बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनको प्रायोजन

नेपालभ्युज

बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनको प्रायोजन

काठमाडौं। शिरिष फाउन्डेसनले एक वर्षको लागि बक्सर सुष्मा तामाङलाई प्रायोजन गर्ने भएको छ । काठमाडौंको नक्सालमा आइतबार आयोजना भएको एक कार्यक्रममा सशरिष फाउन्डेसनका प्रतिनिधि र सुष्माले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

फाउन्डेसनले नक्साल बक्सिङ संघसँग आबद्ध रहेकी २० वर्षीया सुष्मालाई खेलकुद सामाग्री र खेल पोसाकसहित नगद सहयोग गरेको छ ।
‘एक खेलाडी भएर अर्को खेलाडीलाई गरिरहेको यस्तो सहयोगले मलाई बक्सिङमा दृढ भएर लाग्न उत्साह प्रदान गरेको छ । यस्तै सहयोग सरकारले पनि प्रदान गरे अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन खेलाडीहरूलाई थप हौसला प्रदान हुनेछ ।’, सुष्मा कार्कीले खुसी व्यक्त गर्दै आफ्नो भनाई राखिन् ।

‘सुष्मालाई पहिले नै फाउन्डेसनले प्रायोजन गर्ने निर्णय गरेको थियो । तर, कोभिड–१९ का कारण त्यस बेला सम्भव भएको थिएन । यद्यपि, सुष्माको प्रदर्शन उत्कृष्ट हुँदै गए, यस सम्झौ‌तालाई लम्ब्याउने पनि सोचेका छौँ ।’, फाउन्डेसनका सचिव तथा नेपाल पौडी संघका महासचिव जगत मान श्रेष्ठले जानकारी गराए ।

सो सम्झौतामा सुष्मालाई १ वर्षसम्म हरेक महिना १५ हजार रुपैयाँ नगद सहयोग गर्ने प्रावधान पनि रहेको छ । सोही प्रावधानअन्तर्गतको पहिलो किस्ताको चेक पनि सुष्मालाई प्रदान गरिएको थियो ।

सुष्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा फाउन्डेसनले पोसाक पनि प्रदान गर्नेछ । १ वर्षको अवधिमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको अवस्थामा फाउन्डेसनले पुरस्कारको पनि व्यवस्था गर्न सक्नेछ ।

 

कार्यक्रममा फाउन्डेसनका प्राविधिक विशेषज्ञहरूको टोलीमा विश्व प्रकाश थापा, कपिल किशोर श्रेष्ठ, नवीन तण्डुकार र संगीना वैद्यको उपस्थिति रहेको थियो । फाउन्डेसनले प्रायोजन गरेको पहिलो खेलाडी तथा साफ प्रतियोगितामा २ पटक स्वर्ण जित्न सफल उसु खेलाडी निमा घर्ती मगरको पनि सहभागिता रहेको थियो । साथै कोषाध्यक्ष सपना गुरुङ र सल्लाहाकार तथा समाज सेवी शान्ती शाक्यको पनि उपस्थिति रहेको थियो ।

सन् २०१७ मा स्थापना भएको फाउन्डेसनले क्षमतावान् खेलाडीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved