बुटवलमा ३० वर्षपछि फर्कियो कांग्रेसको नेतृत्व, हेटौँडाले पायो महिला मेयर

नेपालभ्युज

बुटवलमा ३० वर्षपछि फर्कियो कांग्रेसको नेतृत्व, हेटौँडाले पायो महिला मेयर

काठमाडौं। बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ। बुटवल वडा नंं. ११ को ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेकाले पाण्डेयको जित निश्चित भएको हो।

बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ।

बुटवल ११ मा १० हजार ३५३ मत खसेकोमा अब ४५ सय मत गन्न बाँकी छ। ५९ सय मत गणना हुँदा खेलराजले २ हजार ५७४ र भट्टराईले २ हजार २५५ मत पाएका छन्। उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो। बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले ३० वर्षपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन लागेको हो।

हेटौँडामा महिला नेतृत्व

यता हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की नेता मीना लामा निर्वाचित भएकी छन्। २०४९ सालदेखि नेकपा एमालेले नेतृत्व गर्दै आएको उपमहानगरपालिमा ३० वर्षपछि फरक पाटीको नेतृत्व निर्वाचित भएको हो।

एमाले र राप्रपाका उम्मेदवारसँगको तीव्र प्रतिस्पर्धाका बीच लामा बागमती प्रदेशको एक मात्र उपमहानगर हेटौँडाको पहिलो महिला मेयरसमेत बनिन्। एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार एकसय ६७ मतले पछि पार्दै उनी मेयर निर्वाचित भएकी हुन्।

लामाले २३ हजार ७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो स्थानमा चित बुझाउनु प¥यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved