भारतको राजनीति

६ नेतामध्ये को बन्ला मोदीको उत्तराधिकारी ? शाह, योगी या अन्य कोही ?

उमेर र सम्भावनाको दृष्टिकोणबाट ६ नेताहरू नै मोदीको सम्भावित उत्तराधिकारीका रूपमा देखिन्छन् । तर, यीमध्ये पनि अमित शाह र योगी आदित्यनाथ मध्ये एकले मोदीको विरासत सम्हाल्ने भारतीय राजनीतिका विश्लेषकको अनुमान छ । यी दुईमध्ये शाह मोदीका प्रिय पात्र हुन् । योगी भने मास लिडर मानिन्छन् । उनको प्रभाव निरन्तर बढ्दो छ ।

६ नेतामध्ये को बन्ला मोदीको उत्तराधिकारी ? शाह, योगी या अन्य कोही ?

काठमाडौं । भारतको विद्यमान १७औं लोकसभाको कार्यकाल सन् २०२४ को जुन १६ मा समाप्त हुँदैछ । यसको निर्वाचन सन् २०१९ अप्रिल र मेमा भएको थियो । १८औं लोकसभा निर्वाचन २०२४ को मेमा हुने अनुमान छ । अर्थात् प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल पूरा हुन अब दुई वर्ष पनि बाँकी छैन ।

मोदी तेस्रो कार्यकालका लागि प्रतिस्पर्धी रहने छन् वा छैनन्, प्रष्ट छैन ।  दोस्रो कार्यकालपछि मोदी बाहिरिए भने सत्तारुढ भारतीय जनता पार्टीमा उनको उत्तराधिकारी को होला ? यस विषयमा भने चर्चा सुरु भइसकेको छ । सन् १९५० को सेप्टेम्बरमा जन्मिएका मोदी दोस्रो कार्यकाल पूरा गरिसक्दा ७४ वर्षका हुनेछन् । सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ६४ वर्षका थिए । प्रधानमन्त्री मोदीको स्वास्थ्य अहिले पनि उत्तिकै राम्रो देखिन्छ। शासन सञ्चालन र राजनीतिमा मोदीको उमेर र स्वास्थ्य बाधक बनेको छैन ।

पार्टीभित्र पनि मोदीको पकड र मतदातामा लोकप्रियता कायमै छ भनिन्छ । मोदीले तेस्रो कार्यकालका लागि पनि आकांक्षा राख्ने सम्भावना इन्कार गर्न सकिन्न । तर, भाजपाको इतिहास र नेतृत्व प्रणाली हेर्दा– दुई कार्यकालपछि उनी प्रधानमन्त्री पदको दौडबाट बाहिरिन सक्ने सम्भावना नै बढी छ । सामान्यतः ७५ वर्षपछि भाजपाका नेताहरूले सक्रिय राजनीतिबाट सन्यास लिने गरेका छन् । दोस्रो कार्यकाल पूरा गरिसक्दा मोदी यो समय सीमाको नजिक हुनेछन् । यदि, उनले संन्यास लिए भने उत्तराधिकारी को बन्ला त ? भाजपामा अहिले त्यस्ता केही नाम छन् जो मोदीको ठाउँ लिन सक्छन् ।

राजनाथ सिंह 

भाजपाको पार्टी पंक्तिमा वरिष्ठ नेता हुन् राजनाथ सिंह । उनी मोदीभन्दा एक वर्ष मात्रै कान्छा छन् । मोदीको पहिलो प्रधानमन्त्री कालमा उनी उपप्रधान तथा गृहमन्त्री थिए । उनको मर्यादाक्रम दोस्रो थियो । अहिले भने उनी रक्षामन्त्री छन् । अमित शाहपछि तेस्रो मर्यादाक्रममा छन्।

भाजपा राजनीतिमा राजनाथ सिंहको लामो संघर्ष र करिअर छ । उनी उत्तर प्रदेशको मुख्यमन्त्री र भाजपा अध्यक्षसमेत भइसकेका नेता हुन् । सन् २०००–२००२को बीचमा उनी उत्तर प्रदेशको मुख्यमन्त्री थिए । सन् २००५ र सन् २०१३ मा गरी उनी दुईपटक पार्टी अध्यक्षसमेत भएका थिए । तथापि, मोदीको उत्तराधिकारीका रूपमा सिंहको सम्भावनालाई त्यति बलियो मानिँदैन ।

त्यसका दुई कारण छन्,  पहिलो हो उमेर । मोदीको दोस्रो कार्यकालमा रक्षामन्त्रीको जिम्मेवारी पूरा गर्दै गर्दा उनी पनि ७३ वर्षका भइसकेका हुनेछन् ।
दोस्रो कारण भने, उनलाई तेस्रो मर्यादाक्रमको मन्त्री बनाइनु हो । जबकि, उनीभन्दा निक्कै कम उमेरका अमित शाह अहिले दोस्रो वरीयताका उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । अर्थात्, उनी मोदीको रोजाइमा अहिले पछि छन् ।

नितिन गडकरी 

भाजपाको उपल्लो पंक्तिमा अर्का वरिष्ठ नेता हुन्, नितिन गड्करी । उनी सन् २००९ देखि २०१३ बीचमा पार्टी अध्यक्ष थिए । पहिलोपटक पार्टी अध्यक्ष हुँदा उनी ४८ वर्षका मात्र थिए । उनको नाममा सबैभन्दा कम उमेरमा पार्टी अध्यक्ष भएको रेकर्ड छ । गडकरी अहिले रेल तथा यातायातमन्त्री छन् । मोदीको दोस्रो कार्यकालको अन्त्यसम्म पुग्दा उनी ६७ वर्षका मात्रै हुनेछन् । तसर्थ, उनलाई अहिले नै सम्भावनाको वृत्तबाट बाहिर राख्न सकिन्न ।

जेपी नड्डा

वर्तमान पार्टी अध्यक्ष जेपी नड्डाको पनि चर्चा गर्नैपर्ने हुन्छ। उनी पनि मोदीको उत्तराधिकारी हुन सक्ने हैसियत भएका व्यक्ति हुन् । अमित शाहपछि अध्यक्ष भएका नड्डाले सन् २०२० यता पार्टीको कमान सम्हालिरहेका छन् । अध्यक्ष हुँदा उनी ६० वर्षका थिए । सन् २०२४ को अन्त्यसम्म उनी ६४ वर्ष मात्रै हुनेछन् । नड्डा शाहभन्दा जेठा हुन्।

योगी आदित्यनाथ

भारतमा प्रधानमन्त्री हुन पार्टी अध्यक्ष तथा पूर्वपार्टी अध्यक्ष नै हुनुपर्छ भन्ने छैन । भाजपाबाट अहिलेसम्म २ जना मात्रै प्रधानमन्त्री भएका छन् । अटलबिहारी बाजपेयी र नरेन्द्र मोदी । बाजपेयी पार्टी अध्यक्ष भएका थिए, तर मोदी कहिल्यै पार्टीअध्यक्ष भएनन् । मोदी गुजरातको मुख्यमन्त्री हुँदै सन् २०१४ को लोकसभा निर्वाचनमा पार्टीबाट प्रधानमन्त्रीको भावी उम्मेद्वार भएका थिए । यदि, यो दृष्टान्तलाई अगाडि राख्ने हो भने लोकप्रिय वा शक्तिशाली मुख्यमन्त्रीबाट पनि मोदीको उत्तराधिकारी आउन सक्छ । त्यसमध्ये मुख्य दाबेदार हुन योगी आदित्यनाथ ।

सन् १९७२ मा जन्मिएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ अहिले ५० वर्षका मात्रै भएका छन् । पहिलोपटक मुख्यमन्त्री हुँदा उनको उमेर ४५ वर्षको मात्रै थियो । अहिले उनी दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका छन् ।

लगातार दोस्रोपटक उत्तरप्रदेशको मुख्यमन्त्री बनेर योगीले रेकर्ड बनाएका छन् । मुख्यमन्त्रीको पहिलो कार्यकालमा योगीको लोकप्रियता जुनस्तरमा घट्यो भन्ने ठानिएको थियो, त्यो पुृष्टि भएन । उनकै नेतृत्वमा उत्तर प्रदेश विधानसभामा भाजपाले दोस्रोपटक पनि बहुमत पायो । यसले पनि योगीलाई भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि ल्याएको छ ।

शिवराज सिंह चौहान

शिवराज सिंह चौहान मध्यप्रदेशका बहालवाला मुख्यमन्त्री हुन् । अहिले उनी ६३ वर्षका छन् । सन् २०१४ को लोकसभा चुनावसम्म उनी ६५ वर्षका हुनेछन् । तसर्थ, चौहानलाई मोदीको उत्तराधिकारीको सम्भावनाबाट बाहिर राख्न सकिन्न ।

अमित शाह 

अमित शाह मोदीको उत्तराधिकारी बन्ने दौडमा सबैभन्दा अघि मानिन्छन् । त्यसका केही कारण छन् । उनी मोदीकै राज्य गुजरातका हुन् । अर्को शाहलाई मोदीको आशिर्वाद पनि प्राप्त छ । सन् २०२४ मा शाह ६० वर्षका मात्रै हुनेछन्। उनी पनि भाजपाको पार्टी अध्यक्ष भइसकेका व्यक्ति हुन् । सन् २०१४ देखि सन् २०२० बीच उनी पार्टीका अध्यक्ष थिए । पहिलोपटक पार्टी अध्यक्ष हुँदा अमित शाह ५० वर्षका मात्र थिए ।

अमित शाह पार्टी संगठनमा बलियो पकड राख्ने नेता हुन्। सन् २०१४ र सन् २०१९ को आमनिर्वाचनमा उनी पार्टी संगठनको मुख्य सञ्चालक तथा अभियानकर्ता थिए । उनलाई भाजपाभित्रको राम्रो चुनावी रणनीतिकार मानिन्छ । सन् २०१४ को आमनिर्वाचनमा उनले उत्तरप्रदेश पार्टी प्रभारीको जिम्मेवारी सम्हालेका थिए । भाजपाले त्यो निर्वाचनमा उत्तरप्रदेशबाट रेकर्डतोड नतिजा हासिल गरेको थियो ।

उमेर र सम्भावनाको दृष्टिकोणबाट यसरी ६ नेताहरू नै मोदीको सम्भावित उत्तराधिकारका रूपमा देखिन्छन् । तर, यीमध्ये पनि अमित शाह र योगी आदित्यनाथ मध्ये नै एकले मोदीको विरासत सम्हाल्ने भारतीय राजनीतिका विश्लेषकको अनुमान छ । यी दुईमध्ये शाह मोदीका प्रिय पात्र हुन् । दिल्लीको सत्ता हात पार्नुभन्दा धेरै अघि गुजरातको मुख्यमन्त्री हुँदादेखि नै शाह मोदीको निकट थिए । शाह मोदीको मुख्यमन्त्री कालमा गुजरातको गृहमन्त्रीसमेत भएका थिए । गुजरात शासनकालमै बनेको मोदी– शाहको जोडी दिल्ली शासनकालमा समेत कायम रहेको छ ।

भाजपाको इतिहासमा यस जोडीलाई बाजपेयी–आडवाणी जोडीको दोस्रो संस्करण मानिन्छ। यही जोडीको नेतृत्वकालमा आएर भाजपाले पहिलोपटक बहुमतसहित देशको नेतृत्व गर्ने अवसर पायो । बाजपेयी–आडवाणीको युगमा भाजपा निरन्तर प्रभावशाली हुँदै गएको थियो । भाजपाले गठबन्धन सरकार पनि बनायो तर एकल बहुमत भने हासिल गरेको थिएन ।

शाहले गुजरातसहित भारतभर नै बलियो संगठनात्मक पकड राख्छन् । साथै, पश्चिम बंगालमा पछिल्लो समय भाजपाको विकासमा पनि उनको ठूलो योगदान भएको मानिन्छ । तर, योगी भने एक प्रकारका ‘मास लिडर’ हुन् । त्यसो त उत्तर प्रदेशको पार्टी संगठनमा उनको पनि बलियो पकड छ । तर, अन्य प्रदेशमा भने उनी केही कमजोर छन् । योगीको निरन्तर प्रभाव विस्तार भइरहेकाले यसै भन्न सकिने अवस्था भने छैन । उनले मोदी-शाहको जोडीविरुद्ध पार्टीमा छुट्टै संरचनाको अभ्यास गरेको आरोपसमेत लाग्ने गरेको छ ।

एक समय योगीको बढ्दो प्रभाव रोक्न मोदी र शाहले पार्टीबाटै उनलाई हटाउने प्रयास गरेको खबर पनि बाहिर आएको थियो । उत्तर प्रदेश निर्वाचनको संघारमा विवाद चर्केको पनि थियो । तर, निकट चुनावका कारण त्यो विवाद सुलह भएको थियो । जुन फेरि बल्झिन सक्छ ।

यता, मोदीको आशिर्वाद पनि शाहलाई नै हुने निश्चित छ । त्यसैले, अहिलेसम्मको स्थिति हेर्दा योगीभन्दा शाह नै मोदीका बलिया उत्तराधिकारी हुनसक्ने अनुमान गरिएको छ ।  अहिलेको मोदी सरकार असफल बन्यो र त्यसले भाजपाभित्रको शक्ति सन्तुलन फेरियो भने योगीको भाग्य चम्कन सक्नेछ । किनकि, मोदीले अंगालेको हिन्दूवादका कट्टर समर्थकको रोजाइमा शाहभन्दा योगी नै अघि आउन सक्छन् । त्यसबाहेकका चारजना नेता भने संयोगिक विकल्प मात्रै हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved