हेटौंडामा ४९ जनाको उम्मेदवारी फिर्ता, जसपा फेरि गठबन्धनमा

नेपालभ्युज

हेटौंडामा ४९ जनाको उम्मेदवारी फिर्ता, जसपा फेरि गठबन्धनमा

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

विभिन्न दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए।

सत्ता गठबन्धनका पाँच दलमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो। जसपाले उम्मेदवारी दिएपछि हेटौंडामा गठबन्धन तोडिएको भनिए पनि जसपाले उम्मेदवारी फिर्ता लिएको हो।

हेटौंडाको मेयर पदमा उम्मेदवारी दिएका ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मेयर पदको लागि उम्मेदवारी दिएको जसपा नेपालका दीपा लामाले उम्मेदवारी फिर्ता लिएकी छन्। त्यसैगरी नेपालका लागि नेपाली पार्टीका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै हेटौंडाको उपमेयर पदमा उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जसपा नेपालका हरिहर खतिवडा र नेकपा एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत शर्माले बताए।

बकैयामा माओवादीबाट अध्यक्ष उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता लिएकी छन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको बताइएको छ। गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्त बहादुर खत्रीलाई कांग्रेसले सघाउने जनाइएको छ।

बकैया गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण घिमिरेले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरूसहित बकैयामा २१ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ।

मनहरीमा पनि उम्मेदवारी फिर्ता

मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेको भन्दै न्यौपानेले नेपाली कांग्रेस (बीपी) पार्टीबाट उम्मेदवारी दिएका थिए।

कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाइसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका थिए। उनीसँगै नेपाली कांग्रेस (बीपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिएकी जानुकी लामाले भने उम्मेदवारी कायम राखेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved