रधानमन्त्री बोरिस जोनसन र सुनक सामेल थिए । सुनक जोनसन सरकारमा अर्थमन्त्री थिए । तर, जोनसनले आवश्यक १०० सांसदको समर्थन जुटाउन सकेनन् । उनको पक्षमा ६० सांसद मात्रै देखिए भने ऋषि सुनकको समर्थनमा १५० सांसदले सनाखत गरेका छन् ।

कार्यतालिका अनुसार सोमवारभित्र यस्तो समर्थनको दाबी टेबुल भइसक्नु पर्ने छ । तर,आइतवारका घटनाक्रमले सुनक बाहेक अरु कसैले यस्तो समर्थन जुटाउन नसक्ने देखिएको छ । यस परिस्थितिमा सुनक भावी प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टी नेताका रुपमा एक्लो उम्मेद्वार हुनेछन् ।

राजनीतिक घटनाक्रमले कुनै नाटकीय मोड नलिएमा सोमबार नै सुनक कन्जर्भेटिभ नेता बन्नेछन् र मंगलबार उनले बेलायती प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । आफ्नो पक्षमा १०० सांसदको समर्थन जुटाउन नसकेपछि आइतबार बोरिस जोनसनले  यो दौडबाट बाहिरिएको घोषणा गरेका थिए ।

आइतबार जोनसनले भने, ‘समर्थन जुटाउन मैले अझै प्रयत्न गर्न सक्थे । तर, मलाई लाग्यो कि यो मेरा लागि उचित समय हैन । म फेरि प्रधानमन्त्री हुनु भन्दा पार्टीको एकता, देश र जनताको हित बढी महत्वपूर्ण कुरा हो।’

अघिल्लो दिनसम्म जोनसनले पूर्ण बहुमतका साथ फेरि प्रधानमन्त्रीको कार्यालय फर्किने दाबी गर्दै आएका थिए । आइतबारसम्म जोनसनको पक्षमा समर्थन जनाउँन सक्ने ठानिएका केही सांसदले सुनकको पक्षमा उभिने निर्णय गरेपछि नयाँ परिस्थिति बनेको हो ।
जोनसन सरकारमा अर्थमन्त्री हुँदा सुनक ३९ बर्षका थिए । कोविड–१९ को महाब्याधीमा सुनकले ल्याएका आर्थिक नीति र सहयोग प्याकेजले उनको लोकप्रियता बढेको थियो । उनी नयाँ पुस्ताका नेतामा बेलायती अर्थतन्त्रको राम्रो ज्ञाता मानिन्छन्।
सुनक प्रधानमन्त्री भएमा बेलायतको इतिहासमा एक नयाँ रेकर्ड बन्ने छ । उनी भारतीय मूलको पहिलो प्रधानमन्त्री हुनेछन् । बेलायतले भारतमा करिब २ शताब्दी उपनिवेश चलाएको थियो ।

सुनकले भारतीय अर्बपति एनआर मुर्तीकी छोरी अक्षता मूर्तीसँग बिहे गरेका छन्। स्टान्फोर्ड विश्वविद्यायको विद्यार्थी छँदा भएको उनीहरुको भेट प्रेम र विवाहमा परिणत भएको थियो । आइतवार सुनकले भने, ‘आज हाम्रो महान देश आर्थिक संकटको सामना गर्दैछ । म कुनै अवसरका लागि यो पदमा जान खोजिरहेको छैन । अहिले चुनौतिपूर्ण समय छ । तर, यदि हामीले सही विकल्पको छनोट गर्न सक्यौैं भने यो चुनौती अवसरमा बद्लिन सक्दछ । म देशको अर्थतन्त्रलाई सुनिश्चित गर्न, पार्टी एकता कायम राख्न र देशका लागि डेलिभर गर्न चाहन्छु ।’

केही बर्ष यता बेलायती अर्थतन्त्र संकुचित हुँदै गएको छ । गत जुनमा प्रकाशित अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिवेदनले वेलायती अर्थतन्त्रको आकार पाँचौंबाट छैंठौं स्थानमा खस्किएको बताएको थियो । बेलायतका पछिल्ला घटनाक्रममा राजनीतिभन्दा आर्थिक मुद्धा प्रमुख हुने गरेका छन् । भरखरै कार्यकाल सम्हालेकी लिज ट्रस छोटो अवधिमै राजीनामा गर्न बाध्य हुनुको कारण पनि राजनीतिक नभएर आर्थिक संकट थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved