अर्घाखाँचीमा पाँचदलीय गठबन्धन कायम

नेपालभ्युज

अर्घाखाँचीमा पाँचदलीय गठबन्धन कायम

काठमाडौं। अर्घाखाँचीमा पाँचदलीय गठबन्धनले साझा उम्मेदवार कायम गरेका छन्। गठबन्धनको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दलको साझा उम्मेदवारी कायम भएको हो।

उम्मेदवारी फिर्ता लिने दिन आज (बुधबार) गठबन्धन दलहरूले साझा उम्मेदवार कायम गर्न सहमति गरेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका पुष्पा भुसाल उम्मेदवार छिन् भने प्रदेश सभातर्फ प्रदेश १ ‘क’ मा राष्ट्रिय जनमोर्चाका सागर केसी र प्रदेश ‘ख’ मा नेपाली कांग्रेसकै कमलप्रसाद भुसालको उम्मेदवारी कायम छ ।

प्रदेश सभा १ ‘क’ तर्फ उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का ठाकुर कुमार विकले उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानको उम्मेदवारी पार्टीले फिर्ता लिने सहमति भएको गठबन्धन दलले जनाएका छन्। उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा गठबन्धन दलबाट कांग्रेस र जनमोर्चाको मात्रै उम्मेदवारी कायम भएको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। प्रतिनिधिसभामा गठबन्धन दलकी उम्मेदवार भुसालको नेकपा (एमाले) का टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा हुनेछ।

यसैगरी, प्रदेश १ ‘क’ मा एमालेका चेतनारायण आचार्य र ख मा रामजीप्रसाद घिमिरे उम्मेदवार छन्। अर्घाखाँचीमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ भने प्रदेशसभामा दुई क्षेत्र छन्।

प्रतिनिधिसभातर्फ ११ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved