मौन अवधिको पहिलो दिनमा २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन्। यस्तै, मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ।

नेपालभ्युज

मौन अवधिको पहिलो दिनमा २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण

काठमाडौं। प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो।

कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन्। यस्तै, मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ।

फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको पाइएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

बोहराका अनुसार ५ जना पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन्। मंगलबार राति १२ बजेदेखि बुधबार साँझसम्म १३ ओटा अनलाइन सञ्चार माध्यम, ५ ओटा पत्रिका, ४ ओटा टेलिभिजन र ३ ओटा रेडियोबाट सम्प्रेषित सामग्री निर्वाचन आचारसंहिताविपरीत देखिएपछि पत्र काटेर हटाउन, रेडियो र टेलिभिजनको हकमा तत्काल रोक्न र सच्याउन निर्देशन दिइएको छ।

यसैबीच, काउन्सिलले मौन अवधिमा १० ओटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। दर्ता नभएका तथा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेका वेबपोर्टललाई यस्तो कारबाही गरिएको बोहराले बताए।

निर्वाचन आचारसंहिता लागू भएको मितिदेखि निरन्तर सञ्चार माध्यमका सामग्री र पत्रकारका पोष्टहरूमा अनुगमन गरिरहेको काउन्सिलले मौन अवधिमा २४ सै घण्टा निगरानी बढाएको छ।

सूचना अधिकारी बोहराले निर्वाचनको अन्तिम ७२ घण्टा अति संवेदनशील हुने भन्दै सर्तक हुन र आचारसंहिताविपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved