१३० वर्ष पुरानो सुरुङमाथि राजनीति, भुमिगत टुकुचा खोतल्न बालेनलाई छैन सहज
इँटाको गुम्बज पुरातात्त्विक महत्त्वको भएकाले भत्काउन नमिल्ने संस्कृतिविदको तर्क
१३० वर्षअघि नै राणाहरुले सुरुङ खनेर टुकुचा भुमिगत गरेको देखिन्छ। उक्त जग्गा प्रतिरोपनी दुई सय रुपैयाँका दरले अधिग्रहण गरिएको दस्तावेजबाट देखिन्छ। महानगरले हात्तीसारमा पनि टुकुचा किनारको मापदण्ड लागू गरेर घर–जग्गा हटाउने हो भने कानुनी प्रक्रिया पूरा गरेर अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ ।
नेपालभ्युज
काठमाडौं। काठमाडौंका मेयर बालेन्द्र शाहले जयनेपाल सिनेमा हलको प्राङ्गणमा डोजर लगाएर टुकुचा खोलो उधिनेको समाचारले देशभर तरङ्ग आयो। महाराजगञ्जबाट सुरु भएर थापाथलीको कालमोचन घाटमा बागमतीसँग मिसिने टुकुचालाई ढकनरहित खुला तरिकाले बगाउने उनको योजनाले प्रशंसा पाइरहेको छ।
करिब पाँच सय मिटर क्षेत्रमा जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गरेर बाहिर ल्याउने बालेनको योजना देखिन्छ ।
भूमिगत टुकुचा खोज्दै महानगरपालिकाको डोजर अहिले लक्ष्मी बैंकसम्म पुगिसकेको छ। टुकुचा खोलो अतिक्रमण गरेर संरचना निर्माण गरेको भन्दै निरन्तर डोजरले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उधिन्ने काम गरिरहेको छ । टुकुचा करिडोरमा दुवैतर्फ बाटो र पार्किङसहितको सुन्दर संरचना बनाउने योजना रहेको भनिएकाले यो कामको धेरैले प्रशंसा पनि गरेका छन् ।
तर, यही क्रममा तथ्य भेटिएको छ ‘टुकुचामामाथि अहिले घर भएकाहरूले मिचेको नभई राणाकालमै सुरुङ बनाएर भूमिगत गरिएको रहेछ।’ यसले बहस छेडेको छ । राणा कालमा टुकुचामा बनाइएको इँटाको गुम्बज पुरातात्त्विक महत्त्वको भएकाले भत्काउन नमिल्ने सम्पदा तथा संकृतिविद्को तर्क छ ।
टुकुचामा डोजर चलाइरहँदा सकारात्मक–नकारात्मक दुवै खाले टिप्पणी आइरहेका छन्। सांस्कृतिक, सामाजिक पक्ष विचार नगरी सुरुङ उधिन्न लागेको भन्दै टुकुचाले बालेनलाई क्षति पुर्याउने कतिपयको टिप्पणी छ। उनीहरूले टुकुचालाई पुरानै संरचनामा फर्काउन नसकिने बताएका छन्।
टुकुचालाई कसले र किन गर्यो भूमिगत ?
नारायणहिटी दरबार सङ्ग्रहालय परिसरबाट खुला रूपमा बगेको टुकुचा पर्खालबाट बाहिर लागेसँगै भूमिगत छ। सडकमुनि हुँदै जयनेपाल हलमुनि टुकुचा बगेको छ। यसकारण त्यहाँ मुनि टुकुचा छ भन्ने धेरैलाई थाहा थिएन।
यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजा मुनी पछाडि आइपुगेपछि मात्र बाहिर निस्केको देखिन्छ। यसबीचको ४ सय ४० मिटर खण्डमा टुकुचा भूमिगत गरिएको छ।
टुकुचा सुरुङभित्र हुलेर माथिको जग्गा अतिक्रमण गरिएको भन्ने भास्य महानगरले स्थापित गर्न खोजेको छ। तर, त्यहाँ घर बनाउन नक्सापासदेखि घर बनिसकेपछि निर्माण सम्पन्न प्रमाणपत्रसमेत दिइएको छ।
सबै घरधनीले महानगरबाटै घरको नक्सा पास गराएका छन्। उनीहरूसँग निर्माण सम्पन्न भएको कागजात पनि छ। नापी नक्सा, घर नक्सालगायत कुनै पनि सरकारी दस्तावेजमा कहीँ कतै टुकुचा बग्ने बाटो खुलाइएको छैन।
‘जयनेपाल हलको क्षेत्रमा टुकुचा जमिनमुनि हुल्ने काम कहिले भयो ?’ राणा प्रधानमन्त्री वीर शमशेरको छाप लागेको एक दस्तावेजमा विक्रम संवत् १९४९ मा टुकुचामाथि पटाङ्गिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरुङभित्र बगाएर माथि पुरिएको उल्लेख छ।
यसका आधारमा करिब १३० वर्षअघि नै राणाहरुले सुरुङ खनेर टुकुचा भुमिगत गरेको देखिन्छ। उक्त जग्गा प्रतिरोपनी दुई सय रुपैयाँका दरले अधिग्रहण गरिएको दस्तावेजबाट देखिन्छ। जग्गा अधिग्रहण गर्ने क्रममा त्यहाँ उब्जनी भएको बालीको हरहिसाब गरेर भुक्तानी गर्नू समेत भनिएको छ।
६ दशमलव ५ किलोमिटर लामो टुकुचा नारायणहिटी दरबारदेखि हात्तीसारसम्मको सुरुङ राणाकालिन इन्जिनियरिङको एउटा उत्कृष्ट नमुना रहेको केही दस्तावेजले बताउँछ।
यसले बाढी र आधुनिक भवनको भारको सामना गरिरहेको छ। यसको डिजाइन श्री ३ वीर शमशेरका प्रमुख वास्तुकार जोगलाल स्थापितले गरेको केही पुराना पुस्तकमा लेखिएको पाइन्छ।
विसं १९४९ मा देव शमशेरले श्री ३ वीरशमशेरको नाममा जारी गरेको दुईछापे दस्तावेजमा दरबारको अगाडिको पटांगिनी (आँगन) बनाउन टुकुचा छोप्ने उल्लेख छ।
यसबाट थाहा हुन्छ, तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले दरबारको प्रयोजनका लागि स्थानीय किसानका जग्गा मुआब्जा दिएर अधिग्रहण गरी आफ्नो स्वामित्वमा ल्याएका थिए। वीरशमशेरको जग्गा २००७ सालमा राणा शासन अन्त्यपछि अन्य व्यक्तिलाई बिक्री गर्न थालिएको इतिहासकार बताउँछन् ।
टुकुचा उधिन्ने महानगरको योजनालाई सामाजिक अभियन्ता तथा इतिहासका जानकार उज्वलविक्रम थापाले पनि विरोध गरेका छन्। उनी भन्छन्, ‘‘टुकुचाको सुरुङ वीर शमशेरले बनाउनु गैरकानुनी हो होइन राणाकालीन कानुनलाई थाहा होला। त्यो सुरुङ्गमाथि बनेका घर गैर कानुनी हो भने भत्काऊ । एक शताब्दीभन्दा पुरानो त्यो सुरुङ्गले प्राविधिकरूपमा पानी बहाव अवरुद्ध नगरेको भए भत्काउनुको कुनै औचित्य छैन। इन्जिनियरिङ इतिहास हो मेट्ने काम नगरौँ। ’’
राणाकालीन केही दरबार र पटाङ्गिनीको तस्वीर हेर्दा पनि टुकुचा खोला देखिँदैन। त्यसैले पनि यो धेरै पहिले नै भूमिगत गरिएको पुष्टि हुन्छ ।
हात्तीसारतर्फ टुकुचा बगेको पहिल्यैदेखि देखिएन
जयनेपाल हल ७७ वर्षअगाडि नै सन् १९४५ मा सञ्चालनमा आइसकेको देखिन्छ। यसबीच त्यहाँको जमिन धेरै चोटि किनबेच भइसकेको छ। सुरुमा जसले लालपुर्जा बनाएको भए पनि त्यो काम राज्यकै स्वीकृतिमा भएको छ । त्यसबापत राज्यले मालपोत दस्तुर उठाइरहेको छ ।
जलाधार विज्ञ मधुकर उपाध्याको पनि टुकुचा भूमिगत भएकोबारे अहिलेसम्म बाहिर आएका तथ्य हेर्दा ऐतिहासिक देखिने बताउँछन्। उनी भन्छन्, ‘‘टुकुचा खोला हो कि, नाला हो कि के हो भन्ने बहसमा आयो। टुकुचा भूमिगत गरिएको संरचना इँटाको गुम्बजभित्र हेर्दा पुरानो रहेको देखिन्छ। यसैले भूमिगत नै ठिक छ भनिन्छ। तर, अहिले महानगरले भने खुला गरिनुपर्छ भनेको छ। एक ठाउँको अवस्था के रहेछ भनेर उजागर हुनु राम्रो हो। सबैजनाले सय वर्ष पुरानो कुरा जान्न पाए। टुकुचा भूमिगत भएको बारे अहिलेसम्म बाहिर आएका कुराहरू हेर्दा ऐतिहासिक देखिन्छ।’’
ज्ञानेश्वर घर भएका जलाधार विज्ञ उपाध्यको बाल्यकाल त्यतै बितेको हो। उनी स्कुल जाँदा आउँदा अहिले काठमाडौं प्लाजा भएको ठाउँपछाडि भने टुकुचा देखिएको बताउँछन्। हात्तीसार हुँदै जयनेपाल जाने बाटोमा भित्र लालदरबारको पर्खाल भएकाले टुकुचा थियो थिएन थाहा नभएको उनको भनाइ छ।
उनी भन्छन्, ‘‘अहिले काठमाडौं प्लाजा पछाडि टुकुचा खोलामाथि सानो पुल थियो। टुकुचामा फोहोर फाल्थे। पहिलेदेखि दुर्गन्धित थियो। अलि पर बागबजारमा गएपछि मात्रै टुकुचा देखिएको थियो। र फेरि अन्तमा कालमोचनमा टुकुचा देखेका थियौँ। बिचमा कहाँ के थियो जाने काम पनि परेन, आवश्यक पनि थिएन।’’
जग्गा किनेर घरको नक्सा पास गरेकामाथि भूमाफियाको ट्याग
अहिले टुकुचामा डोजर चलाइरहँदा महानगरले न जग्गा किनबेचको लगत राखेको देखिन्छ। न त उनीहरूसँग भएको नापीनक्सा, घरको नक्सा र निर्माण सम्पन्न भएको कागजपत्र नै हेर्ने आवश्यकता ठानेको छ।
त्यसैले, अहिले हात्तीसारका बासिन्दा महानगरले आफूहरूमाथि अन्याय गरेको भन्दै विरोधमा छन्। आफूहरूले किनेको नम्बरी जग्गामा महानगरमा नक्सापास गराएर घर बनाएको उनीहरूको तर्क छ। निर्माण सम्पन्न प्रमाण पत्र दिइसकेपछि अहिले दलबलसहित डोजर लिएर घर भत्काउन आउनु राज्य आतंक भएको उनीहरूको आरोप छ।
एक स्थानीय भन्छन्, ‘‘काठमाडौंंका अरू ठाउँमा खोला मिचेर पनि बसेका होलान्। तर, यहाँ घर भएका सबैले जग्गा किनेरै बसेका हुन्। महानगरसँग नक्शापास गराएर घर बनाएका हुन्। पहिलोपटक नापी भएदेखि नै यहाँ खोला कायम गरिएको छैन। नक्सामा हाम्रो घरको साँध सीमामा पनि खोला छैन। अहिले महानगरले भूमाफिया’ को ट्याग लगाएर बदनाम गरेको छ। घर भत्काउन आएको छ। यो राज्यसंरक्षित गुन्डागर्दी हो।’’
यही अवस्थामै टुकुचामाथि बनेका भौतिक संरचना नभत्काउन आइतबार उच्च अदालत पाटनले आदेश दिए पनि काठमाडौं महानगरपालिकाले काम रोकेको छैन।
कानुनी प्रक्रिया पूरा नगर्ने महानगर
महानगरले डोजर चलाउनुअघि कानुनी प्रक्रियासमेत पूरा नगरेको हात्तीसारका स्थानीयको आरोप छ। महानगरले जारी गरेको सूचनामा ‘टुकुचा किनार क्षेत्रमा स्वीकृत नक्साविपरीत, मापदण्ड विपरीत वा स्वीकृति नै नलिई घर-टहरा निर्माण गरिएको भए सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त संरचना हटाउन’ भनिएको थियो। टुकुचामाथिको घर मापदण्डअनुरूप बनाएर प्रक्रिया पूरा गरेकाले भत्काउन नमिल्ने उनीहरु बताउँछन्।
‘‘महानगरले बिना अध्ययन अनुसन्धान हचुवा पारामा हाम्रो जग्गामुनि बग्छ भनेर घर भत्काउने चेतावनी दिएको छ। यो त १ सय ३० वर्ष अगाडि राणाकालमै भूमिगत गरिएको हो। यो माथिको जमिन हामीले किनेका हौँ। भूमिसुधार ऐन जारी हुनुअघि नै जमिन मुनी खोला थियो। हामीले जग्गा किन्दा नै नक्सामा खोला थिएन।’’ एक घरधनी भन्छन् ।
महानगरले हात्तीसारमा पनि टुकुचा किनारको मापदण्ड लागू गरेर घर–जग्गा हटाउने हो भने त्यसको निम्ति कानुनी प्रक्रिया पूरा गरेर अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ ।
Facebook Comment
Comment