पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

नेपालभ्युज

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध
फाइल तश्वीर

काठमाडौं। गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए।

यस्तै पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved