सन्दर्भः रिमाल जन्मजयन्ती

सम्झनाको कुइनेटामा आधुनिक कवि गोपालप्रसाद रिमाल

कवि गोपालप्रसाद रिमाललाई जोगाउन पनि मेरा हजुरबुबाले भूमिका खेल्नुभएको रहेछ। उहाँका सुपुत्र मदन रिमाल मेरा साथी हुन् र उनले एकपटक मसँग भनेका थिए, “मेरो बुबालाई मृत्युदण्डको सजाय दिइएको रहेछ तर के कारणले हो, त्यो मृत्युदण्डलाई कैदमा परिणत गरिएको रहेछ।”

सम्झनाको कुइनेटामा आधुनिक कवि गोपालप्रसाद रिमाल

आधुनिक कवि गोपालप्रसाद रिमालका माइला छोरा मदन मेरा अत्यन्तै घनिष्ठ साथी। हामीले त्रिचन्द्र कलेजमा सँगै पढ्यौँ। सहपाठी भएको नाताले म मदनको घरमा बारम्बार गइरहन्थेँ। उनी बुबा गोपालप्रसाद रिमालसहित सपरिवार काठमाडौं, लगन टोलमा बस्थे। म जाँदा कवि रिमाल भने हामीसँग त्यति धेरै बोल्नुहुन्नथ्यो। म जाँदा उहाँलाई सुतिरहेको देख्थेँ। रिमाल बाहिरफेर हिँड्डुल गर्नुहुन्नथ्यो। कुनै समारोहमा जाँदा पनि पत्नी र छोराले लिएरै जानुहुन्थ्यो। एकपटक ‘त्रिभुवन पुरस्कार’ लिन जाँदा पनि उहाँलाई पत्नी र मदनले लिएर गएका थिए।

उहाँको घरमा जाँदा त्यो परिवारले मलाई आफ्नो घरमा आएको मन पराउँथ्यो। एक हिसाबले म उहाँको घरमा जाँदा उहाँहरूलाई स्वीकार्य हुन्थ्यो। कम पढ्ने वा नपढ्ने स्वभावका विद्यार्थीहरू कसैका घरमा जाँदा भने त्यो घरका अभिभावकहरूले त्यति मन पराउँदैनथे। मदन पनि हामीकहाँ आउँदा मेरा बुबा-आमा खुशी नै बन्नु हुन्थ्यो। अझ, बुबाले त मदनलाई ‘गोपालप्रसादको छोरा’ भनेपछि राम्रो ठान्नु हुन्थ्यो।

०००

राणा प्रधानमन्त्रीहरूसँग निकट रहेर काम गरे पनि मेरो हजुरबुवा टीकाप्रसाद चालिसे केही उदार स्वभावको हुनुहुन्थ्यो। कवि गोपालप्रसाद रिमाललाई जोगाउन पनि मेरा हजुरबुबाले भूमिका खेल्नुभएको रहेछ। उहाँका सुपुत्र मदन रिमाल मेरा साथी हुन् र उनले एकपटक मसँग भनेका थिए, “मेरो बुबालाई मृत्युदण्डको सजाय दिइएको रहेछ तर के कारणले हो, त्यो मृत्युदण्डलाई कैदमा परिणत गरिएको रहेछ।”

एकपटक मैले हजुरबुबालाई सोधेको थिएँ, “एकजना लगनमा बस्ने रिमाल थरका बाहुन मान्छेलाई जुद्धशमशेरले मार्न खोजेका थिए रे हो, हजुरबुबा?”

हजुरबुबाले भन्नुभएको थियो, “खै, नाम चाहिँ मलाई पनि थाहा भएन तर नागार्जुन दरबारमा जुद्धशमशेर बस्दा मैले मृत्युदण्ड पाएका एकजना बाहुनलाई भने बचाएको छु। त्यो दिन बिहान म बालाजुको बाइसधारामा नुहाएर नागार्जुन दरबारतिर गएको थिएँ। तर, त्यो दिन मलाई अघिल्लो दिनको टुँडिखेलको सम्झना झल्झली आयो। अघिल्लो दिन केही मानिसलाई मृत्युदण्डको घोषणा गरिएको थियो तर राजाले अन्तिम निर्णय दिन भने बाँकी थियो। नागार्जुनमा पुग्दा मेरो अनुहार निन्याउरो थियो। मलाई देखेपछि जुद्धशमेशरले सोध्नुभयो, ‘किन न्याउरो मुख लगाएको आज, टीकाराम ?’ मैले ‘मलाई अप्ठेरो लागिरहेको छ, म भन्दिनँ सरकार’ भनेँ।”

त्यसपछि जुद्धशमशेरले भनेछन्, “आफूलाई लागेको कुरा भन। जे भए पनि म गर्दिन्छु।”

त्यो समय मेरा हजुरबुबा जुद्धशमशेरको अत्यन्तै विश्वासिला पात्र हुनुहुन्थ्यो रे। मेरो हजुरबुबाले नचाखीकन जुद्धशमशेरले खाना नै खाँदैनथे रे। त्यसपछि मेरा हजुरबुबाले भन्नुभएछ, “सरकारसामु एउटा कुरा बिन्ती गरौं भनेको। तर भन्न अप्ठेरो लागिरहेको छ।”

फेरि जुद्धशमशेरले भनेछन्, “भन, नहिच्किचाइकन भन।”

हजुरबुवाले कथा भन्नुभएछ, “सरकार, हिजो मृत्युदण्ड दिने मानिसको बाहुनी लगायत सरकारको जय होस् भन्दै छाती पिटिपिटी रोइरहेका थिए। त्यो देखेर मेरो त मनै रोएर आयो।”

“को हुन् ती मान्छे ?”, जुद्धशमशेरले सोधेछन्।

“त्यही सरकारको गाथगादी ताक्ने भनेर मृत्युदण्ड पाएको मान्छेको परिवार हो, सरकार”, मेरा हजुरबुबाले भन्नुभएछ।

“के भन्छन् त तिनीहरू ?”, जुद्धशमशेरले सोधेछन्।

“अरू केही भनेका छैनन्। सरकारको जय होस् मात्रै भनेका छन्”, मेरा हजुरबुबाले भन्नुभएछ।

जुद्धशमशेरले भनेछन्, “त्यसो भए अहिले त्यो रोक्न लगाउनू।”

भोलिपल्ट जुद्धशमशेरसँगै मेरा हजुरबुबा पनि जानुभएछ र मृत्युदण्ड पाएका त्यही मानिसतिर हजुरबुबाले संकेत गर्दै जुद्धशमशेरलाई देखाइदिनु भएछ। त्यसपछि जुद्धशमशेरले भनेछन्, “यसलाई जेलमा हालिदिनू।”

यसरी हजुरबुबाले मसँग ‘मैले एकजना ब्राह्मणलाई बचाएको थिएँ’ भनेर मसँग कुरा गर्नुभएको थियो। तर, कसलाई बचाएको भन्ने कुराचाहिँ उहाँले बताउन सक्नुभएन।

०००

म अध्ययनबाहेक अरू सिर्जनात्मक गतिविधिहरूमा पनि सामेल हुन्थेँ। एक पटक म गोपालप्रसाद रिमालका माइला छोरा मदन र नाट्य-निर्देशक हरिप्रसाद रिमालका जेठा छोरा अरूण रिमालसँग रेडियो नेपालमा गएको थिएँ। त्यहाँ मैले कृष्णा ताम्रकारलाई भेटेँ। हामी रेडियो नेपालको बाल कार्यक्रममा गएर आफ्ना रचना सुनाउँथ्यौँ। त्यो समय म ‘गोरखापत्र’ मा सम्पादकलाई चिठी लेख्थेँ र मेरा केही चिठी छापिएका पनि थिए। सिंहदरबार जलेपछि मैले ‘सिंहदरबारलाई यसरी बनाउनुपर्छ’ भनेर पनि लेखेको थिएँ र त्यो पनि गोरखापत्रमा छापिएको थियो। त्यही बेला मैले भैरव अर्याललाई भेटेँ। उहाँ नेपाली टोपी, दौरा सुरुवाल कम्मरपेटी अनि कालो कोट लगाएका अग्लो हुनुहुन्थ्यो। उहाँका अगाडिका दाँत ठूला र सेतासेता थिए। मैले भेटेपछि उहाँसँग भनेँ, “मैले कविता लेखेको छु। कविता छाप्न मन लागेको छ।” त्यो बेला म देशभक्तिले भरिएका कविताहरू लेख्थेँ।

मेरो कुरा सुनेपछि अर्यालले भन्नुभयो, “बाबु, तिम्ले लेख्ने कोशिश गर्‍यौ, यो राम्रो कुरा हो। तर, कविता भनेको पेन्सिल तिखारेजस्तो हुनुपर्छ। पेन्सिललाई तिखारेर जति सानो बनाइन्छ, त्यसले त्यति नै राम्रो रेखा कोर्छ। मोटो भयो भने रेखा राम्रो बन्दैन। राम्रो लेखेर ल्याऊ, म छापिदिउँला।”

त्यसपछि मलाई कविता लेख्न आँट आएन। तर, मैले हाजिरी जवाफ प्रतियोगितामा भने बारम्बार भाग लिइरहन्थेँ। मेरो टोलीमा म, गोपालप्रसादका छोरा मदन रिमाल, अरूण रिमाल र लक्ष्मण श्रेष्ठ र माधव पौडेल हुन्थ्यौँ। बाल कार्यक्रमहरूमा भाग लिँदा भने मैले केही पुरस्कारसमेत पाएको थिएँ।

अरूण मेरा सहपाठी भएर हुनुपर्छ, मलाई रिमाल दम्पती (हरिप्रसाद रिमाल र कल्याणी रिमाल)ले नाटकमा खेल्न आमन्त्रण पनि गर्नुभएको थियो। मैले केही रेडियो नाटकमा पनि अभिनय गरेँ। नाटकमा खेल्दा एक पटकको सात रूपैयाँ दिइन्थ्यो। एउटा नाटकमा भने मैले राजाको आठपहरिया भएर खेलेको थिएँ। त्यो नाटकको मुख्य पात्रमा मदनदास श्रेष्ठ र नायिकामा शकुन्तला गुरुङले खेल्नुभएको थियो। नाटकमा मेरो स्वर भनेअनुसार भएको हुँदा सबैले प्रशंसा पनि गरेका थिए।

(आधुनिक कवि गोपालप्रसाद रिमालबारे लेखिएको यो संस्मरण प्राज्ञिक व्यक्तित्व डा. चालिसेको आत्मवृत्तान्त ‘मैले छिचोलेका कुइनेटा’ बाट सम्पादित अंशका रूपमा लिइएको हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved