सांसदहरूको आपत्तिबीच नागरिकतासम्बन्धी विधेयक संसदमा पेश

नेपालभ्युज

सांसदहरूको आपत्तिबीच नागरिकतासम्बन्धी विधेयक संसदमा पेश

काठमाडौं। सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ।

बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेश गरेका हुन्।

त्यसअघि बैठकमा उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि एमालेका सांसद भीम बहादुर रावल, शेर बहादुर तामाङ र नेमकिपाका सांसद प्रेम सुवालले विरोधका सूचना प्रस्तुत गरेका थिए।

उक्त क्रममा रावलले नागरिकतासम्बन्धी पछिल्लो विधेयकले विदेशीलाई ढोका खोल्न लागेको भन्दै आपत्ति जनाए। यसअघिको विधेयकमाथि लामो समय छलफल भइसकेको अवस्थामा पहिलेको विधयेक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु उचित नभएको उनले बताए। त्यस्तै एमालेकै अर्का सांसद तामाङले नयाँ विधेयकमा भएको कतिपय विषयहरूप्रति आपत्ति जनाए।

त्यस्तै नेमकिपाका सांसद सुवालले राष्ट्रिय हितविपरीत नागरिकता विधेयकलाई अघि बढाउन नहुने बताए।

बैठकले तीनै जना सांसदको विरोधको सूचना अस्वीकृत गरेको थियो। बैठकमा विधेयकमाथि जानकारी दिँदै गृहमन्त्री खाँणले संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको दाबी गरे।

यसअघिको विधेयकमाथि सहमति जुटेका विषयलाई समावेश गर्दै नागरिकताविहीनहरूको समस्या समाधान गर्न विधेयक ल्याइएको उनको भनाइ थियो।

यसअघिको विधेयकलाई नै सहमति गर्ने प्रयास भए पनि त्यसो हुन नसकेकाले फिर्ता गर्नुपरेको उनले स्पष्ट पारे। प्रतिनिधिसभा बैठकमा पेश भएसँगै थप प्रक्रियाका लागि नयाँ नागरिकता विधेयक अघि बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved