अमेरिकी उपविदेशमन्त्री जियाले तिब्बती शरणार्थीलाई उक्साउने काम गरिन्ः ओली

नेपालभ्युज

अमेरिकी उपविदेशमन्त्री जियाले तिब्बती शरणार्थीलाई उक्साउने काम गरिन्ः ओली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरर्णार्थीहरूलाई उक्साएको आरोप लगाएका छन्।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले उज्रा जिया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा जानु कूटनीतिक मर्यादा विपरीत भएको बताएका हुन्।

‘‘अमेरिकी विदेश मन्त्रालयका उपमन्त्री उज्रा जियाले नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरूलाई उक्साउने काम गर्नुभयो’’, ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘‘यसले नेपालको परराष्ट्र नीतिको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने काम भएको छ।’’

६ जेठबाट नेपालको तीन दिने भ्रमणमा आएकी तिब्बती मामिला सम्बन्धी अमेरिकी विशेष संयोजकले नेपालमा रहँदा शरणार्थी शिविरदेखि तिब्बती विद्यार्थी पढ्ने निम्न माध्यमिक विद्यालय पनि पुगेकी थिइन्। तिब्बती निर्वासित धर्म गुरु दलाई लामालाई भेटेर नेपाल आएकी अमेरिकी उपविदेशमन्त्री जियाले शरणार्थी शिविर भ्रमण गरेको विषयलाई एमाले अध्यक्ष ओलीले नेपालको कूटनीतिक मान्यता विपरीत भएको बताएका हुन्।

नेपाललको परराष्ट्र मन्त्रालयले जियाको नेपाल भ्रमण पूर्व नेपालस्थित अमेरिकी दूतावासलाई उपविदेशमन्त्री जियाको नेपाल भ्रमण नेपालको परराष्ट्र नीतिअनुरुप गर्न आग्रह गरेको थियो। नेपालको परराष्ट्र मन्त्रालयको आग्रहविपरीत जियाले शरणार्थी शिविर र विद्यालयको भ्रमण गरेकी थिइन्। यस्तै उनले दलाई लामाका नेपाल प्रतिनिधिलाई पनि भेटेकी थिइन्।

नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँणसँग जियाले भेट गरिन्। यस्तै प्रधानमन्त्री पत्नी आरजू देउवा र सरकारका मुख्य सचिव शंकर वैरागीलाई पनि भेट गरेकी थिइन्। सबै भेटघाटमा अमेरिकी उपविदेशमन्त्री जियाले नेपालमा रहेका तिब्बती शरणार्थीलाई शरणार्थी परिचय पत्र व्यवस्था गर्न आग्रह गरेकी थिइन्।

नेपाल सरकारले आफ्ना दुई छिमेकी देशको सुरक्षा संवेदनशीलताको ख्याला राख्नुपर्ने बताउँदै अमेरिको सबै आग्रहलाई स्वीकार गर्न नसकिने जवाफ दिएको थियो।

नेपालले जियाको आग्रहमा यस्तो जवाफ दिए पनि नेपालको अनिच्छाका बाबजूद अमेरिकी उपविदेशमन्त्री जियाको शरणार्थी शिविरदेखि विद्यालयको भ्रमणलाई भने नेपालका विभिन्न तप्काका मानिसले निको मानेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved