प्रचण्ड–बाबुरामबीच प्रेम र घृणाको सम्बन्ध : खेलको ‘क्लाइमेक्स’ बाँकी छ कि सकियो ?

छुट्टाछुटै गरिएका प्रयोग असफल भएपछिको मिलन

बाबुराम अन्ततः फेरि किन प्रचण्डसँग सहकार्य गर्ने स्थितिमा पुगे ? प्रचण्ड किन बाबुरामसँग मिल्दा मात्रै अगाडिको बाटो तय गर्न सहज हुन्छ भन्ने निष्कर्षमा पुगे ?  यो उनीहरूको बाध्यता हो कि खुसीको छनोट ? छुट्टाछुट्टै गरेका प्रयोगमा असफल भएपछि प्रचण्ड र बाबुरामले फेरि संयुक्त रूपमा अर्को प्रयोग गर्ने मनस्थिति बनाएका त हैनन ?

प्रचण्ड–बाबुरामबीच प्रेम र घृणाको सम्बन्ध : खेलको ‘क्लाइमेक्स’ बाँकी छ कि सकियो ?

काठमाडौं । जनयुद्धको प्रारम्भताका प्रचण्डभन्दा बाबुराम जनस्तरमा धेरै चिनिएका र लोकप्रिय थिए । कारण थियो, प्रचण्ड भूमिगत राजनीतिमा थिए भने बाबुराम खुल्ला । प्रचण्ड भूमिगत नेकपा (माओवादी) का महामन्त्री थिए भने बाबुराम त्यसको खुल्ला मोर्चा संयुक्त जनमोर्चा नेपालका अध्यक्ष ।

एउटै आन्दोलनमा भएर पनि यी दुई नेताबीच व्यक्तित्व, लोकप्रियता र वर्चश्वको संघर्ष थियो । यो संघर्ष कहिले प्रखर र कहिले सुषुप्त हुने गर्दथ्यो । जनयुद्धको विकाससँगै बाबुरामको लोकप्रियता बढ्दै गएपछि माओवादी पार्टीले ‘नेतृत्वको स्थापना र केन्द्रीकरण’ को नाममा भूमिगत हुँदै प्रचण्डको आधिकारिक फोटो सार्वजनिक गरेको थियो ।

एक माओवादी नेता भन्छन्– ‘त्यतिखेर भूमिगत र सशस्त्र संघर्ष चलाइरहेका कम्युनिस्ट पार्टीमा नेताको फोटो सार्वजनिक गर्ने प्रचलन नै थिएन । सुरक्षाका दृष्टिकोणले पनि त्यो उचित हुँदैनथ्यो । तर, जनतामा माओवादी पार्टी र आन्दोलनको मूल नेता नै बाबुराम हुन् कि भन्ने भ्रम पर्न गयो । बाबुरामको लोकप्रियतालाई काउन्टर गर्न नै प्रचण्डको फोटो सार्वजनिक गरिएको थियो ।’

सुरुवातदेखि नै फरक गुट

प्रचण्ड र बाबुरामको राजनीतिक जीवनको सुरुवात नै फरकफरक बुझाइ र दृष्टिकोणबाट भएको थियो । प्रचण्डको राजनीति कम्युनिस्ट धारबाट सुरु भएको थियो । उनले नेकपाको पुष्पलाल समूहबाट राजनीतिक जीवन सुरु गरेका थिए । बाबुराम भने नवकिशोर तथा वय अवस्थामा कम्युनिस्ट थिएनन् । उनी नेपाली कांग्रेस र बीपी कोइरालाप्रति रुझान राख्थे । तर, बीपी र कांग्रेसले गणतन्त्रवादी लाइन लिनुपर्ने उनको मत थियो । बीपीले जब आफ्नो राजनीतिक लाइन ‘संवैधानिक राजतन्त्र’ हो भन्ने बारम्बार प्रष्ट गरे, कुनै गणतन्त्रवादी नेता खोज्दै जाँदा बाबुराम मोहनविक्रम सिंहको सम्पर्कमा पुगेका थिए । ‘मसाल’ र ‘मशाल’ को विभाजनमा प्रचण्ड ‘मशाल’ तिर थिए र बाबुराम ‘मसाल’ तिर । प्रचण्डका गुरु मोहन वैद्य थिए भने बाबुरामका गुरु मोहन विक्रम सिंह ।

प्रचण्ड र बाबुरामबीचको सम्बन्धका अनेक आयाम छन् । कहिले लाग्थ्यो कि उनीहरू एक अर्काका पूरक हुन । कहिलेकाहिँ स्थिति यस्तो बन्थ्यो कि उनीहरू एक-अर्काका चरम दुश्मन हुन् । जनयुद्धको उत्कर्षकालमा प्रचण्डले बाबुराम दम्पतिलाई जनमुक्ति सेनाका छापामारको हिरासतमा बन्दी बनाएरसमेत राखे । यो  घृणाको अवस्था थियो । फेरि केही समयमै उनीहरू रुँदै एक-आपसमा अंकमाल पनि गरे । यो प्रेमको अवस्था थियो ।

बाबुरामको बाह्य छवि, प्रचण्डको आन्तरिक व्यवस्थापन

माओवादी आन्दोलनका जानकारका अनुसार बाबुराम कहिल्यै पनि राम्रा संगठक तथा व्यवस्थापक थिएनन् । उनको वैचारिक, बौद्धिक र बाह्य छवि माओवादी पार्टी र आन्दोलनका लागि सधै‌ं उपयोगी रह्यो तर, पार्टीको संगठन र व्यवस्थापनमा भने प्रचण्ड कै बढी योगदान थियो । तसर्थ, पार्टी संगठनमा प्रचण्डको पकड हुन स्वभाविक थियो । यो विरोधाभाषले समेत उनीहरुबीच मनोवैज्ञानिक दरार उत्पन्न गर्दथ्यो । प्रचण्ड आफू बाबुरामझैं बाह्य जनमतमा लोकप्रिय हुन नसक्दा कुन्ठित हुन्थे भने बाबुराम पार्टीमा पकड नभएकोमा चिन्तित ।

दुवैका प्रयोग असफल भएपछिको मिलन

एसएलसी परिक्षामा बोर्ड फष्ट हुनु त्यो समय निकै ठूलो उपलब्धि र चर्चाको विषय हुन्थ्यो । बाबुराम बोर्ड फष्ट थिए । उनले भारतका राम्रा विश्वविद्यालयमा पढ्ने छात्रवृति पाएका थिए । उनले जेएनयुबाट पीएचडी गरे । प्रचण्डले भने एसएलसीमा ‘सेकेन्ड डिभिजन’ पास गरेर चितवनको रामपुर कृषि क्याम्पस पढेका थिए । चिनजानका प्रारम्भिक दिनमा प्रचण्डले बाबुरामलाई भनेका थिए रे–‘तपाईं त बोर्ड फस्ट मान्छे, हामीजस्तो सेकेन्ड डिभिजनलाई नेता मान्नु हुन्न होला मनैदेखि । तपाई मलाई नेता मान्नुहुनेछ त्यो मेरो लागि खुसी र गौरवको कुरा हुनेछ, मान्नुहुन्न भने म पनि ज्याद्रै मान्छे हुँ, तपाईंको बोर्डफस्ट र पीएचडीसँग डराउन्न नि ।’

प्रचण्डले यसो भन्दा बाबुरामले भन्ने गर्थे–‘पढाइ भिन्नै कुरा हो, संगठन र आन्दोलनको कला भिन्नै कुरा हो । संगठन र आन्दोलन संयोजनमा तपाईं नै बोर्ड फस्ट र पीएचडी हो ।’ नभन्दै बाबुरामले संगठन र आन्दोलनमा प्रचण्डको सर्वोच्चता फेरि एकपटक स्वीकार गरेका छन् । २०७२ सालमा प्रचण्डलाई छोडेर ‘बैकल्पिक राजनीति’ भन्दै आफ्नो भिन्नै ‘नयाँ शक्ति पार्टी’ गठन गरेका बाबुराम करिब ७ वर्षको प्रयोगपछि फेरि प्रचण्डसँगै एकता गर्ने मनस्थितिमा पुगेका छन्। यो बीचमा बाबुरामले वैकल्पिक शक्ति बनाउन अनेक प्रयास गरे तर सफल भएनन् ।

अर्कोतिर संगठन र राजनीतिमा निकै सिपालु मानिएका प्रचण्डले पनि यो बीचमा अपेक्षित सफलता पाउन सकेनन् । उनले पनि वाम गठबन्धन बनाउने भन्दै अर्को प्रयोग गरे । नेकपा एमालेलाई आफ्नो लाइनमा हिँडाउने प्रचण्डको चाहना थियो । त्यसैअनुसार एमाले र माओवादीबीच एकता पनि भयो । एक समय यस्तो लागेको थियो प्रचण्डको प्रयोग सफलता तिरै अघि बढेको छ । तर अन्तिममा उनी पनि असफल भए । केही समय वाम एकताको फन्को लगाएपछि प्रचण्ड पनि पुरानै ठाउँमा आइपुगे ।

यसरी  छुट्टाछुट्टै गरेका प्रयोगमा असफल भएपछि प्रचण्ड र बाबुरामले फेरि संयुक्त रूपमा अर्को प्रयोग गर्ने मनस्थिति बनाए । अहिलेको पुनर्मिलन त्यसैको परिणाम हो ।

अबको संयुक्त प्रयोग कस्तो होला ? 

जनयुद्धको समाप्तिसँगै माओवादको उपादेयता समाप्त भएको बाबुरामको विष्लेषण थियो । त्यसैले उनले ७ वर्षअघि नै माओवाद त्यागे । प्रचण्ड पनि माओवादबाट अघि बढ्न नसकिने निष्कर्षमा पहिले नै पुगेका हुन् । तर, उनले त्यसलाई व्यावहारिक रूपमा छाड्न भने सकेनन् । नेकपा एमालेसँगको एकताका बेला भने प्रचण्ड पनि माओवाद छाडेर समाजवादको बाटोमा अघि बढे । त्यसैले आगामी दिनमा दुवैका लागि मिलन बिन्दु पनि यही कतै हुने देखिन्छ ।

अहिले प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह, समानुपातिकको साझा सूची र एउटै घोषणापत्र बनाउने मात्रै हैन मंसिरको चुनावपछि पार्टी एकता नै गर्ने सहमति पनि भइसकेको छ । तर, पार्टी एकताको सैद्धान्तिक आधार भने अझै तय भइसकेको छैन । यद्यपि, अब माओवादी नभई समाजवादी हुनेमा भने दुवैको सहमति देखिन्छ । त्यसैअनुसार पार्टीको नाम पनि तय हुनेछ । सम्भवत: प्रचण्ड पार्टीको नामबाट माओवादी हटाएर समाजवादी राख्न तयार हुनेछन् । तर, उनको जोड समाजवादीको अगाडी नेकपा राख्ने हुनेछ । त्यसको कारण हो नेकपाको विरासत एमालेलाई सुम्पन प्रचण्ड राजी छैनन् ।

यता बाबुरामको चाहना भने सकेसम्म समाजवादी केन्द्रमै सहमति भए हुन्थ्यो भन्नेमा देखिन्छ । किनकि, उनले माओवाद मात्रै हैन अबको दुनियाँमा कम्युनिष्ट विचारधाराबाट अघि बढ्न सम्भव नहुने निष्कर्ष निकालिसकेका छन् । तर, यो विमतिले चुनावसम्म कुनै अप्ठ्यारो पार्ने देखिन्न । चुनावपछिको स्थितिलाई हेरेर दुवैले आफ्नो धारणाबारे पुनर्विचार गर्दै एउटा सहमतिको बिन्दु पहिल्याउन सक्छन् ।

राजनीतिको बाध्यता 

बाबुराम अन्ततः फेरि किन प्रचण्डसँग सहकार्य गर्ने स्थितिमा पुगे ? प्रचण्ड किन बाबुरामसँग मिल्दा मात्रै अगाडिको बाटो तय गर्न सहज हुन्छ भन्ने निष्कर्षमा पुगे ?  यो उनीहरूको बाध्यता हो कि खुसीको छनोट ?

प्रचण्डले बाबुरामका आफन्त र निकटस्थसँग बारम्बार भन्ने गरेका थिए–‘बाबुराम जी बेकारमा वैकल्पिक राजनीति भन्दै कताकता भौतारिनुभयो । दु:ख बेसाउनु भयो । हामी दुवै सँगै हुन्थ्यौं भने मैले पनि ओलीसँग एकता गर्दिनथे होला । ओलीसँग एकता गरेर मैले पनि ठूलो अपमान र पीडा भोगे । त्यही एउटा मलाई नेता मान्दिनुपर्ने पीर होला ? बाबुरामजीका लागि यो पार्टीमा के छैन र अरु ? यही पार्टीले प्रधानमन्त्री बनाएकै हो । पार्टीका साथीभाइ सबैले सम्मान गर्छन्, गुमाएको अनुभूति गर्छन् । हामी दुई एक भयौँ भने फेरि आफ्नै पार्टी कांग्रेस, एमाले जत्तिकै बलियो बनाउन पनि सकिन्छ । किन अन्यत्र भौतारिँदै हिँड्नुपर्‍यो  ?’

यति कुराबाटै प्रचण्ड किन बाबुरामसँग पुनर्मिलनका लागि तयार भए भन्ने प्रष्ट बुझिन्छ । तर, बाबुराम भने प्रचण्डका यस्ता भावनात्मक तर्कबाट कन्भिन्स भएका हैनन्। त्यसका पछाडि थुप्रै कारण छन् । सबैभन्दा पहिलो र मुख्य कारण भनेको बाबुराम अहिले पनि समाजवादी केन्द्र बनाउन सकिन्छ भन्नेमै देखिन्छन् । प्रचण्डसँग मिलेपछि समाजवादी केन्द्र निर्माणको आधार तयार हुने बाबुरामको विष्लेषण छ । चुनावपछि समाजवादी केन्द्र बनाउने सहमतिकै कारण उनी  पार्टी एकताका लागि तयार भएको निकटस्थको दाबी छ ।

तर, यति मात्रै कारण हैन । बाबुरामले आन्तरिक रूपमा खेपिरहेको दबाब पनि एकताका लागि अर्को कारण हो । जसपाबाट विभाजन भएपछि बाबुरामले नेपाल समाजवादी पार्टी बनाए । पहिले नै छुट्टै पार्टी चलाईसकेका बाबुरामलाई यो  कति गाह्रो काम हो भन्ने अनुभव थियो नै । एक्लै लडेर संसदीय राजनीतिमा ठूलो उपलब्धि हासिल गर्न नसकिनेमा पनि उनी प्रष्ट थिए । त्यसैले, उनी विचार मिल्ने शक्तिसँग एकता गर्न खोजिरहेका थिए । वैचारिक र सांगठनिक रूपमा उनका लागि सबैभन्दा निकटको शक्ति माओवादी नै हुन्थ्यो । भलै उनी माओवाद मान्न तयार थिएनन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक सहभागिताजस्ता विषयमा बाबुराम र प्रचण्डको विचार एउटै देखिन्छ ।

त्यसबाहेक पहिले सँगै लडेकाले माओवादीमा पनि बाबुरामलाई मनपराउने ठूलो पंक्ति छ । जुन उनका लागि सहज अवस्था हो ।  त्यसैले, समाजवादी केन्द्र बनाउने उदेश्यसहित एकता गर्न बाबुरामका लागि माओवादी नै सबैभन्दा नजिकको शक्ति थियो । यसबाहेक पनि संसदीय राजनीतिमा आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्ने तथा सहयात्रीको ब्यवस्थापनमा पनि प्रचण्डसँग मिल्दा नै बाबुरामलाई फाइदा हुन्थ्यो । यी सबै कारण विष्लेषण गरेर नै उनले यो कदम चालेको देखिन्छ ।

‘क्लाइमेक्स’ यही हो कि अझै बाँकी छ ?

प्रचण्ड–बाबुरामको प्रेम र घृणाको खेल अब सकिएको हो कि क्लाइमेक्स अझै बाँकी छ ? यसै भन्न सकिन्न । दुवै पक्षका आ-आफ्ना दाबी र भनाइ कायमै छन् । बाबुराम अहिले पनि समाजवादी केन्द्र बनाएर अघि बढ्नुपर्नेमा अडिग देखिन्छन् । प्रचण्ड पनि त्यसमा सहमत छन् तर कार्यान्वयन गर्न कत्तिको अग्रसर हुन्छन् भन्ने हेर्न बाँकी छ । प्रचण्डले यसपाली बाबुरामबाट पनि धेरै आश गरेका छन् । मंसिरको चुनावपछि प्रचण्ड कांग्रेसको सहयोगमा पुन:श्च एकपटक प्रधानमन्त्री हुने आशामा छन् । त्यो बेला राजकाजमा प्रचण्डका लागि सबैभन्दा ठुलो सहयोगी बाबुराम नै हुन सक्नेछन् ।

समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता राजनीतिको खेलमा बाबुराम आफूसँग हुनुका फाइदाबारे प्रचण्ड भलिभाँती जानकार छन् । आगामी दिनमा आफू सत्ता राजनीतिमा नभई वैचारिक काममा मात्रै लाग्ने बाबुरामको मनस्थिति देखिन्छ । त्यसैले अहिलेको सहमतिअनुसार नै अघि बढेमा प्रचण्ड र बाबुरामबीचको सम्बन्ध प्रेमिल नै हुनेछ । जुन दुवै तर्फका नेता, कार्यकर्ताको चाहना पनि हो ।

One thought on “प्रचण्ड–बाबुरामबीच प्रेम र घृणाको सम्बन्ध : खेलको ‘क्लाइमेक्स’ बाँकी छ कि सकियो ?

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved