फरक पाटो

मेरो पहिलो प्रेम गायन हो

बाल्यकालमा उनी जुनै बेला पनि गीत गाउँथिन्। भाँडा माझ्दा होस् वा कुचो लगाउँदा। जहिल्यै गाउने मात्रै। उनको गायन–मोह देखेर चकित हुँदै आमाले भन्थिन् रे, ‘कति गाउन सकेकी ! कहिलेकाहीँ त चुप लागेर बस्नु नि।’

मेरो पहिलो प्रेम गायन हो

बीसको दशकको उत्तराद्र्धदेखि कथालेखनमा समर्पित छिन्, माया ठकुरी। नेपाली कथा–लेखनका सीमित हस्ताक्षरमध्ये पर्छिन् उनी। अहिलेसम्म उनका ‘नजुरेको जोडी’, ‘गमलाको फूल’, ‘साँघु तरेपछि’, ‘चौतारो साक्षी छ’, ‘माया ठकुरीका कथाहरू’, ‘आमा जानुहोस्’, ‘प्रियम्वदा’ जस्ता कथाकृति प्रकाशित छन्। तर, कथालेखन शुरुआत गर्नुअघि भने उनको प्रेम लेखनसँग थिएन। थियो त केवल गायनसँग।

धेरैलाई थाहा नहुन सक्छ, अचेल नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यको जिम्मेवारीमा रहेकी ठकुरी कुनै समय गायनकलामा पूरै मग्न थिइन्। हो, उनको सिर्जनशीलताको क्षितिज खुलेको गायन क्षेत्रबाट नै हो।

उनका पिता भारतीय सेनामा कार्यरत थिए। रुकुमकोट घर रहेका पिता भारतीय सेनामा भर्ति भएपछि आमा पनि पितासँगै रहन थालिन्। त्यतिबेला उनका पिता लखनउमा कार्यरत थिए। त्यही नै उनको जन्म भयो, सन् १९४६ मा। पछि भने पूर्वोत्तर भारतको सुन्दर पहाडी शहर सिलोङमा पिताको सरुवा भयो। उनी पनि पिता–मातासँगै सिलोङ पुगिन्। सिलोङमा नेपालीहरू थिए प्रशस्तै। त्यही पहाडी शहरमा हुर्किँदै, बढ्दै जाँदा उनमा गायनप्रति मोह बढ्दै गयो।

उनी सम्झिन्छन्, ‘मेरी हजुरआमा हामीकहाँ आउनु हुन्थ्यो। उहाँ आउँदा मेरी आमा र हजुरआमा टाउको जोडेर गीत गाउनु हुन्थ्यो र कहिले त रुनु पनि हुन्थ्यो। मलाई उहाँहरू किन रुनुभएको हो भन्नेमा जिज्ञासा जाग्थ्यो।’

हजुरआमा र आमाले गीत गाएको देखेपछि उनको मस्तिष्कमा गायनको छाप प¥यो। भन्छिन्, ‘ममा गायनको बीजारोपण त्यही बेलादेखि नै भयो। रुचिले गर्दा गायनतिर तानिए पनि पछि भने केही गीत रेकर्डिङ पनि गरेँ।’

बाल्यकालमा उनी जुनै बेला पनि गीत गाउँथिन्। भाँडा माझ्दा होस् वा कुचो लगाउँदा। जहिल्यै गाउने मात्रै। उनको गायन–मोह देखेर चकित हुँदै आमाले भन्थिन् रे, ‘कति गाउन सकेकी ! कहिलेकाहीँ त चुप लागेर बस्नु नि।’

उनी सिलोङको जुन ठाउँमा बस्थिन्, त्यो ठाउँ मिश्रित संस्कृतिले धनी थियो। विभिन्न जातीय र भाषिक समूहको भाषा, संस्कृति र कलालाई नियाल्दै उनी उमेरका सिँढीहरू चढ्दै गइन्। भन्छिन्, ‘त्यो ठाउँमा नेपालको विभिन्न भूभागबाट गएका मानिसहरू बस्दथे। उनीहरूले आफ्ना मौलिक गीतहरू गाउँथे। त्यहीं नै मैले उनीहरूका संस्कृतिबारे जान्ने अवसर पाएँ।’

दसैँ–उत्सव भव्य रुपमा मनाइन्थ्यो। दसैँमा नेपाली समुदायका मानिसले नाटक देखाउँथे। तत्कालीन समयमा धार्मिक नाटकहरू देखाइन्थ्यो, धेरैजसो। उनी सम्झिन्छन्, ‘त्यस्ता कार्यक्रममा हामी बालबालिकाहरूले चाहिँ गीतहरू गाउँथ्यौँ।’

तत्कालीन समय दार्जीलिङका स्रष्टा गोपीनारायण प्रधान सिलोङमा अध्यापन गर्थे। ठकुरीको गायन–क्षमता बुझेकाहरूले प्रधानलाई सिफारिस गरेपछि उनले नै कतिपय ठाउँमा ठकुरीलाई गाउन पठाउँथे।

त्यो बेला गुवाहटी रेडियो स्टेशनमा साहित्यकार लीलबहादुर क्षेत्रीले एउटा साहित्यिक कार्यक्रम चलाउँथे। त्यस्तै आधा घण्टाजतिको। उनले त्यही स्टेशनबाट नियमित रुपमा गाउन थालिन्।

कोरोना–कालमा दुई पटक उनलाई त्यो महामारीले झम्टियो। अहिले स्वस्थ छिन्। भन्छिन्, ‘मेरो स्वर भासिएको धेरै भएको थियो। तर एक वर्षअघिदेखि भने मेरो स्वर फेरि फर्किएको छ।’

संगीतकर्मी सीके रसाइलीसँग त्यही नै भेट भयो उनको। त्यही बेला नै उनले थुपै्र गीतकारका गीतमा स्वर दिइन्। त्यही समयताका नै सीके रसाइलीको संगीत र डीआर सुब्बाको शब्दमा उनले गाइन्, ‘तिमी फूल बनेर हाँसी, म नीर भएर झर्छु…।’

पिता–माता नेपालबाटै गएका। पछि नेपालमै फर्किइन् उनी। नेपालमा आउँदा उनले रेडियो नेपालमा गीत गाउने अवसर पाइन्। आधुनिक, बाललगायत गीतमा स्वर दिइन्। त्यति बेला उनी १५–१६ वर्षकी मात्र थिइन्।

सिलोङको एउटा सांगीतिक टिमले उनलाई गीत गाउनकै लागि नेपाल लिएर आएको थियो। उनले राम्रो प्रस्तुति दिइन्। त्यति बेला उनलाई कसैले सोधे, ‘हामी तपाईँलाई सबै व्यवस्था मिलाइदिन्छौँ। नेपालमै बसेर गाउनु हुन्छ ?’
उमेर कलिलै थियो। उनले तत्कालीन समय नेपालमा बस्न अस्वीकार गरिन्। पछि भने नेपालमै आएर संघर्षशील जीवनयात्रालाई गति दिन थालिन्।

गाउँदै थिइन् उनी। तर उनको स्वरमा अचानक गड्बडी आयो। त्यतिबेला उनी त्रिशूली त्रिभुवन हाई स्कुलमा अध्यापन गर्दै थिइन्। भन्छिन्, ‘मेरो स्वरमा खराबी आएपछि मैले चिकित्सकलाई देखाएँ। तत्काल ठीक भएन। धेरै वर्ष उपचार गराएँ। मलाई अरूले तपाईँको स्वर के भएको हो भनेर सोध्थे।’

कोरोना–कालमा दुई पटक उनलाई त्यो महामारीले झम्टियो। अहिले स्वस्थ छिन्। भन्छिन्, ‘मेरो स्वर भासिएको धेरै भएको थियो। तर एक वर्षअघिदेखि भने मेरो स्वर फेरि फर्किएको छ।’

दशकअघि उनले रेडियो नेपालबाट एउटा बालगीत (लोरी) गाएकी थिइन्। आफ्नै शब्द र संगीतमा। शब्द थियो, ‘चिनचिन नानी चिनचिन…।’ आफ्नो सिर्जनाको माया कसलाई लाग्दैन र ? पछिल्लो समय भने त्यो गीत रेडियो नेपालबाट गायब छ। भन्छिन्, ‘मैले यो गीत रेडियोमा खोजेँ तर छैन भन्ने जवाफ आयो। यसरी गीत हराउनु राम्रो कुरा होइन।’

उनलाई आफूले कति गीतमा स्वर दिए भन्नेबारे त्यति जानकारी छैन। दशकौं पहिले साहित्यसर्जक जयदेव भट्टराईलाई गीतहरूको एउटा पाण्डुलिपि बुझाएकी थिइन्। त्यो पाण्डुलिपि हेरेर मात्र आफू ‘अपडेट’ हुने उनी बताउँछिन्। तर, उनको स्वरमा सजिएको देवी शर्माको शब्दबद्ध यो गीत अझै कालजयीको लहरमा आबद्ध छ,
‘रात ढल्यो आकाशमा ताराहरू लुके
हेर्दाहेर्दै नयन यी टोलाएर झुके…।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved