स्थानीय निर्वाचनका चार उम्मेदवारको मृत्यु

निर्वाचन आउन दुई दिन बाँकी रहँदा चार उम्मेदवारको निधन भएको हो।

नेपालभ्युज

स्थानीय निर्वाचनका चार उम्मेदवारको मृत्यु

काठमाडौं। स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका चार उम्मेदवारको मृत्यु भएको छ।

निर्वाचन आउन दुई दिन बाँकी रहँदा उपप्रमुख, वडाध्यक्ष, सदस्यमा उम्मेदवारी दिएका चार उम्मेदवारको निधन भएको हो।

सोमबार मात्रै दुई उम्मेदवारको निधन भयाे। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी सुभावति कुर्मी र तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएकाे हाे।

कुर्मी निवर्तमान उपप्रमुख समेत हुन्। उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो। महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा उनको हृदयघातका कारण निधन भएको बताइएको छ।

एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको पनि सोमबार नै निधन भएको हो। मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित उनी चुनाव प्रचारको क्रममा बिरामी परेका थिए। बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो। त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन, गएराति निधन भयो।

तुलसीपुरको बघौसी निवासी चौधरी यसअघि वडा नम्बर १७ को वडा सदस्य थिए।

एक साताअघि नेपाल (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको निधन भयो। उनको १७ वैशाखमा निधन भएको हो।

यस्तै १७ वैशाखमा कपिलवस्तुमा बुद्धभूमि नगरपालिका– ८ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि भारतको लखनऊ लगिएको थियो। ४१ वर्षीय तिवारीको उपचारका क्रममा निधन भएको हो।

उक्त वडामा उनीसहित नेपाली कांग्रेस, लोसपा, राप्रपा, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीपीका गरी ६ उम्मेदवार प्रतिस्पर्धामा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved