असोज १९ गते बुधबार ११:५१ बजे विजया दशमीको उत्तम साइत

असोज १९ गते बुधबार ११:५१ बजे विजया दशमीको उत्तम साइत

काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो समय दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए ।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ ।

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

रासस ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved