सप्तरीको डाक्नेश्वरीमा दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने

नेपालभ्युज

सप्तरीको डाक्नेश्वरीमा दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने

जनकपुरधाम। सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदान स्थलको स्थगित गरिएको दुई ओटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ।

डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदान स्थलमै आज बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो।

‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्याम शर्मा पौडेल घटनास्थल पुगेका थिए।

मतदान स्थलमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको हो।

अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved