वर्षमानको प्रश्न : प्रमुख निर्वाचन आयुक्त र केपी ओलीको अभिव्यक्ति कसरी मिल्यो

नेपालभ्युज

वर्षमानको प्रश्न : प्रमुख निर्वाचन आयुक्त र केपी ओलीको अभिव्यक्ति कसरी मिल्यो
फाइल फोटो

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाए।

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरे। कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए।

नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरे। उनले निर्वाचन आयोग रेफ्रीको भूमिकामा बस्नुपर्ने पनि बताए।

उनले भने, “हामी विभिन्न संवैधानिक निकायहरू, व्यक्तिहरू, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्न पनि हामीले अपिल गर्न चाहन्छौँ। अनुरोध गर्न चाहन्छौँ। निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सीमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन। कोही समर्थक हुँदैन। एउटा हाइली प्रोफेसनल मान्छे। उच्च व्यवसायिक क्षमता भएको, दक्षता भएको मान्छे नै त्यहाँ पुग्ने हो संविधानले त्यो विश्वास गरेको छ। त्यस अर्थमा निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा। रेफ्री आफै मैदानमा ओर्लेर खेल खेल्न लाग्यो। गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ?

उनले थपे, “म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईंहरू पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रीको भूमिकामा बसिदिनुस्। रेफ्री जति प्रोफेशनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ। लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यावसायिक, दक्ष हुन्छ। त्यति नै लोकतन्त्र सुदृढ हुन्छ। हिजो उहाँले भन्नुभयो असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिदैन भन्नुभयो। त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved