आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई गणेश थापाको चुनौती

उनले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागीदार बन्नुपर्ने बताए।

नेपालभ्युज

आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई गणेश थापाको चुनौती

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

ललितपुरस्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लगाइएका आरोपहरु प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका हुन्।

अध्यक्ष शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध अन्तरवार्ता दिएका थिए। सोही विषयमा थापाले आफूमाथि कपोलकल्पित आरोप लगाएको भन्दै ती आरोपहरु प्रमाणित गर्न चुनौती दिएका हुन्।

उनले भने, ‘‘मैले राम्रो काम गरेको थिएँ। वर्तमान अध्यक्षले लगाएका आरोप सात वर्षदेखि सहेर बस्नु मेरो लागि कठिन थियो। मलाई लगाइएका आरोप, आरोप मात्र हुन्। ती आरोप पुष्टि भएमा फुटबलको विषयमा म बाेल्ने छैन,’’ थापाले भने।

उनले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागीदार बन्नुपर्ने बताए। एएफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको भने उनले स्वीकार गरे। सहयोग लिएकै कारण आफूले फिफाको प्रतिबन्ध भोग्नुपरेको उनको भनाइ छ।

थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो। पैसा लिएको पुष्टि भएपछि कात्तिक, २०७२ सालमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना समेत गरेको थियो। फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved