विष्लेषण

अमेरिकी आक्रमणमा जवाहिरी मारिएपछि अल-कायदाको पतन भएको हो ?

अरब दुनियाँमा एक बलियो इस्लामिक साम्राज्य स्थापना गर्नु अल–कायदाको घोषित लक्ष्य हो । यो उदेश्यमा सहमत हुने अरबजगतका जुनसुकै देशका नागरिक र संगठन यसमा सामेल हुन सक्छन् । जवाहिरीको मृत्युपछि अल–कायदाको नयाँ नेता को भयो वा हुनेछ प्रष्ट छैन । बिन लादेनका सुरक्षा प्रमुख रहिसकेका इजिप्टका नागरिक सैफ अल अदलले अब यसको विरासत सम्हाल्ने अनुमान गरिएको छ ।

नेपालभ्युज

अमेरिकी आक्रमणमा जवाहिरी मारिएपछि अल-कायदाको पतन भएको हो ?

सन् २०२२ जुलाई ३१ मा अमेरिकी आक्रमणमा परि अल–कायदाका प्रमुख नेता अयमन अल–जवाहिरी मारिए । पहिले संस्थापक बिन लादेन र अहिले  जवाहिरी मारिएपछि अल–कायदा नामक संगठनको पतन भएको त हैन भन्ने प्रश्न उठेको छ । जवाहिरी अफगानिस्तानमा लुकेर बसेका बेला अमेरिकी ड्रोन आक्रमण मारिएका हुन् ।

अगष्ट १ को अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘जवाहिरीको मृत्युले विश्व अझ बढी सुरक्षित बनेको छ। हाम्रो देश, हाम्रा जनता, हाम्रा मित्र र साझेदारहरुका लागि धम्की दिने जो कोही विरुद्ध अमेरिकाले दृढतापूर्वक यस्ता कार्वाही गर्ने छ ।’

अल–कायदाका संस्थापक नेता ओसामा बिन लादेनको सन् २०११ मे १ मा अमेरिकाको आक्रमणमै मृत्यु भएको थियो । पाकिस्तानमा लुकेर बसेका बेला अमेरिकी सैनिकले लादेन बसेको घर घेरा हालेर आक्रमण गरेका थिए । लादेनको मृत्युपछि अल–कायदाका क्रियाकलापमा निक्कै ठूलो कमी आएको थियो । तर, यसको संगठन संजाल भने समाप्त भएको थिएन । जवाहिरीले यस संगठनलाई बचाइराखेका राखेका थिए ।

के हो अल–कायदा ?

अल–कायदा सन् १९८८ मा स्थापित एक अतिवादी सुन्नी इस्लामिक जिहादी अन्तर्राष्ट्रिय संजाल हो । यो संजाल सोभियत–अफगान युद्धको समयमा सोभियत संघ विरोधी इस्लामिक योद्धाहरुले गठन गरेका थिए । यसका संस्थापक कमाण्डर तथा मुख्य नेता ओसामा बिन लादेन थिए । लादेन साउदी अरेबियाका एक धनाढ्य थिए । सन् २०११ मा मृत्यु हुँदासम्म उनी यो संगठनको मूल नेता रहे ।

सोभियत–अफगान युद्ध सन् १९७९–१९८९ गरी १० बर्षसम्म चलेको थियो । यो युद्ध मूलतः सोभियत सेना र अफगान विद्रोही समूह मुजाहिद्दीनको बीचमा भएको थियो । सन् १९७८मा भएको एक सत्ताविद्रोहमा अफगान कम्युनिष्ट पार्टीले सत्ता हत्याएपछि त्यसको विरुद्ध मुजाहिद्दीन समूहले छापामार युद्ध गरेको थियो । सोभियत सेना कम्युनिष्ट सरकारको पक्षमा अफगानिस्तान पसेको थियो ।

यो युद्धको समयमा अरब जगतमा सोभियत संघ विरोधी भावना बलियो थियो । तसर्थ अल–कायदा समूह शुरुवातमा सोभियत संघ विरोधी भावनामा बनेको थियो । प्रारम्भिक दिनमा अल–कायदालाई अमेरिकी जासुसी संगठन सिआइएको समर्थन र सहयोग थियो भनिन्छ । मुजाहिद्दीनलाई भने अमेरिकाले खुलेरै सहयोग गरेको थियो । तर, अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएपछि अरब जगतको शक्ति सन्तुलन र समीकरण बदलियो । अल–कायदा विस्तारै अमेरिका विरोधी हुँदै गयो ।

सेप्टेम्बर ११ को आक्रमणः

सन् २००१, सेप्टेम्बर ११ मंगलबारको बिहान अमेरिकामा ४ ठूला आत्मघाती आक्रमण भए । त्यो दिन १९ जना अल–कायदाका जिहादीले ४  वटा अमेरिकी विमान अपहरण गरे । २ वटा न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर तथा एउटा अमेरिकी रक्षा मन्त्रालय रहेको पेन्टागनमा जोतियो । अर्को एक पेन्सेल्भिनियामा दुर्घटना भयो ।

यो आक्रमणमा २ हजार ९९६ जनाको ज्यान गयो । ६ हजार भन्दा बढी घाइते भए । यो घटनापछि ओसामा बिन लादेन, आयमन अल– जवाहिरी लगायतका नेतालाई अमेरिकाले मोस्ट–वान्टेड सूचीमा राखेको थियो । घटनाको करिब १० बर्षपछि लादेन मारिएका थिए । २१ बर्षपछि जवाहिरी मारिएका छन् ।

को थिए जवाहिरी ?

जवाहिरी इजिप्टका नागरिक थिए । पेशाले उनी नेत्र सर्जन थिए । उनले आफ्नो चिकित्साशास्त्रको शिक्षा कायरो विश्वविद्यालयबाट हासिल गरेका थिए । उनको परिवार निकै सम्मानित मानिन्थ्यो । आयमनका बाबु प्राध्यापक थिए । सन् १९८१ मा इजिप्टका राष्ट्रपति अनवर सदातको हत्या प्रकरणमा जवाहिरीलाई मुछिएको थियो । त्यसवापत उनले ३ बर्ष जेल बस्नु पर्‍यो । उनी इजिप्टमा आफ्नै नेतृत्वको इस्लामिक जिहादी समूह चलाउँथे । पछि त्यसलाई ओसामा बिन लादेनको अल–कायदा संगठनमा बिलय गरी इजिप्ट शाखा भन्न थालिएको थियो ।

सन् १९९५ मा इजिप्टस्थित पाकिस्तानी दूताबासमा बम आक्रमण गराएको आरोप पनि उनीमाथि लागेको थियो । सन् १९९८ मा केन्या र तान्जानियाका अमेरिकी दूतावासमा भएका बम आक्रमण र २००२ को बाली बम आक्रमणका लागि समेत उनैलाई जिम्मेवार ठानिन्थ्यो।
लादेन र जवाहिरी दुबैलाई तालिवानको सहयोग थियो । त्यसकै सहयोगमा जवाहिरी अफगानिस्तानमा लुकेर बसेका थिए ।

के हुन्छ अब अल–कायदाको भबिष्य ?

अरब जगतमा इस्लामिक जिहादी समूहहरुको उत्थान र पतनको लामो कथा छ । समय समयमा कैयौं जिहादी समूह जन्मिने र हराउने गरेका छन । सोभियत–अफगान युद्ध ताकाको मुजाहिदीन समूह अहिले शक्तिहीन छ । त्यसको ठाउँ तालिवानले लिएको छ।

इराक युद्ध र सद्दाम हुसेनको पतनपछि ‘आइएसआइएस’ नामको अर्को शक्तिशाली इस्लामिक समूहको जन्म भएको थियो । यो समूहले इराक र सिरियाको करिब २५ प्रतिशत भूभाग कब्जा गरी सकेको थियो । तर, अहिले यो संगठन पनि कमजोर हुँदै गएको छ ।

अल–कायदा कुनै देश केन्द्रीत नभएर इस्लामिक जिहादी समूहहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा ३ दर्जन भन्दा बढी विभिन्न देशका इस्लामिक जिहादी समूह आवद्ध भएको बताइन्छ । तर, लादेनको मृत्युपछि नै यो सञ्जाल कमजोर हुन थालेको थियो । जवाहिरीको मृत्युपछि भने झनै कमजोर भएको छ।

अरब दुनियाँमा एक बलियो इस्लामिक साम्राज्य स्थापना गर्नु अल–कायदाको घोषित लक्ष्य हो । यो उदेश्यमा सहमत हुने अरबजगतका जुनसुकै देशका नागरिक र संगठन यसमा सामेल हुन सक्छन् । जवाहिरीको मृत्युपछि अल–कायदाको नयाँ नेता को भयो वा हुनेछ प्रष्ट छैन । बिन लादेनका सुरक्षा प्रमुख रहिसकेका इजिप्टका नागरिक सैफ अल अदलले अब यसको विरासत सम्हाल्ने अनुमान गरिएको छ । यसका सदस्यको मनोबल निकै खस्केको र संगठन कमजोर बने पनि पतन नै भइसक्यो भन्नु चाहिँ हतारो हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved