महानगरबासीको शिर ठाडो हुनेगरी काम गर्छु : सिर्जना सिंह

नेपालभ्युज

महानगरबासीको शिर ठाडो हुनेगरी काम गर्छु : सिर्जना सिंह

काठमाडौं। गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले आफूले जिते काठमाडौँका सबै वडामा ‘शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना गर्ने बताएकी छन्।

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले भनिन्, ‘ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु।”

नेत्री सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन आफू लाग्ने बताइन्। “म राजनीतिककर्मी हुँ, राजनीतिक परिवारमा विवाह गरेर घर सम्हाल्दै गर्दा पद लिने अवसर पाइनँ, अब पद लिनका लागि तपाईंहरूका अगाडि आएको छु, मलाई प्रमुखमा विजयी गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन्।

उनले काठमाडौँ महानगरभित्र बस्ने सम्पूर्ण बासिन्दाको शिर ठाडो हुनेगरी आफूले काम गर्ने बताइन्। उनले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, युवालाई उद्यमी बनाउने, महानगरभित्र रहेका विभिन्न क्लबलाई खेलकूद क्षेत्रमा जोड्नेलगायतका काम आफूले गर्ने स्पष्ट पारिन्।

नेत्री सिंहले काठमाडौँ महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउँदै महानगरभित्रका सेवा सुविधालाई चुस्तदुरुस्त बनाउँदै सुशासन कायम गराउने उल्लेख गरिन्। काठमाडौँ भित्रको सधैँ चर्चामा आउने फोहर व्यवस्थापन र ढल व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved