सरकारकाे नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जेठका लागि संसद अधिवेशन आह्वान गरेकी थिइन् ।

नेपालभ्युज

सरकारकाे नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस हुने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जेठका लागि संसद अधिवेशन आह्वान गरेकी थिइन् । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।

प्रवक्ता पाण्डेका अनुसार सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुनेछ। बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरिसकेकाे छ।

३ जेठमा पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ। जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुनेछ। ७ जेठमा सरकारको नीति तथा कार्यक्रम संसदमा भएपछि त्यसको संशोधन र छलफल ८,९,१० र ११ गते निर्धारण हुने प्रवक्ता पाण्डे बताउँछन्। १२ जेठ वा १३ मा संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नेछन्। १५ जेठमा बजेट भाषण हुन्छ।

उनले भने, ‘‘भौतिक रुपमा गर्ने तयारीहरु सकिएको छ। उपकरणहरुको परीक्षण गर्ने, हलभित्र मर्मत तथा सरसफाइ गर्ने काम सम्पन्न भइसकेको छ। सुरक्षा मापदण्ड पहिलाकै अपनाउने योजना रहेको छ। कोरोना कम भए पनि मास्क लगाउने, सेनिटाइजर लगाउने काम यथावत् रहन्छन्। कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रस्ताव गरिसकेको अवस्था छ।’’

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved