भानुमा बाढी पहिरोको क्षति अवलोकनमा पुगे रामचन्द्र पौडेल

पौडेलले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग फोन सम्पर्क गरेर ढाँडखोलाले गरेको क्षतिका कारण बस्ती जोखिममा रहेकाले तटबन्धनका लागि तत्काल व्यवस्था गर्नसमेत आग्रह गरेका छन्।

नेपालभ्युज

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका–११ मा बाढीले क्षति पुर्‍याएका स्थानको सोमबार अवलोकन तथा निरीक्षण गरेका छन्। एक साताअघि वर्षाका कारण बाढी पहिरोले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गरेका हुन्।

नेता पौडेलले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसललगायतका स्थानको अवलोकन गरेका छन्। स्याउदे खोलाको नवनिर्मित पुल क्षतिको अवलोकन, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयको घर जोखिम भएको स्थानको उनले निरीक्षण गरे।

क्षति भएको क्षेत्रको अवलोकन गर्दै नेता पौडेलले यही असारभित्रै तारजाली हालेर अहिले तत्कालका लागि तटबन्धनको व्यवस्थापन गर्ने काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

अहिले तत्कालको लागि ढाँडखोलाबाट बस्तीमा जोखिम देखिएको स्थानमा तारजाली लगाउने र खेतमा पानी पुर्‍याउनका लागि पाइपको व्यवस्था गरिने उनको भनाइ थियो।

सो अवसरमा नेता पौडेलले ढाँडखोलाले बगाएर बेपत्ता भानु–११ का चन्द्रबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोगसमेत गरे। त्यस्तै भानु–११ सुन्दर बस्तीका अर्जुन कुँवरको भत्किएको घरको समेत अवलोकन गरे।

सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले जङ्गलबाट आएको पहिराले ढाडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटबन्धन निर्माण गरिने बताए। यसपछि विस्तारै दीर्घकालीनरूपमा योजना बनाएर तटबन्धन गरिने उनले बताए।

यसैबीच वरिष्ठ नेता पौडेलले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग फोन सम्पर्क गरेर ढाँडखोलाले गरेको क्षतिका कारण बस्ती जोखिममा रहेकाले तटबन्धनका लागि तत्काल व्यवस्था गर्नसमेत आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved