धनगढीमा गठबन्धन दलको घोषणापत्र : आकाशेपुल निर्माणदेखि ‘ह्याप्पी स्कुल’

पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिने, उपमहानगरपालिकाको उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधासम्पन्न र सबैले गौरव गर्न लायक ‘नमुना बस्ती’बनाइने प्रतिबद्धता जनाइएको छ।

नेपालभ्युज

धनगढीमा गठबन्धन दलको घोषणापत्र : आकाशेपुल निर्माणदेखि ‘ह्याप्पी स्कुल’

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनले संयुक्त घोषणापत्र जारी गरेको छ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले निकालेकव २२ बुँदे प्रतिबद्धतापत्रमा धनगढीमा आकाशे पुल निमार्ण देखी ‘ह्याप्पी स्कुल’को अवधारणाहरू समावेश गरिएका छन्। यस्तै धनगढीलाई महानगरपालिका बनाउन र शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संशाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट लिइने उल्लेख छ।

सडक किनारामा वृक्षरोपण गरिने, ‘हाम्रो धनगढी हरित धनगढी’ बनाउने, हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतम पाँचदेखि दश वटा बिरुवा रोप्न आग्रह गरिने, धनगढी नगरभित्र रहेका सडक र खोलाहरूका दुवै किनारमा पैदल मार्ग निर्माण गरिने उल्लेख छ।

पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिने, उपमहानगरपालिकाको उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधासम्पन्न र सबैले गौरव गर्न लायक ‘नमुना बस्ती’बनाइने प्रतिबद्धता जनाइएको छ।

उपमहानगर पालिकाका वडा न १४, १८ र १९ मा टाउन प्लानिङ शुरु गरिने, धनगढीको मुख्य सडक क्याम्पस रोड, चौराहा र शहीद गेटमा आकाशे पुल निर्माण गरिने र एउटा वडा एउटा पार्क, एउटा पोखरी र एउटा पुस्तकालय निर्माण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

उपमहानगरपालिकाका विभिन्न स्थानबाट बग्ने खुटिया, मोहना नदी, सुकुटी र कैलाली नालालगायत नदी तथा खोलानाला किनारामा खुला पार्क निर्माण तथा वातावरणमैत्री साइकल ट्रयाक निर्माण गरिने, एक गाउँ बहु उत्पादन नीतिअनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरू सञ्चालन गरिने, फूलबारीलाई पशुपालन, उर्मा, बेला, घुइयाँघाटलाई कृषि जोन बनाइने, अर्गानिक कृषि खेतीलाई प्रोत्सहान गरी त्यसको बजारीकरणमा सहयोग गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

यस्तै, विद्यालयमा बालबालिकाको शतप्रतिशत पहुँच पुर्‍याउन ‘हेप्पी स्कुल’को अवधारणाअन्तर्गत चार वर्षसम्मका बालबालिकालाई ‘अनिवार्य विद्यालय भर्ना’ कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा बृद्धि गरिने र पाँच वर्षमा विद्यार्थीहरूको विद्यालय छोडर शून्यमा झारिने, धनगढी उपमहानगरपालिकालाई बालश्रममुक्त उपमहानगर बनाइने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिने र निजी विद्यालयहरूको शुःल्क अनुसार सेवा सुविधा भए नभएको अनुगमन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गरिने, उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने, उर्मा र फूलबारी दुवैलाई पायक पर्ने गरी २५ शैय्याको सुविधासम्पन्न अस्पताल स्थापना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।

उपमहानगरपालिकाका भित्री सडकलाई रिङरोड, हुलाकी सडक र शहरी सघन सडकको सञ्जालमा जोडिने, धनगढी उपमहानगरपालिकाभित्र अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक टर्मिनलसहित बसपार्क निर्माण गरिने, प्रतिबद्धतापत्रमा भनिएको छ।

नगर क्षेत्रमा पाँच वटा इलेक्ट्रिक बस निजी, सहकारी र साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा ल्याइने प्रतिबद्धतापत्रमा उल्लेख छ। उपमहानगर पालिकाका वडा नं. १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिने, ५० करोड रुपैयाँभन्दा बढी लगानीका होटल तथा उद्योग तथा कलकारखानाको नक्सा पासमा ५० प्रतिशत छुट गरिने उल्लेख छ।

‘नयाँ परिवेशमा स्थानीय सरकार सञ्चालनको अभ्यासका क्रममा जानी नजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने र राम्रा अनुभव र सिकाइलाई धनगढी उपमहानगरको विकास र समृद्धिका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ प्रतिबद्धता पत्रमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved