वीर अस्पतालमा एकैदिन तीन जनाको मस्तिष्कको सफल शल्यक्रिया

नेपालभ्युज

वीर अस्पतालमा एकैदिन तीन जनाको मस्तिष्कको सफल शल्यक्रिया

काठमाडौं। वीर अस्पतालमा एकै दिन तीन जना बिरामीको मस्तिष्क (ब्रेन) एनोरिजमको सफल शल्यक्रिया गरिएको छ। दुई महिला र एक पुरुषको पाँच वटा ब्रेन एनोरिजमको शल्यक्रिया गरिएको हो। उनीहरु क्रमश ४३, ६१ र ६७ वर्षका थिए। उनीहरुको अवस्था हाल सामान्य रहेको र करिब एक सातापछि डिस्चार्ज गरिने अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झाले बताए। अचेत अवस्थामा ल्याइएका ती बिरामीको बिहीबार सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

मस्तिष्कमा रहेको रगत बग्ने नशा फुटेर उनीहरु अचेत अवस्थामा पुगेका थिए। दुई जना पाँच दिन र एक जना दुई दिन अघि अस्पतालमा ल्याइएको थियो। उनीहरु तीन जनालाई आइसीयूमा राखेर उपचार गरिएको वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झाले जानकारी दिए।

डा झाको नेतृत्वमा भएको शल्यक्रियामा डा राजेन्द्र बस्नेत, डा विकेश खम्बु, डा विनोद राजभण्डारी, डा समीर अर्याल, डा सुशील मोहन भट्टराई, डा बिनित झा, डा सोम लामिछाने, डा नरेन्द्र शालिखे, रेजिडेन्ट डाक्टहरुमा डा प्रभात झा, डा नम्रता खड्का, डा कुमार पौडेल र डा सुबोध गौतम संलग्न थिए। यस्तै एनेस्थेसियामा डा विधुर बराल, डा गौरव रत्न बज्राचार्य, नर्सहरु सिन्धु गौतम, इश्वरी राजभण्डारी र अन्जना बराल शल्यक्रियामा सहभागी थिए।

रगत लैजाने नशाको भित्ता विभिन्न कारणले फुल्ने गर्छ, जसलाई ब्रेन एनोरिजम भनिन्छ। नशाको ती भित्ताहरु रगतको गतिले विस्तारै बेलुन जसरी फुलिदै जान्छ। र, धेरै ठूलो भए भने ती फोकाहरु फुट्न जान्छ। ती फोका फुट्यो भने ब्रेन हेमरेज हुन्छ।

ब्रेन एनोरिजमलाई न्यूरो सर्जरीको मस्तिष्क सम्बन्धी रोगहरुमध्ये सबैभन्दा चुनौतीपूर्ण मानिन्छ। यो रोगले निकै कम व्यक्तिलाई मात्र सताउँछ। नेपालमा एक प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र यो रोग छ की भन्ने अनुमान रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved