गैर आवासीय नेपालीको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपालभ्युज

गैर आवासीय नेपालीको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।

शनिबारदेखि थाइल्याडकाे बैंककमा शुरू भएको गैर आवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “नेपालमा लगानीको वातावरण छ। यहाँ अनगिन्ती अवसरहरू छन्। प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ। त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ। त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सिप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ।”

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चासो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, समृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे।

“कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ । त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरू घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो। ती दृष्टान्तहरू देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,” उनले भने।

गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप तथा पुँजीको ठूलो महत्त्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भए पनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र समृद्धि प्रयोग गर्न आग्रह गरे।

“हामीले जुन सिप वा प्रविधि सिकिरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाऊँ। संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सिप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाऊँ। यसले मुलुकको काँचुली फेर्न सघाउ पुर्‍याउँछ। समृद्धि हासिल गर्न सघाउँछ,” उनले भने।

गैर आवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफूहरू तयार रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved